भद्रकाली माविको ७३ औं वार्षिकोत्सव

पोखरा । पोखराको कुँडहरस्थित भद्रकाली माविको ७३ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सोमबार भएको छ । पोखरा १३ का वडाध्यक्ष किरण बरालले वार्षिकोत्सवको उद्घाटन गर्दै भद्रकाली विद्यालय र क्याम्पस एक रथका दुई पाँग्राजस्तै रहेको चर्चा गरे । १२ कक्षासम्म विद्यालयमा अध्ययनपछि क्याम्पस एउटै परिसरमा पढ्न सजिलो वातवरण भएको अध्यक्ष बरालको भनाइ थियो ।
वडाबाट गरिने सहयोगमा कुनै पनि कमी नहुने भन्दै उनले गुणात्मक शिक्षाका लागि ढुक्क भएर अगाडि बढ्न अनुरोध गरे । राजनीति बाहिर राखेर शिक्षकले शुद्ध र निष्पक्षताका साथ आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बरालको भनाइ थियो । विद्यालयका प्रधानाध्यापक यदुराज पंगेनीले विद्यालयका गतिविधिबारे प्रकाश पारे । विद्यालयमा उत्कृष्ट कार्य गरेका शिक्षक तथा कर्मचारीहरु मध्येबाट क्रमश रामप्रसाद आचार्य, कुशल तिमिल्सिना, लक्ष्मी शर्मा अधिकारी, सुमित्रा बराल, मिना श्रेष्ठ, शुष्मा ज्ञवाली र कल्याणकुमार ढेवाजू पुरस्कृत भए ।
विद्यालयमा यसैवर्ष अक्षयकोष स्थापना गर्ने लोकबहादुर कार्की तथा श्रीमती सरस्वती कार्की, भरत सिग्देल तथा श्रीमती पार्वती सिग्देल, केशवहादुर विक तथा बुहारी लीलाकुमारी विक, हरिप्रसाद आचार्य तथा श्रीमती सावित्री आचार्य र चिरञ्जीवी सिग्देल तथा श्रीमती गृहलक्ष्मी सिग्देललाई सम्मानपत्र र दोसल्लाले सम्मान गरियो ।
त्यसैगरी विद्यालयमा प्राथमिक उपचार कक्ष निर्माण गर्न सहयोग गर्ने लायन्स क्लव अफ पोखरा दर्पणका पूर्व अध्यक्ष तथा ला ग्रान्डी कलेजका प्रिन्सिपल किरण केसी र भद्रकालीमा कक्षा १ देखि १२ सम्म अध्ययन पूरा गरी एमबिबिएसमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल समिता थापालाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । समाजसेवी तथा शिक्षासेवीहरुले स्थापना गरेका अक्ष्यकोषवाट पनि कार्यक्रममा विद्यार्थीहरुलाई सम्मानपत्र र नगदले सम्मानित भए । विद्यालय व्यवस्थापन समितिका सदस्य भरत सिग्देलले शिक्षक प्रोत्साहन पुरस्कारबाट मिनबहादुर साउदलाई सम्मान गरे ।
भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष लोकबहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा भद्रकाली बहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष माधवप्रसाद सिग्देल, जग्गादाताको तर्फबाट रामगोपाल ढेवाजू, पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम भुषाल, नेपाल शिक्षक महासंघ कास्कीका अध्यक्ष भोलानाथ पौडेल, सम्मानितको तर्फबाट किरण केसी, समिता थापा, अभिभावकको तर्फवाट क्रमश देवीप्रसाद सुवेदी, लक्ष्मण श्रेष्ठ र नन्दकेशरी गुरुङले शुभकामना व्यक्त गरे ।
भूपू विद्यार्थी एसोसिएसनका सदस्य शारदा सिग्देल पराजुली लगायतले शुभकामना व्यक्त गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष कमल तिवारी र कक्षा ११ विज्ञान संकायमा अध्ययनरत विशाखा महजर्नले स्वागत गरे । विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया