विन्ध्यवासिनी माविमा शिक्षा ऐनबारे छलफल

पोखरा । संघीय शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगेर संघीय शिक्षा ऐनसम्बन्धी छलफल तथा अन्तर्क्रिया गरेको छ । विधेयक निर्माणका लागि समिति पोखरामा पनि सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरी फर्किएको हो ।
समितिले पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविमा पुगेर विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीसँग ऐनका विषयमा छलफल गर्यो । सामुदायिक विद्यालयतर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल सो विद्यालयमा छलफलका क्रममा समितिका सभापति अमरबहादुर थापाले विद्यार्थीलाई आकर्षक र गुणस्तरीय शिक्षा प्रदान गर्ने विषय विधेयकमा समावेश गर्न आफूहरूले सरोकारवालासँग छलफल गरिरहेको बताए ।
उनले छलफलका क्रममा आएका राम्रा सुझावलाई विधेयकमा समावेश गरी संसदले कानुन निर्माण गर्ने स्पष्ट पारे । सभापति थापाले देशभरका १५ देखि २० प्रतिशत सामुदायिक विद्यालयमात्र अब्बल रहेको बताउँदै बाँकी विद्यालयमा गहन सुधार आवश्यक रहेको दाबी गरे ।
पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले सरोकारवालाबाट आएका राम्रा सुझाव विधेयकमा समावेश गरिने प्रतिबद्धता जनाइन् । विन्ध्यवासिनी माविका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले सुझाव संकलनका लागि समितिले आफ्नो विद्यालय रोजेकोमा आभार गरे । शिक्षक अभिभावक संघका अध्यक्ष भीमप्रसाद पौडेलले विद्यमान शिक्षा ऐन संशोधन गरी सरोकारवालाका सुझावलाई समावेश गरेर पूर्ण रूपमा कार्यान्वयन गर्न सकेमात्र सामुदायिक विद्यालयको शिक्षा उत्कृष्ट हुने बताए ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका सदस्य, शिक्षक, कर्मचारी, अभिभावक र तहगत विद्यार्थीका प्रतिनिधिको सहभागिता थियो । सभापति थापाको नेतृत्वमा आएको टोलीले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधारसमेत निरीक्षण गरेको छ ।
तपाईको प्रतिक्रिया