सैनिक महाविद्यालय पोखराको २० औं वार्षिकोत्सव

समाधान संवाददाता २०८१ पुष १४ गते १८:१६

पोखरा । सैनिक आवासीय महाविद्यालय पोखराको बिसौैँ वार्षिकोत्सव महाविद्यालयमा आइतबार सम्पन्न भएको छ । पश्चिम पृतनाका पृतनापति तथा महाविद्यालय सञ्चालक समितिका अध्यक्ष उपरथी मधुकर सिंह कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बृहत विज्ञान प्रदर्शनी, विभिन्न खेलकुद, साँस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण गरिएको थियो ।

Advertisement

विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम, गीतसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा मेरो देश भन्ने विषयवस्तुमा आधारित मुलुकमै आफ्नो पसिना बगाउनुपर्छ भन्ने सन्देश सहितको नाटक तथा हिमाल, पहाड, तराईलाई प्रतिनिधिŒव गर्ने गरी नृत्य तथा देशभक्तिका गीतहरु प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा अभिभावकका लागि समेत खेलकुद भएको थियो ।

तेक्वान्दो, कराँते र एनसिसीका विद्यार्थीहरूले आफ्नो खेलकौशल प्रदर्शन गरेका थिए । खेलकुद सप्ताहको समापन समेत रहेकाले विद्यार्थीहरुले कवाज कौशल समेत प्रदर्शन गरेका थिए र प्रमुख अतिथिमा सलामी अर्पण गरेका थिए । विभिन्न तहका विद्यार्थीहरूका लागि दौडका केही विधाको प्रतिष्पर्धा पनि सञ्चालन भएको थियो ।
शैक्षिक वर्ष २०८० मा विभिन्न विधामा उत्कृष्ट स्थान हाँसिल गर्न सफल विद्यार्थी एवं शिक्षक कर्मचारीहरूलाई प्रमुख अतिथि कार्कीले उक्त अवसरमा पुरस्कृत गरे ।

कार्यक्रममा कार्कीले आफूसँग उपलब्ध साधन र स्रोतको अधिकतम सदुपयोग गरी विद्यार्थीहरूको चौतर्फी विकास गर्ने कार्यमा महाविद्यालय निरन्तर लागिरहनेछ भन्ने विश्वास व्यक्त गरे । विद्यालयका प्रमुख व्यवस्थापक अधिकृत प्रमुख सेनानी सुनिल घिमिरेले धन्यवाद व्यक्त गरे । कार्यक्रममा विद्यालयले प्रत्येक वर्ष प्रकाशन गर्दै आइरहेको वार्षिक मुखपत्र ‘फूलबारी’ को २०औँ अङ्कको पनि उक्त अवसरमा कार्कीले विमोचन गरे । कार्यक्रममा स्वागत मन्तव्य निमित्त प्राचार्य जयराम कायस्थले राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया