गाउँपालिकामा माछापुच्छ्रे माओवादी केन्द्रको ज्ञापनपत्र

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) माछापुच्छ्रे गाउँपालिका समितिले माछापुच्छ्रे गाउँपालिकाका विभिन्न विषयमा मंगलबार गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ ।
माओवादी केन्द्र माछापुच्छ्रे गाउँपालिका कमिटी अध्यक्ष गोपाल पोखरेल र सचिव रामचन्द्र पौडेल नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष मीनबहादुुर गुरुङलाई ज्ञापनपत्र बुझाएको हो । माओवादी केन्द्रले पालिकाको आधारभूत पूर्वाधारहरु सडक, पुल, विद्युत्, शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधार गर्न माग गरेको छ ।
बाँदर नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउन र वन्यजन्तुबाट हुने क्षतिको क्षतिपूर्ति प्रदान गर्न माग गरिएको अध्यक्ष पोखरेलले जनाए । माओवादीले हेमजा खानेपानी लुम्रे सैतिघट्ट सडक व्यवस्थित गरी सुरक्षित बनाउनुपर्ने, माछापुच्छ्रे गाउँपालिकाको गौरवको योजना भनिएको वडा नम्बर २ को कोल्चोकदेखि धम्पुस जाने रिङरोडको बाटोलाई प्राथमिकतामा राखी अगाडि बढाउनुपर्नेमा जोड दिइएको ।
दलित समुदारूबाट सञ्चालित किप्रिचे कृषक आमा समूह वडा नं ८ ल्वांगको सामुदायिक भवन निर्माणका लागि आर्थिक सहयोग गर्नसमेत माग गरिएको छ । दुलेगौंडा मरेघाट सडकको स्तरोन्नति, लाहाचोक भेडाबारी पुल निर्माणलाई प्राथमिकता, वडा नम्बर ८ र ५ गण्डकी हाइड्रो जाने पुल निर्माण, वडा नम्बर ४ को जलकुण्डीबाट मर्दीखोला करिडोर निर्माण गरी वडा नम्बर ९ सम्म बनाउनुपर्ने, लाहाचोक पुरनचौर गण्डकी पुल निर्माण गर्नुपर्ने, बस्ती भित्रका सिँढी तथा गोरेटो बाटोलाई संरक्षण एवं पुनर्निर्माण गर्न माओवादी केन्द्रको माग छ ।
माओवादी केन्द्रले शिक्षातर्फ विद्यालयको संख्या घटाएर विषयगत दरबन्दी व्यवस्थापन गर्न, इडिडी शिक्षक र कार्यालय सहयोगी स्थायी गर्न, एक गाउँ एक प्राविधिक शिक्षालयको सही व्यवस्थापन गरी सञ्चालन, शिक्षकलाई कर्मचारीसरह व्यवस्थापन गरी मासिक तलबभत्ताको व्यवस्थापन गर्न आग्रह गरेको छ ।
ज्ञापनपत्रमा माछापुच्छ्रे पटक पटकमा चर्चामा आइरहने र सधैंभरि चुनावी नारा बनाइने गरिएको १५ शैयाको हस्पिटलको व्यवस्थापन गरी आवश्यक स्वास्थ्यकर्मीको व्यवस्था, प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीमा आवश्यकता अनुसार औषधि र दरबन्दीअनुसारको स्वास्थ्यकर्मीको व्यवस्थापन, स्वास्थ्य बीमा कृषि बीमा र पशुबिमालाई व्यवस्थित गर्नुपर्ने माग गरिएको सचिव पौडेलले सुनाए ।
एक वडा एक खेल मैदान निर्माण, एन्फा खेलमैदानका लागि आवश्यक पहल गर्न, घरेलु उद्योगहरु स्थापना गरी वैदेशिक रोजगारीबाट फिर्ता आएकाहरुलाई रोजगारमूलक कार्यक्रममा सहभागी गराउन, गरिबको पहिचान गरी कार्ड वितरण, दलित समुदाय एवं अल्पसंख्यक समुदायलाई राजनीतिको मूलधारमा ल्याउन सशक्तकरण कार्यक्रम चलाउन भनिएको छ ।
माओवादी केन्द्रले माछापुच्छ्रे गाउँपालिकामा रहेका जलविद्युत आयोजना, क्रसर खानी लगायतबाट राजस्व पालिकाको खातामा ल्याउन, सार्वजनिक जग्गाको पहिचान एवं संरक्षण, काष्ठफल परियोजनामा माछापुच्छ्रे गाउँपालिकालाई सहभागी गराउन, एक्यापको मूल समिति एवं गाउँ समितिहरू पुनर्गठन गर्न आग्रह गरिएको छ ।
गाउँपालिकामा दिगो प्रभाव रहने निर्णयहरू लिने क्रममा सर्वदलीय सहमति गर्न, अनुगमन लगायतका कार्यक्रममा प्रतिपक्ष दलको प्रतिनिधि अनिवार्य गर्न, जनयुद्ध तथा जनआन्दोलनका सहित तथा घाइते र बेपत्ताहरूलाई सम्बोधन गर्न विशेष कार्यक्रम निर्माण गर्नुपर्ने, स्मृति पार्क लगायतका पार्क निर्माण गर्नुपर्ने र सहिद परिवार एवं बेपत्ता परिवारको जीविकोपार्जनको लागि विशेष कार्यक्रम सिर्जना गर्नसमेत माग गरिएको अध्यक्ष पोखरेलले उल्लेख गरे ।
तपाईको प्रतिक्रिया