परिणाम आउनेगरी काम गर्न निर्देशन

पोखरा । गण्डकी प्रदेशका सामाजिक, विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । बिहीबार मन्त्रालय मातहतका ११ वटै जिल्लाको सामाजिक विकास कार्यालयहरुको कार्यगत प्रगति जानकारी लिएपछि जुममार्फत थापाले कार्यालयका प्रमुुखसँगै मन्त्रालयका कर्मचारीलाई यस्तो निर्देशन दिएका हुन् ।
‘मन्त्रालय मातहतका सबै निकायले गरेका कामको फेहरिस्त चाहियो । प्रदेश सरकारको कामलाई जनताले अपनत्व गर्ने गरी काम गर्नुस् । वित्तीय र भौतिक प्रगतिले नागरिकलाई लाभ मिल्नुपर्यो’, उनले भने । मन्त्री थापाले स्थानीय सरकारसँग समन्वय गर्दै काम गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।
प्रदेशसँग जति अधिकार छ, त्यति नै प्रयोग गरी जनताका आकांक्षा पूरा गर्न उनले अनुरोध गरे । ‘समस्या अवश्य छन् तर तीनको समाधानको बाटो पनि छ । जति अधिकार छ, त्यति नै प्रयोग गरी काम गर्नुुस् । जनतालाई सहज हुने बाटोमा आएका समस्यालाई चिर्न म तपाईहरुको साथमा छु’, उनले भने ।
मन्त्री थापाले बेरुजु नआउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालयका गतिविधिको प्रचारप्रसारमा समेत ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन् । ‘काम गरेरमात्रै पनि हुँदैन । भएका भौतिक तथा वित्तीय प्रगतिका बारेमा नागरिकलाई जानकारी हुन पर्यो, प्रचारप्रसारमा समेत ख्याल गरौं,’ उनले भने ।
मन्त्री थापाले पुरानो धारबाट भन्दा पनि नयाँ शैली अपनाएर काम गर्नुपर्नेमा जोड दिए । मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले प्रदेशको महत्वपूर्ण मन्त्रालय सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्रालय भएको र सन्तोषजनक काम हुने गरी अगाडि बढ्न ११ जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुलाई निर्देशन दिए । आर्थिक वर्षको ६ महिनामात्रै बाँकी भएकाले काम गर्नुपर्ने आवश्यकतामा उनले औंल्याएका छन् ।
सामाजिक विकास कार्यालयमा देखिएको कर्मचारी अभावको विषयमा छलफल भइरहेको र त्यसको पूर्ति हुने गरी मन्त्रालयअगाडि बढेको उनले बताए । उपसचिव तोयानाथ लम्सालले विगतभन्दा वर्तमान अवस्थामा मन्त्रालयको काम अगाडि बढेको उल्लेख गरे । स्थानीय तहसँग साझेदारी मोडलमा काम गर्दै अगाडि बढ्न सामाजिक विकास कार्यालयहरुलाई उनले आग्रह गरेका छन् ।
प्रदेशको ११ वटै जिल्लाका सामाजिक विकास कार्यालयका प्रमुखहरुले भएको कामको वित्तीय एवं भौतिक प्रगतिबारे जानकारी गराएका थिए । उनीहरुले काम गर्दै जाँदा देखिएका समस्या खुलाएका थिए ।
तपाईको प्रतिक्रिया