महेन्द्र माविको ६३ औं वार्षिकोत्सव

समाधान संवाददाता २०८१ माघ १७ गते १०:५८

पोखरा ।
पोखराको नयाँबजारमा रहेको महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव एवं अभिभावक दिवस बुधबार भएको छ । कार्यक्रममा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तर कायम गर्न सकेमात्र विद्यार्थीको आकर्षण बढ्ने बताए ।

Advertisement


उनले प्रदेश सरकारले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधार सुधारका लागि स्थानीय तहसँग समन्वय गरी काम गर्ने जनाए । उनले प्रदेश सरकारले सिक्दै कमाउने अवधारणा अनुसार विद्यालय शिक्षामा नयाँ कार्यक्रम सुरुवात गरेको चर्चा गरे ।


उनले शिक्षक, अभिभावक र विद्यार्थीको त्रिपक्षीय प्रयासबाट शैक्षिक गुणस्तर कायम गर्न सकिने उल्लेख गरे । शैक्षिक बेरोजगार बढेको सन्दर्भमा मन्त्री थापाले पढेर आफैं रोजगारी सिर्जना गर्ने शिक्षा आवश्यक भएको उनले उल्लेख गरे । मन्त्री थापाले विद्यालयमा ९ नं वडा कार्यालयको सहयोगमा निर्माण गरिएको प्राथमिक उपचार कक्ष तथा आधुनिक पुस्तकालय कक्ष पनि उद्घाटन गरे ।


पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानीले वडाको कार्यक्षेत्र भित्रका शैक्षिक संस्थाको उन्नयन र विकासमा विशेष ध्यान दिएको दाबी गरे । उनले विद्यालय शिक्षाका लागि पूर्वाधार विकास र गुणस्तर वृद्धिको पक्षमा वडाले काम गर्ने प्रतिवद्धता जनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगतबहादुर केसीले आगामी वर्षभित्र कम्युटर ल्याब र विज्ञान प्रयोगशाला निर्माण गर्ने बताए । उनले विद्यालयलाई छिट्टै नै प्राविधिक धारको पढाइतर्फ लैजाने योजना सुनाए ।


कार्यक्रममा वडा नं ९ का वडा सदस्यहरु गीता चर्माकार, लक्ष्मी पहारी, नन्दुराम गिरी, पोखरा बहुमुखी क्याम्पसका पूर्वप्रमुख हस्तबहादुर थापा, पूर्व शिक्षक भीमप्रसाद न्यौपाने, अक्षयकोषदाता विजय बास्तोला, प्रेम गौतम, विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेल, सहायक प्रधानाध्यापक जीत खनाल, शिक्षक विष्णुकुमारी पोखरेल, विद्यार्थी पवित्रा पन्थ लगायतले विद्यालय शिक्षाबारे बोलेका थिए ।

Advertisement


कार्यक्रममा स्थानीय श्याम रानाले ३ लाख रुपैयाँको अक्षयकोष घोषणा गरे । वार्षिकोत्सव समारोहमा उत्कृष्ट शिक्षक नवराज आचार्य र अभिाभावक सावित्रा जिसीलाई सम्मान गरिएको छ । वर्षभरी सञ्चालन भएका विभिन्न कार्यक्रम र विद्यामा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरियो । विद्यालयमा कक्षा १२ सम्म मानविकी, व्यवस्थापन, शिक्षातर्फ गरी ९ सय ५४ विद्यार्थी तथा ३९ शिक्षक, कर्मचारी छन् ।

तपाईको प्रतिक्रिया