ठूली दिदीको पहलले विद्यार्थी नियमित

पोखरा ।
सामुदायिक स्वयंसेवकको रुपमा रहेका ठूली दिदीले घरैमा पुगेर सम्झाउन, बुझाउन थालेपछि सामुदायिक विद्यालयका विद्यार्थी नियमित हुन थालेका छन् । ठूली दिदीको परामर्शपछि बागलुङको जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाका केही विद्यालयमा विद्यार्थीको विद्यालय छोड्ने दर शून्य भएको भीमापोखरा युवा क्लब (बिवाइसी) बागलुङ अध्यक्ष तोयनाथ गौतमले बताए ।
बिवाइसीले पोखरामा आयोजना गरेका सिकाई परियोजनाका प्रदेश स्तरीय अनुभव आदानप्रदान कार्यक्रममा अध्यक्ष गौतमले क्लबको दुबै पालिकामा ठूली दिदीले समुदायमा गएर अभिभावकलाई सचेतनामूलक कार्यक्रम गरेपछि सबै विद्यार्थी नियमित भएको बताए ।
सिकाई परियोजनाका कार्यक्रम संयोजक पोष्टबहादुर केसीले विपन्न र सीमान्तकृत विद्यार्थीलाई नियमित गर्न पालिका कार्यक्रम सञ्चालन भएका ६० विद्यालयमा ६० ठूली दिदीहरु खटिएका बताए । जसको कारण दुबै पालिकाका २ सय ७६ विपन्न र सीमान्तकृत बालिका विद्यालयमा नियमित गराउन परियोजना सफल भएको छ । जसमा १ सय २१ काठेखोला र १सय ५५ जैमिनीका बालिका छन् ।
उनले सामुदायिक स्वयंसेवकले विद्यार्थी अभिभावक र विद्यालयलाई जोड्ने काम गरेको जनाए । ‘नियमित विद्यालय नआउने विद्यार्थीलाई ठूली दिदीले घर घरमा गएर सम्झाई बुझाई ल्याउन पहल गरेका छन्,’ उनले भने, ‘सिकाई परियोजनालाई स्थानीय सरकारले स्वामित्व ग्रहण गरेर दिगोपन दिन खोजेको छ ।’ उनले ठूली दिदीको रुपमा स्वयंसेवक परिचालन कार्यक्रम प्रभावकारी र परियोजनाको प्रमुख उपलब्धिका रुपमा रहेको दाबी गरे । उनले पालिकाले नीति तथा कार्यक्रममा राखेर ठूली दिदीलाई प्रोत्साहन भत्ता दिन थालेको जानकारी दिए ।
ठूली दिदीले शिक्षाको महत्व र अभिभावकको भूमिका, विद्यार्थीप्रति अभिभावकको जिम्मेवारीको बारेमा सचेतीकरण गरिएको छ । ठूली दिदीको उपस्थिति र संलग्नताले विद्यालय र समुदायबीचको सम्बन्ध सुधार भएको जानकारी दिँदै उनले समुदायबाट पनि बालबालिकालाई स्कुल नियमित गराउन सजिलो भएको बताए । उनले विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर नभएको दाबी गरे ।
दातृ संस्था हेम्पेल फाउन्डेसन र भिएसओ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित सिकाइ परियोजनाबाट कक्षा १ देखि ५सम्मका ९ हजार विद्यार्थी लाभान्वित भएका छन् । उनले बालबालिका समावेशी शिक्षा सञ्जाल गठन गर्नुका अलवा स्थानीय पठ्यक्रम निर्माण कार्यशाला गरेको उल्लेख गरे ।
कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव नवराज ढकालले नेपालमा विद्यार्थीको विद्यालय छोड्ने दर ४ प्रतिशत रहेको अवस्थामा संस्थाको सिकाई परियोजनाको प्रयासलाई सबैले सिक्नुपर्ने बताए । ‘ठूली दिदीलाई सबै विद्यार्थीले मायालु दिदीको रुपमा लिएको हुनु पर्छ,’ उनले भने, ‘सिकाई परियोजना निरन्तरता नभए स्थानीय पालिकासँग सञ्चालन गर्न मन्त्रालय तयार छ ।’ उनले शिक्षण सिकाईको उपलब्धिलाई घटाउन नभएर माथि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता गरे ।
भिएसओ नेपालका परियोजना संयोजक राजभक्त ढंगोलले परियोजना सञ्चालन भएका विद्यालयमा स्वतन्त्र रुपमा गरिएको सर्वेक्षणमा विद्यार्थीको विद्यालय छोड्ने दर शून्य रहेको जानकारी दिए । सर्वेक्षणमा ९९ प्रतिशत विद्यार्थी नछुटाई विद्यालय जाने गरेको उल्लेख गर्दै उनले ठूली दिदीको कारण ८६ प्रतिशत विद्यार्थीलाई पठनपाठन सहज भएको बताए ।
जैमिनी नगरपालिकाका उपमेयर हरिहर शर्माले ८१ सूचक बनाएर सिकाई परियोजनालाई दोस्रो चरणमा प्रवेश गराउन खोजेको जनाए । उनले पालिकाले ठूली दिदीलाई भत्ता दिन थालेको उल्लेख गरे । काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापाले शिक्षण सिकाई उपलब्धि कमजोर भएको विद्यालयमा दोस्रो चरणमा समेत परियोजना चलाउने योजना सुनाए । उनले ठूली दिदीको सहयोग लिएर बाँकी विद्यालयमा विद्यार्थीको विद्यालय छोड्ने दर घटाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा शिक्षा विकास निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, मन्त्रालयका उपसचिव तथा शिक्षा महाशाखाका उपसचिव तोयनाथ लम्साल, जैमिनी नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेल, भिएसओ नेपालका राष्ट्रिय निर्देशक जयशंकर लाल, गैसस महासंघ गण्डकी प्रदेशका कार्यवहाक अध्यक्ष पदमराज पहारी, बिवाइसी बागलुङका उपाध्यक्ष गंगा शर्मा, कार्यक्रम अधिकृत विमल शर्मा, ठूली दिदी हिमा केसी पौडेल लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया