कांग्रेस संसदीय दलको सचेतकमा प्रकाश बराल

समाधान संवाददाता २०८१ पुष २५ गते १२:२१

पोखरा । गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा प्रकाश बराल चयन भएका छन् । बुधबार पोखरामा भएको दलको बैठकले संसदीय दल कार्यसमितिलाई पूर्णता दिएसँगै बरालले सचेतकको जिम्मेवारी पाएका हुन् ।

Advertisement

उनी कास्की निर्वाचन क्षेत्र नम्बर ३ को १ बाट प्रत्यक्ष निर्वाचित भएका हुन् । उनीसँग एमालेका राजीव पहारी पराजित भएका थिए । बरालले १२ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका पहारीले भने ११ हजार ९ सय २ मत पाएका थिए ।

प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको २ वर्ष पूरा भइसक्दा समेत कांग्रेस संसदीय दलले पूर्णता पाउन सकेको थिएन । यसले नेतृत्वको क्षमतामाथि नै प्रश्न उठाएको थियो । दलको उपनेतामा मुख्यमन्त्री एवं दलका नेता सुरेन्द्रराज पाण्डेले कास्कीकै बिन्दुकुमार थापालाई मनोनीत गरेका थिए । प्रमुख सचेतक गोरखाकै नन्दप्रसाद न्यौपाने मनोनीत भएका थिए ।

दलको कोषाध्यक्षमा अशोककुमार श्रेष्ठ र सदस्य सचिवको जिम्मेवारी सरस्वती अर्याल तिवारीले पाएकी छन् । दलको कार्यसमिति सदस्यमा कल्पना तिवारी, दीपेन्द्रबहादुर थापा, दीलमाया पौवि, द्रोणकुमार कुँवर र रेखा गुरुङ चयन भएका छन् ।

यसैगरी दलको बैठकले जितप्रकाश आलेको संयोजकत्वमा अनुशासन समिति समेत गठन गरेको छ । उक्त समितिको सदस्यमा नम्दु गुरुङ र सरस्वती गुरुङ चयन भएको सचेतक प्रकाश बरालले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया