वृद्धाश्रममा पोखरा बहुमुखीका विद्यार्थीको सहयोग

समाधान संवाददाता २०८१ पुष १५ गते १८:५९

पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले पोखरा वृद्धा आश्रमलाई खाद्यान्न सहयोग गरेका छन् । गुरुङ समुदायको ल्होसार तथा पुस पन्ध्रको अवसर पारेर विद्यार्थीहरूले पोखरा १७, सीतापाइलामा रहेको वृद्धा आश्रमलाई १० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।

Advertisement

कास्की जिल्लाको पहिलो सामुदायिक क्याम्पस पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्चको रकम जम्मा गरेर वृद्धाश्रमलाई सहयोग गरेको सहयोग कार्यक्रमका संयोजक तथा विद्यार्थी गुणस्तर सर्कलका अध्यक्ष मनोज बरालले जानकारी दिए । उनले भने, ‘विद्यार्थीहरूले थोरै–थोरै रकम संकलन गरेर समाजसेवामा जोडिएका हौँ ।’

पारिवारिक वातावरणमा अध्ययन/अध्यापन हुने यस क्याम्पसमा शैक्षिक पाठ्यक्रमका अलावा व्यावहारिक ज्ञान र सामाजिक भावनामा पनि विकास गर्न सफल भएको भन्दै क्याम्पस प्रमुख शिशुकला पराजुलीले विद्यार्थीको सामाजिक जिम्मेवारीको बोधको प्रशंसा गरिन् । पराजुलीले समाजमा अनुकरणीय कामका लागि विद्यार्थीहरूलाई शुभकामना दिइन् ।

विद्यार्थीहरूले आश्रमका सूचना अधिकारी तथा स्वास्थ्य प्रमुख सिद्धिकुमार रेग्मीलाई सहयोगस्वरूप सामग्रीहरू हस्तान्तरण गरेका हुन् । २०५३ मा स्थापना भई विभिन्न आरोह–अवरोह पार गर्दै आएको पोखरा वृद्धााश्रम ४४ जनाका लागि सहारा बनेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया