नेकपाले मनायो जनयुद्ध दिवस

समाधान संवाददाता २०८१ फागुन १ गते २०:२१

पोखरा । तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते सुरु गरेको जनयुद्ध ३० वर्षमा प्रवेश गरेको छ । यो अवधिमा जनयुद्ध उत्कर्ष पुग्नेदेखि शान्तिप्रक्रियामार्फत् माओवादी शान्तिपूर्ण राजनीतिमा आइसकेको छ । त्यो बेला एकीकृत नेकपा (माओवादी) अहिले आधा दर्जन पार्टीमा विभक्त छ ।

Advertisement

जनयुद्ध सुरु भएको दिनलाई बिहीबार यसरी बनेका माओवाद मान्ने दलहरुले सम्झिएका छन् । कास्कीमा नेकपा(माओवादी केन्द्र) र नेकपाले छुट्टाछुट्टै कार्यक्रम गरी यसको स्मरण गरे । नेत्रविक्रम चन्द (विप्लव सी) नेतृत्वको नेकपा कास्कीले बिहीबार शुभकामना आदानप्रदान गरी दिवस मनाएको छ ।

कास्की जिल्ला सेक्रेटरी उमेश सीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य प्रसिद्ध सी र कुमार सी, तमु मुक्ति मोर्चा केन्द्रीय अध्यक्ष किसान सी, विद्यार्थी, संगठन कास्कीका इन्चार्ज पुरन सी, मगर मुक्ति मोर्चा कास्की अध्यक्ष टेक सी, श्रमिक समुदाय मोर्चा कास्की अध्यक्ष अमृत सी, युवा संगठन कास्की अध्यक्ष मिलन सी, मजदुर केन्द्रीय सदस्य गौमती सी, स्वास्थ्यकर्मी नेता मणि सी, बेपत्ता परिवारकी मोतिमाया पौडेल, सोममाया सी लगायतले बोलेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का नेता झलकपाणि तिवारीले देशको आवश्यकता र नेपालीको सपना साकार पार्नका लागि १० वर्षे जनयुद्ध भएको बताए । नेकपा कास्की सेक्रेटरी उमेश सीले जनयुद्धले जनताका केही कार्यभार पूरा गरेको जनाउँदै बाँकी काम पूरा गर्न एकीकृत जनक्रान्ति जरुरी भएको धारणा राखे ।

उनले भने, ‘दश वर्ष जनयुद्धले निश्चित रुपमा केही उपलब्धि हाँसिल भएका छन् । ती उपलब्धिलाई संस्थागत गर्दै बाँकी कार्यभार पूरा गर्न एकीकृत जनक्रान्ति अपरिहार्य भइसकेको छ ।’

Advertisement

तपाईको प्रतिक्रिया