३० गतेलाई तय भएको गण्डकी प्रदेश सभाको बैठक ‘विशेष कारण’ ले सारियो

समाधान संवाददाता २०८१ माघ २५ गते १२:०७

पोखरा । माघ ३० गतेका लागि तय भएको गण्डकी प्रदेश सभाको बैठक फागुन २ गतेका लागि सरेको छ । प्रदेश सभा सचिवालयले शुक्रबार बिहान सूचना जारी गरी बैठकको मिति परिवर्तन भएको जानकारी प्रदेश सभा सदस्यहरुलाई गराएको छ । सूचनामा भनिएको छ, ‘मिति २०८१ साल माघ ३० गते दिनको १ बजे बस्ने भनिएको गण्डकी प्रदेश सभाको बैठक विशेष कारणवश मिति २०८१ फागुन २ गते दिनको १ बजेक बस्ने भएकाले उपस्थितिका लागि अनुरोध छ ।’

Advertisement

प्रदेश सभाको हिउँदे अधिवेशन २१ गते सुरु भएको थियो । पहिलो दिन १० मिनेटमै सकिएको बैठक ३० गते बस्ने भनिएको थियो । प्रदेश सभा सदस्य र मन्त्रीहरु जिल्लातिर भएको अनि फागुन १ गते जनयुद्ध दिवस पनि भएका २ गतेका लागि बैठक डाकिएको हो ।

२१ गतेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेको अध्यादेश पेश गरेका थिए । प्रदेश सभामा यसअघि दर्ता भएका ३ विधेयक विषयगत समितिमा विचाराधीन अवस्थामा छन् । औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक सरकारले प्रदेश सभामा दर्ता गराएको छ ।

सरकारले हिउँदे अधिवेशनमा १० भन्दा बढी विधेयक लगेर पारित गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले ४ वटा विधेयकका लागि तयारी गरिरहेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गाँजा खेती र घरेलु मदिरा सम्बन्धी विधेयक अगाडि बढाएको छ । त्यसैगरी ऊर्जा मन्त्रालयले विद्युत ऐनको मस्यौदा अन्तिम चरणमा पु¥याएको छ । भौतिक मन्त्रालयले पनि २ वटा विधेयक ल्याउँदै छ । स्वास्थ्य मन्त्रालयले एउटा विधेयकमाथि तयारी गरिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया