उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्न अक्षयकोष

समाधान संवाददाता २०८१ पुष ११ गते २१:०९

पोखरा । शिक्षासेवी वसन्त तिमिल्सिनाले बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । पोखरा १६ बडहरवोटबा तिमिल्सिनाले बुवा तोयनाथ, भाइ श्याम र दिदी ताराको स्मृतिमा नगद २ लाख रुपैयाँको तोयनाथ श्याम, तारा स्मृति अक्षयकोष स्थापना गरेका हुन् ।

Advertisement

बिहीबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष नरनाथ भट्टराई, विन्ध्यवासिनी क्याम्पसका पूर्व प्रमुख नरहरि भट्टराइको उपस्थितिमा तिमिल्सिनाले २ लाखको चेक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यलाई हस्तान्तरण गरे । दाता तिमिल्सिनाले आफ्ना बुवाले लामो समय शिक्षण कार्यमा बिताएको स्मरण गर्दै उनको योगदानलाई चीर स्थायी वनाउन कोष स्थापना गरिएको सुनाए ।

पोखरा एकेडेमी विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका उनले आगामी दिनमा पनि अन्य विद्यालयमा अक्षयकोष स्थापना गर्ने योजना सुनाए । विद्यालयका प्रधानाध्यापक आचार्यले शैक्षिक क्षेत्रमा तिमिल्सिनाको योगदान अतुलनीय रहेको बताउँदै कोष स्थापनाले शैक्षिक विकासमा ईटा थपिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा अक्षयकोषदाता शारदा बराल तिमिल्सिना, माधव तिमिल्सिना, रामचन्द्र तिमिल्सिना, पुनम शर्मा, प्राध्यापक कृष्णचन्द्र भट्टराइ, विद्यालय व्यवस्थापन समिति सदस्य सन्दीप थापा, विमला अधिकारी, सहायक प्रधानाध्यापक रामवहादुर वाँनिया लगायतले बोलेका थिए ।

सो अक्षयकोषबाट प्राप्त ब्याजले प्रत्येक वर्ष विद्यालयका उत्कृष्ट २ शिक्षकलाई पुरस्कृत गरिनेछ ।

Advertisement

तपाईको प्रतिक्रिया