पोखराको हिलप्वाइन्ट माविमा ‘माइ सेकेण्ड टिचर एप्स’ शुभारम्भ

पोखरा । पोखरा महानगरपालिका वडा नं १२ स्थित हिलप्वाइन्ट माध्यमिक विद्यालयले आइतबार ‘माई सेकेण्ड टिचर एप्स’ शुभारम्भ गरेको छ । विद्यालयका संस्थापक प्राचार्य दिवाकर जैशी, सहायक प्राचार्य गंगाराम पौडेल, शिक्षक शिक्षिका, अभिभावकलगायतको उपस्थितिमा माई सेकेण्ड टिचर एप्स शुभारम्भ गरेको हो ।
योसँगै अभिभावकले घरमै बसेर आफ्नो मोवाइलमा विद्यालय र आफ्ना बाबुनानीका गतिविधि अवलोकन गर्न पाउनेछन् ।
कार्यक्रममा माई सेकेण्ड टिचर एप्सका प्रतिनिधिले एप्सबारे जानकारी गराएका थिए ।
सो अवसरमा विद्यालयले कक्षा ११ र १२ को विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टअन्तर्गत दोस्रो त्रैमासिक परीक्षाको परीक्षाफलसमेत सार्वजनिक गरेको सहायक प्राचार्य पौडेलले जानकारी दिए ।
कार्यक्रममा विद्यार्थीले कम्प्युटरमा बनाएका गेमहरु प्रस्तुत गरिएको थियो । जसमा उत्कृष्ट घोषित भएका कक्षा १२ विज्ञान संकायमा अध्ययनरत अशिम पौडेल, आशिष क्षेत्री, ऐश्वर्या गुरुङ र कक्षा ११ का विपिन हमालले गेमहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागी अभिभावकले विद्यार्थीका प्रस्तुतिमा निकै चासो दिएर हेरेका थिए ।
विद्यालयका संस्थापक प्राचार्य जैशीको अध्यक्षतामा भएको कार्यक्रममा विज्ञान संकाय संयोजक कपिल अधिकारीले स्वागत र सहायक प्राचार्य पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
२०३८ सालमा स्थापित विद्यालयमा हाल आठ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ मा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र फाइन आर्टको पढाई हुँदै आएको छ ।
तपाईको प्रतिक्रिया