लोकतन्त्रवादी आदिवासी जनजातिलाई तालिम

पोखरा । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, गण्डकी प्रदेशले पोखरामा प्रशिक्षक प्रशिक्षण सुरु गरेको छ । देशका सबै प्रदेशमा कार्यक्रम गरी आदिवासी जनजाती जागरण अभियान तयारी स्वरुप गण्डकी प्रदेशको राजधानी पोखराबाट प्रशिक्षण सुरु गरेको हो ।
२ दिनसम्म चल्ने कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण विभागका प्रमुख पूर्णबहादुर खड्काले उद्घाटन गरे । कार्यक्रममा उपसभापति खड्काले राजनीतिक दलका नेता तथा कार्यकर्ता समयमा रुपान्तरित भई आम नागरिकका पक्षमा काम गर्नुपर्ने बताए । उपसभापति खड्काले पछिल्लो समय राजनीतिक दलप्रति जनताको नकारात्मक धारणा रहेकाले सोलाई सकारात्मक रूपमा बदल्नुपर्नेमा जोड दिए ।
उनले राजनीतिप्रति नागरिकको निराशालाई आशामा बदल्नुपर्ने बताए । पार्टीका नेता, कार्यकर्ताले नकारात्मक विचार र क्रियाकलाप छाडेर सकारात्मक मार्ग अवलम्बन गर्न सकेमा पार्टी सुदृढीकरणमा सफलता मिल्ने उनले बताए । उनले आवश्कताका आधारमा सबैको सहमति र समन्वयमा संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । राजनीतिक स्थिरता र समृद्धि हासिल गर्न संविधान संशोधन आजको आवश्यकता रहेको उनले उल्लेख गरे ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिवासी जनजातिको बाहुल्य रहेको प्रदेशमा उनीहरुको हित हुने काम गरिरहेको बताए । गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी थालिएको उनले जानकारी दिए । यसका लागि विधेयक पास भएपछि ऐन बनाएर छिट्टै कार्यान्वयनमा जाने उनको भनाइ छ ।
नेपाली कांग्रेस आदिवासी जनजाति विभाग प्रमुख दिलमान पाख्रिन, केन्द्रीय सदस्यहरु अब्दुल सतार, शारदा पौडेल, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्ती, नेपाली कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, पूर्व कानुनमन्त्री यज्ञबहादुर थापा, गण्डकी प्रदेशका अर्थमन्त्री डा टकराज गुरुङ, केन्द्रीय सदस्य रेनुका काउछा, प्रदेश सदस्य सीता गुरुङ लगायतले आदिवासी जनजातिको हकहित र अधिकारमा नेपाली कांग्रेस अग्रसर भइरहेकाले यसलाई निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा हरिप्रसाद गुरुङ, दिलमान गुरुङ, कृष्णबहादुर गुरुङ, पूर्णबहादुर भुजेल, रत्नसिंह गुरुङ, गणेशमान गुरुङ, ईश्वर गुरुङ र टेकबहादुर भुजेललाई मरणोपरान्त सम्मान अर्पण गरिएको थियो । भने नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस युनियनबाट विजयी आदिवासी जनजाति पत्रकारहरुलाई पनि सम्मान गरिएको थियो ।
देशका सातवटा प्रदेशमा गरिने यस किसिमका कार्यक्रमबाट करिब १ हजार ३ सय प्रशिक्षक उत्पादन हुने महासंघका केन्द्रीय अध्यक्ष ओमबहादुर घर्तीले विश्वास व्यक्त गरे । प्रशिक्षणमा आदिवासी जनजातिका अधिकार, जनजाति आन्दोलन, विश्वव्यापी मान्यता, एबम संयुक्त राष्ट्रसंघका विभिन्न सन्धी, महासन्धीहरुको बारेमा पनि सहभागीलाई जानकारी गराइनेछ । यसका साथै जनजातिलाई अनुशासित र मर्यादित बनाई राजनीतिक संस्कार सम्बन्धमा व्यवहारिक ज्ञान दिलाउनेमात्र नभएर आदिबाशी जनजातिहरुबीच भावनात्मक एकताको विकास गर्ने प्रशिक्षण कार्यक्रमको उद्देश्य राखेको छ ।
महासंघले प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म आदिवासी जनजाति जागरण अभियान सञ्चालन गर्ने लक्ष्य अनुरुप प्रदेश तहमा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको महासंघको गण्डकी प्रदेश अध्यक्ष जीतबहादुर गुरुङ जानकारी दिए ।
बिहीबारदेखि पोखराको बगरमा हुने प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट करिब २ सय २० जनाको सहभागिता रहेकोे छ । २ दिनसम्म चल्ने कार्यक्रममा जनजाति क्षेत्रमा क्रियाशील छन्द पहराई, मोहनकुमार तामाङ, पासाङ शेर्पा, दिनेश थापामगर, रेशम गुरुङ, महेश रानामगर लगायतले प्रशिक्षण दिनेछन् ।
तपाईको प्रतिक्रिया