तीन विधामा अन्तर्दृष्टि पुरस्कार, अमरसिंहका मुक्तिनाथ आचार्य नमुना शिक्षक

पोखरा । पोखराको अमरसिंह नमुना माध्यमिक विद्यालयमा आइतबार आयोजित विशेष समारोहमा तीन विधामा अन्तर्दृष्टि पुरस्कार वितरण गरिएको छ। पोखरा महानगरपालिकाकी उप–प्रमुख मन्जु गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षण, विद्यार्थी सहयोगी भूमिका र पत्रकारितामा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।
अन्तर्दृष्टि पुरस्कार समितिका संरक्षक डा. कमल लामिछानेका अनुसार शिक्षण सिकाइ, सामाजिक व्यवहार, अपांगता भएकाप्रतिको सोच तथा दृष्टिकोणका आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार, अपांगता भएका साथीहरूसँगको सहकार्य र सिकाइ आदानप्रदानलाई मूल्यांकन गर्दै अन्तर्दृष्टि हातेमालो पुरस्कार, तथा अपांगता भएका व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोण राखी खोज र अन्वेषणसहित समावेशी समाज निर्माणमा योगदान पुर्याउने पत्रकारलाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको हो।

यस वर्ष अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार पोखराको अमरसिंह नमुना माध्यमिक विद्यालयका शिक्षक मुक्तिनाथ आचार्यलाई प्रदान गरिएको छ। दृष्टिविहीन विद्यार्थीहरूले शिक्षकको शिक्षण विधि, सामाजिक व्यवहार तथा अपांगता भएका विद्यार्थीहरूप्रतिको दृष्टिकोणका आधारमा उनलाई छनोट गरेका हुन्।
सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी गरिमा थापा र करिना काफ्लेलाई अन्तर्दृष्टि हातेमालो पुरस्कार प्रदान गरिएको छ। दृष्टिविहीन विद्यार्थीहरूसँग सिकाइको आदानप्रदान, सहयोग तथा सहकार्यलाई आधार मान्दै उनीहरूलाई पुरस्कृत गरिएको हो।

अपांगता भएका व्यक्तिहरूप्रति सकारात्मक दृष्टिकोणका साथ खोज र अनुसन्धान गरी समावेशी समाज निर्माणमा योगदान पुर्याउने पत्रकार मोनिका वाइबालाई अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। उनी अनलाइन पत्रिका ‘उकेरा डटकम’ मा कार्यरत छिन्।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उप–प्रमुख मन्जु गुरुङले पुरस्कारले समावेशी शिक्षण विधि र सहअस्तित्वलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिन्। उनले अपांगता भएका व्यक्तिहरूप्रति विद्यालय, शिक्षक तथा विद्यार्थीहरू अझ जिम्मेवार बन्नुपर्ने बताइन्।
संरक्षक डा. कमल लामिछानेले पुरस्कार वितरणको उद्देश्य केवल सम्मान मात्र नभई अपांगता भएका व्यक्तिहरूको सशक्तीकरण रहेको उल्लेख गरे। ‘जहाँ समस्या छन्, त्यहीँ समाधान खोज्नु उपयुक्त हुन्छ,’ उनले भने, ‘पुरस्कृत व्यक्तिहरूमार्फत अपांगता भएका व्यक्तिहरूको समावेशीकरणमा सहयोग पुर्याउने हाम्रो उद्देश्य हो।’
पुरस्कृत शिक्षक मुक्तिनाथ आचार्यले दृष्टिविहीन विद्यार्थीहरूको शैक्षिक विकासमा अझ बढी मिहिनेतसाथ लाग्ने प्रेरणा प्राप्त भएको बताए। पत्रकार मोनिका वाइबाले पुरस्कारले आफू र उकेरा डटकमलाई थप उत्साहित बनाएको तथा अपांगता सम्बन्धी खोजपत्रकारीतालाई अझ सशक्त बनाउन प्रेरित गरेको बताइन्।
कार्यक्रममा विशेष अतिथि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले यस्ता पुरस्कारले शिक्षक, विद्यालय र सञ्चारमाध्यमलाई अपांगता भएका व्यक्तिहरूप्रति थप जिम्मेवार बनाउने उल्लेख गरे। अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले दृष्टिविहीन विद्यार्थीहरूको क्षमतामा शंका गर्नुको सट्टा शिक्षकहरूले समतामूलक शिक्षण विधि अवलम्बन गर्नुपर्नेमा जोड दिए।
पुरस्कृत व्यक्तिहरूलाई प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको छ। अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको नगद राशि २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको नगद राशि १० हजार तथा अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको नगद राशि १५ हजार रुपैयाँ छ।
समाजमा अपांगता भएका व्यक्तिहरूप्रति रहेको नकारात्मक, विभेदपूर्ण तथा पूर्वाग्रही धारणा परिवर्तन गरी समता, सहअस्तित्व र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले डा. कमल लामिछानेले २०७७ सालमा अन्तर्दृष्टि पुरस्कार स्थापना गरेका हुन्। हरेक वर्ष वसन्तपञ्चमीको अवसरमा यो पुरस्कार प्रदान गरिँदै आएको छ।
विद्यालयका प्राचार्य शेरबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम अन्तर्दृष्टि पुरस्कार समितिकी सदस्य सरिता लामिछानेले सञ्चालन गरेकी थिइन्।
तपाईको प्रतिक्रिया