सिमसार बुझ्दै प्रतिभा माविका विद्यार्थी

समाधान संवाददाता २०८१ माघ २८ गते २०:२५

पोखरा । जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवा पुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले प्रतिभा माविमा सोमबार सिमसारबारे छलफल आयोजना गरिएको छ ।

Advertisement

कक्षा ११ र १२ का जीव विज्ञान समूहका विद्यार्थी सहभागी उक्त कार्यक्रममा विज्ञहरुले सिमसार क्षेत्रको संरक्षणमा युवा पुस्ताको भूमिकाबारे प्रस्ट पारे । हरेक वर्ष विश्व सिमसार दिवस फेब्रुअरी २ मा मनाइन्छ । दिवसको अवसरमा यसअघि विद्यालयमा सिमसारसँग सम्बन्धित चित्रकला तयार पारिएको थियो । सीमसार दिवसकै छेको पारेर सोमबार कार्यक्रम गरिएको विद्यालयका शिक्षक हेमन्त ढकालले बताए ।

प्राचार्य किरण सापकोटाले विद्यालय तहमा अध्ययन विद्यार्थीलाई सिमसारको महत्वबारे बुझाउन सके त्यसले संरक्षणमा सघाउ पुग्ने बताए । ‘पछिल्लो युवा पुस्तासँग सिमसार क्षेत्रको महत्वबारे उत्तिसारो ज्ञान छैन । उनीहरुलाई ज्ञान दिलाउन सकियो भने भविश्यमा सिमसार क्षेत्र जोगिन सक्छ । त्यही भएर विद्यार्थीको सहभागितामा कार्यक्रम गरेका हौं,’ उनले भने ।

कार्यक्रममा प्रकृति संरक्षणमा युवा पुस्ताको भूमिकाबारे विद्यार्थीले विज्ञसँग जिज्ञाशा राखेका थिए । कार्यक्रममा वन क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुमन भट्टराईले युवा पुस्ताले प्रकृतिसँग जोडिएका समसामयिक विषयमा चाँसो दिनुपर्ने बताए । ‘हामीले ठूला विषयवस्तुमा मात्र चाँसो दिएका छौं । प्रकृतिका साना विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छन,’ उनले भने, ‘मसिना विषयस्तुमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’

पछिल्लो समय सीमसार क्षेत्र संकटमा परिरहँदा सम्बन्धित निकायलाई घच्घचाउने काम युवा पुस्ताले गर्नुपर्ने उनले बताए । ‘सिमसार क्षेत्रको संरक्षण मात्र नभई सही तरिकाले उपयोग गर्न पनि जान्नुपर्छ । भविश्यलाई सुनिश्चित हुने गरि उपयोग गर्नुपर्छ,’ उनले भने ।

Advertisement

जिल्ला बार एसोसिएसनकी अध्यक्ष भगवती पहारीले नेपालमा सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी प्रावधान भए पनि व्यवहारमा लागु नभएको बताइन् । फेवाताल जोखिममा परेको विषय सबैका लागि ज्वलन्त उदाहरण रहेको उनको भनाइ छ । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका अधिकृत पूर्णेश्वर सुवेदी पर्यावरणमा कुनै पनि असर पर्नेगरी काम भएका थाहा पाएमा विभिन्न माध्यमबाट खबरदारी गर्नुपर्ने बताए ।

‘प्रकृतिमाथि दोहन भएमा विभिन्न निकायमा जानकारी दिनुपर्छ । त्यसो भयो भने दोहन रोक्न वा कम गर्न सहज हुन्छ,’ उनले भने । चराबारे जानकार पोखरा पंक्षी समाजकी कोषाध्यक्ष हिराकुमारी मल्ल चराचुरुंगीबारे २० वर्षअघि र अहिले फरक अनुभव रहेको बताउँछिन् । मानव गतिविधिका कारण चराको बासस्थान नै अप्ठेरोमा परेको उनले बताइन् ।

‘हिजोका दिनसम्म चरा देखिने ठाउँमा अहिले देखिन छाडेको छ । त्यस्तो हुनुमा हामी नै जिम्मेवार छौै । युवा पुस्ताले चासो दिएर प्रकृति संरक्षण गर्नुपर्छ,’ उनले भनिन् ।

छलफलमा विद्यार्थीहरुले पोखरा सहरभित्रका विभिन्न चोकमा जथाभाबी बिजुली बाल्दा चराचुरुंगीलाई परेको असरबारे विद्यार्थीले जिज्ञासा राखेका थिए । त्यसबाहेक पोखरा क्षेत्रका विभिन्न ठाउँका रुख र चौतारा मासिँदाका असरबारे पनि छलफल भएको थियो । मानव–वन्यजन्तु द्वन्द्व कसरी घटाउन सकिन्छ भन्नेमा पनि विद्यार्थीको जिज्ञासा थियो ।

तपाईको प्रतिक्रिया