माउन्ट अन्नपूर्णमा वार्षिक खेलकुद

समाधान संवाददाता २०८१ पुष ११ गते २०:५४

पोखरा । पोखरा ३ नदीपुर स्थित माउन्ट अन्नपूर्ण माविमा वार्षिक खेलकुद प्रतियोगिता भएको छ । कक्षा ३ देखि कक्षा १० सम्मका विद्यार्थीबिच भएको कार्यक्रममा कक्षा ३, ४, ५ बिच छुट्टै र कक्षा ६ देखि १० लाई छुट्टै समूहमा विभाजन गरी खेल खेलाइएको थियो ।

Advertisement

बास्केटबल, भलिबल, हेन्डबल, सटफुका साथै एथलेटिक्सका इभेन्ट पनि समावेश उक्त कार्यक्रममा नीलो सदन च्याम्पियन बनेको थियो भने हरियो र रातो सदन क्रमशः द्वितीय र तृतीय बने । ३ दिनसम्म भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटी उपाध्यक्ष तेजबहादुर गुरुङले मानव जीवनमा खेलको महत्वबारे प्रकाश पारे ।

खेल जित्नका लागि मात्रै नखेलेर मनोरञ्जन लिने र समूहमा मिलेर काम गर्दा हुने फाइदाका विषयमा ज्ञान लिन पनि विद्यार्थीलाई उनले आग्रह गरे । विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले विद्यार्थीले आआफ्नो सदनको प्रतिनिधित्व गर्दै अनुशासनपूर्वक खेल प्रदर्शन गरेकोमा धन्यवाद दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एसपी प्रधानांगले हारजित खेलमा सामान्य भएको र प्रतियोगितामा भाग लिनु नै प्रमुख विषय भएको जनाए । विद्यालयका शैक्षिक निर्देशक अशोक शाहीले खेलले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने उल्लेख गरे । कार्यक्रमको संयोजन विद्यालयका शैक्षिक प्रमुख महादेव भण्डारीले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया