तालवाराही माविको ६७ औँ वार्षिकोत्सव
पोखरा ।
तालवाराही माध्यमिक विद्यालय बैदाम पोखराको ६७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह विविध संस्कृतिक कार्यक्रम, पुरस्कार वितरण कार्यक्रम आइतवार सम्पन्न भएको छ । कार्यक्रममा कस्की जिल्ला क्षेत्र नम्बर ३ का संघीय सांसद दामोदर बैरागीले कार्यक्रमको उद्घाटन गर्दै तालवाराही माध्यमिक विद्यालय पोखराको इतिहास बोकेको विद्यालय भएको विचार व्यक्त गरे ।
गण्डकी प्रदेशका सांसद प्रकाश बरालले तालवाराही माध्यमिक विद्यालयले शिक्षामा गरेको योगदान सबैका लागि अनुकरणीय भएको बताए । गण्डकी प्रदेशसभाका अर्का सांसद देवका पहारीले तालवाराही विद्यालय शिक्षाको क्षेत्रमा अग्रणी नाम भएकोले विद्यालयले देशका होनहार व्यक्तित्व जन्माइसकेको विचार व्यक्त गरिन् ।
गण्डकी प्रदेशका पूर्व सांसद राजीव पहारीले शिक्षाले मानिसमा असल भावनाको विकास गर्न सक्नुपर्ने विचार व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद न्यौपानेले विद्यालयको भौतिक उन्नति र शैक्षिक अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गरे ।
विद्यालयका प्रधानाध्यापक ताराप्रसाद पोखरेलले विद्यालयको समग्र गतिविधिका बारेमा प्रतिवेदन प्रस्तुत गरे । गत शैक्षिक सत्र २०८० को एसइइ परीक्षामा तालवाराही माध्यमिक विद्यालयबाट सहभागी विद्यार्थीले कास्की जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा उत्कृष्ट नतिजा ल्याएको उनले बताए । विद्यालयका पूर्वप्रधानाध्यापक रामराज रेग्मीले तालवाराही माध्यमिक विद्यालयले गरेको शैक्षिक उन्नतिका बारेमा प्रशंसा गरे ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रशुराम शर्मा पहारी, कार्यक्रम संयोजक तथा विद्यालय व्यवस्थापन समितिका सदस्य तेजनाथ न्यौपाने, शिक्षक अभिभावक संघ कार्यकारी समितिका अध्यक्ष दीपबहादुर अधिकारी, भूपू विद्यार्थी एसोसियसन तालवाराहीका अध्यक्ष मुटुरोग विशेषज्ञ डा. मनोज कोइराला, विद्यालयका सहायक प्रधानाध्यापक यदुराज पोखरेल, सहायक प्रधानाध्यापक द्रोणराज भुत्र्यालले मन्तव्य राखेका थिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापि खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई कार्यक्रममा सम्मान गरिएको थियो । भूपू विद्यार्थी एसोसियसनले विद्यालयमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो । यसैगरी विद्यालयमा स्थापित विभिन्न अक्षयकोष रकमबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा २०८० को एसइइ परीक्षामा आफ्नो विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने शिक्षकहरू गणित विषयका पूर्णबहादुर थापा, शिक्षा विषयका देवीकुमारी केसी र लेखाशास्त्र विषयका शिक्षक दामोदर पौडेललाई सम्मान गरिएको थियो ।
यस शैक्षिक सत्रमा विद्यालयमा उत्कृष्ट क्षमता प्रस्तुत गर्ने शिक्षक तथा कर्मचारीको कार्यसम्पादनका आधारमा सम्मान गरिएको थियो । वर्ष शिक्षक र कर्मचारीमा माध्यमिक तहका राजेन्द्रप्रसाद सुवेदी, द्रोणराज भुत्र्याल, निमावि तहका माया पौडेल, प्राथमिक तहका राधिका पौडेल र सुशीला भट्टराई, बालशिक्षा सहयोगी शावित्री पौडेल र लेखापाल कृष्ण थापा थिए ।
तपाईको प्रतिक्रिया