श्रीकृष्ण माविको वार्षिकोत्सव

समाधान संवाददाता २०८१ पुष ५ गते १८:१३

पोखरा । पोखरा ७ मासबारमा रहेको श्रीकृष्ण माध्यमिक विद्यालयले ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले अबको शिक्षा पढाइभन्दा पनि गराईसहितको हुनुपर्नेमा जोड दिए ।

Advertisement


सामुदायिक विद्यालयको शिक्षा मजबुत बनाउन समुदायको चासोसहित अभिभावकले आफ्ना बालबच्चाको निगरानी र शिक्षकसँग बारम्बार परामर्श लिनुपर्ने उनले जनाए । पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले वडाको एकमात्र सामुदायिक विद्यालयको उन्नयनका लागि स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने साथ र सहयोगका लागि तयार रहेको जनाए ।
पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले महानगरका सामुदायिक विद्यालयको सबलिकरण र शैक्षिक सुधारका लागि महाशाखाले काम गर्दै आएको बताए । कार्यक्रममा विभिन्न व्यक्तित्वद्वारा सञ्चालित अक्षयकोषबाट प्राप्त ब्याजबाट जेहेन्दार तथा प्रतिभावान छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस पोखरा ७ का सभापति नवीनराज बराल, एमाले पोखरा ७ का अध्यक्ष किशोर बराल, अक्षयकोष दाताको तर्फबाट सरोजनारायण बराल, विद्यालय व्यवस्थापन समिति सल्लाहाकार अनिल शाही, पूर्वशिक्षक तुलसी बराल, पत्रकार दुर्गा अधिकारी, नेपाल रेडक्रस सोसाइटी पोखरा ७ सभापति सुजन बराल, शिक्षक बिमला बराल, दिनेश बराल, शकुन्तला सोती लगायतले बोलेका थिए ।

सभामा प्रधानाध्यापक प्रेम चपाईले वार्षिक प्रतिवेदन प्रस्तुत गरे । वार्षिकोत्सव विद्यालय व्यवस्थापन समिति अध्यक्ष शोभाचन्द्र बरालको अध्यक्षतामा भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया