गण्डकी प्रदेशभरका जनप्रतिनिधिका लागिअभिमुखीकरण
नयाँ पार्टीहरु स्टन्टबाज : कांग्रेस महामन्त्री थापा

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्ला दिनमा देखा परेका नयाँ पार्टीप्रति कटाक्ष गर्दै तिनलाई ‘स्टन्टबाजी’को संज्ञा दिएका छन् । गण्डकी प्रदेशभरका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरणमा थापाले त्यस्ता पार्टीले देशको नेतृत्व गर्न नसक्ने तर्क गरे ।
‘नयाँ नाममा आएका पार्टीहरूले जनताको ध्यान तान्नमात्र खोजेका छन् । हामीलाई दोष लगाउने, गाली गर्ने र हल्ला मच्चाउने यस्ता तत्वहरूले देशलाई मार्गदर्शन गर्न सक्दैनन् । कांग्रेस जस्तो बलियो आधार भएको पार्टीले देशको भविष्यको जिम्मेवारी लिनुपर्छ,’ उनले भने ।
महामन्त्री थापाले जनताले कांग्रेससँग अझै ठूलो अपेक्षा राखेको बताए । ‘हामीले केही काम गरेका छौं, तर त्यो पर्याप्त छैन । अझै धेरै गर्न सक्छौं भन्ने आत्मविश्वासका साथ जनतामा फर्किनुपर्छ । हामीले जनतामा ‘कांग्रेसले गर्छ’ भन्ने विश्वास स्थापित गर्नुपर्छ,’ थापाले भने ।
उनले पार्टीका नेता तथा कार्यकर्तालाई महाधिवेशनको विवादभन्दा टाढा रही चैत मसान्तभित्रै सदस्यता नवीकरण गर्न निर्देशन दिएका छन् । सदस्यता नवीकरण नगर्नेहरुलाई पछि यो अवसर नदिइने चेतावनीसमेत उनको छ ।
हामीलाई दोष लगाउने, गाली गर्ने र हल्ला मच्चाउने यस्ता तत्वहरूले देशलाई मार्गदर्शन गर्न सक्दैनन्
महामन्त्री थापाले २ सय रुपैयाँ बुझाएर चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने नियमबारे स्पष्ट गरे । समयमै नवीकरण नगर्नेहरूको सदस्यता स्वतः खारेज हुने प्रावधान रहेको भन्दै उनले त्यसमा कुनै सम्झौता नहुने बताए । ‘जुन जिल्लाले दिएको समयभित्र क्षेत्रलाई क्रियाशील सदस्यता फारम उपलब्ध गराएन भने त्यस जिल्लाको सदस्यता प्रक्रियालाई स्थगित गरिनेछ । क्षेत्रीय तहले स्थानीय तहमा फारम पठाउन नसकेमा, क्षेत्रीय प्रक्रियालाई फ्रिज गरेर तल पठाइनेछ,’ थापाले भने ।
थापाले महाधिवेशनको विषयमा अनावश्यक हल्ला नगर्न आग्रह गर्दै, क्षेत्रीय र स्थानीय स्तरमा जनताको जीवनस्तर सुधार्ने कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘जो नेताहरू महाधिवेशनको कुरा बढी गर्छन्, तिनको क्षेत्रमा के भइरहेको छ भन्ने कुरा सार्वजनिक गरिदिनेछु । आफ्नो क्षेत्रका जनताका लागि ठोस काम नगर्ने तर महाधिवेशनको चर्चामात्रै गर्ने प्रवृत्ति अब सह्य हुने छैन,’ थापाले चेतावनी दिए ।
कार्यक्रममा थापाले कांग्रेसका नेताहरूलाई केबल महाधिवेशनको चिन्ता होइन, देश र जनताको अपेक्षालाई प्राथमिकतामा राखेर परिणाम दिने काममा लाग्न प्रेरित गरे । ‘यो समय पार्टीलाई बलियो बनाउने र जनताको मनोबल उचाल्ने हो । हामी सबैले मिलेर अघि बढ्नुपर्छ । अब अलमल्ने समय छैन,’ महामन्त्री थापाले भने ।
पार्टीको विधान संशोधनका लागि थप ४÷५ महिना समय लाग्ने र त्यसपछि महाधिवेशन प्रक्रिया अघि बढ्ने थापाले जानकारी दिए । उनले पार्टीका संरचनाहरूलाई समयमै क्रियाशील बनाउनुपर्ने र विधान संशोधनपछि आउने चुनौतीलाई व्यवस्थापन गर्न अग्रसर रहन आग्रह गरे ।
कांग्रेसमा यसमा सहकार्य र सहअस्तित्वको भावना हुनुपर्ने उनले बताए । ‘पार्टी सभापतिको उमेर मेरो बुवाभन्दा १० वर्ष बढी छ भने मभन्दा २ं०/२५ वर्ष कान्छा युवाको नयाँ पुस्ता नेतृत्वको प्रतीक्षामा छ । हामी सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरेर कांग्रेसलाई अझ सुदृढ बनाउनु पर्छ,’ उनले भने ।
उनले नेता÷कार्यकर्तालाई २०८४ सालको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । ‘जनतासँग जाँदा उपलब्धिमूलक कामको प्रमाण लिएर जानुपर्छ । हाम्रो पार्टीले के गरेको छ, के गर्न सक्छ भन्ने कुरा देखाएर जनताको विश्वास जित्नुपर्छ । महाधिवेशन गरेर हामीमध्येकै कोही अगाडि आउने हो, आफ्ना साथीलाई हराएरै जित्ने हो । त्यसैले महाधिवेशनको हल्ला गर्दै समय खेर फाल्न जरुरी छैन,’ उनले थपे ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पार्टीको नेतृत्व गर्नेले सम्पादन गरेका काम जनतासमक्ष पुग्न नसकेको बताए । उनले जनतासँग नेतृत्वको सञ्चार आवश्यक रहने भन्दै जनअपेक्षा अनुसार अझ सशक्त भएर काम गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेसले लिएको खुला अर्थ नीतिले मुलुक चलायमान भएको दाबी गरे । सोही सन्दर्भमा उनले सीमित साधन र स्रोतका कारण प्रदेश सरकारलाई काम गर्न कठिन भएको उल्लेख गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले ३३ प्रतिशत भोट ल्याउँदा कांग्रेस दोस्रो भए पनि अहिले आएर २६ प्रतिशत भोट ल्याएर पहिलो भएको बताए । आगामी दिनमा जनतासामु जाँदा अझै परिस्कृति भएर जानुपर्नेमा उनको जोड छ ।
गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले दलहरुबिचमा हुने गरेका आरोप प्रत्यारोपको अन्त्य हुनुपर्ने बताए । उनले पार्टीबिच विश्वासको वातावरण भए राजनीतिको शाख जोगिने धारणा व्यक्त राखे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले कांग्रेसको संगठनलाई बलियो बनाउन स्थानीय जनप्रतिनिधिले घोषणापत्रअनुसार काम गरी परिणाम दिनुपर्नेमा बताए । नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले गण्डकी प्रदेशमा पार्टीको संगठनात्मक संरचना राम्रो भएकाले प्रदेश र स्थानीय तहमा पनि नतिजा राम्रो आएको बताए ।
स्थानीय विभाग प्रमुख पूर्णबहादुर दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन र गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डेले कांग्रेस र स्थानीय तहका बारेमा धारणा राखेका थिए । डा रघुराज काफ्ले र हिमराज लामिछानेले स्थानीय तहको विकास र समृद्धिबारे कार्यपत्र प्रस्तुत गरे ।
तपाईको प्रतिक्रिया