पोखरा आदर्श सेकेन्डरी स्कुलमा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा । पोखराको बगरस्थित पोखरा आदर्श सेकेन्डरी स्कुलमा पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भयो। पोखरा महानगरपालिका–१ का वडाध्यक्ष सहारा प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उनले पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे।
कार्यक्रममा बालबालिकाहरू राष्ट्रका भोलिका कर्णधार रहेको उल्लेख गर्दै हरेक बालबालिकामा विशेष प्रतिभा हुने र तिनको प्रस्फुटन आजको कार्यक्रममा देखिएकोमा खुसी व्यक्त गरे। साथै, विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरूलाई सैद्धान्तिकभन्दा व्यावहारिक सिकाइमा जोड दिनुपर्ने धारणा राखे। विद्यार्थीहरूले प्रस्तुत गरेका विज्ञान प्रदर्शनीको प्रशंसा गर्दै रुचि र चाहनाअनुसारको सिकाइ प्रभावकारी हुने विचार व्यक्त गरे।
विद्यालयका प्राचार्य फणिन्द्रप्रसाद अधिकारीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे। राष्ट्रिय अभिभावक संघ कास्कीका अध्यक्ष गोपाल गिरीले अभिभावकहरूको तर्फबाट शुभकामना मन्तव्य दिए। कार्यक्रममा २०८० सालको शैक्षिक पुरस्कार तथा २०८१ सालका अतिरिक्त क्रियाकलाप र खेलकुद पुरस्कार वितरण गरियो। कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरे।
कार्यक्रमका कराते प्रशिक्षक कृष्ण लामा तामाङले विद्यार्थीहरूलाई सितोरियो कराते प्रदर्शन गराए। एसईई २०८० मा सहभागी भई प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरू क्रमशः सुस्मिता बास्तोला, कुसल अधिकारी, रश्मि अधिकारी र अस्मिता सुवेदीलाई सम्मान गरियो। जीपीए ४ सहित सतप्रतिशत उत्तीर्ण गराउने शिक्षकहरू क्रमशः नेपाली विषयका उपप्राचार्य ज्ञानेश्वर सुवेदी, विज्ञान विषयका प्रशासक गोबिन्दप्रसाद पौडेल र लेखा विषयका शिक्षक कृष्णप्रसाद आचार्यलाई दोसल्ला र सम्मानपत्र प्रदान गरियो।
उत्कृष्ट विद्यार्थीको रूपमा निश्मा पाइजा, सफासुग्घरतर्फ ओइसल तामाङ, अनुशासनतर्फ डेमियन थापा र विशेष प्रतिभा सम्मानअन्तर्गत संस्कृति सुवेदी र शिव कडेललाई सम्मान गरियो। साथै, कक्षा ११ को विज्ञान समूहका विद्यार्थीहरूलाई उत्कृष्ट परियोजनात्मक कार्यका लागि नगद तथा प्रमाणपत्र प्रदान गरियो। सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई सहभागिता प्रमाणपत्र वितरण गरियो।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका राजनीति शास्त्र विभाग प्रमुख विष्णुप्रसाद अधिकारी, विज्ञान शिक्षा विभाग प्रमुख प्रा.डा. शोभाकान्त लामिछाने, प्राध्यापक प्रा.डा. विकास केसी, उपप्राध्यापक सुरज पौडेललगायतले सम्मानित शिक्षक तथा विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए।
सांस्कृतिक कार्यक्रमको सञ्चालन सारा तामाङ, निश्मा पाइजा, शिव कडेल, विवेक ढकाल, अवान्तिका आचार्य, सन्ध्या आचार्य र एलिना अदै मगरले गरे। औपचारिक कार्यक्रम उपप्राचार्य ज्ञानेश्वर सुवेदी र अतिरिक्त क्रियाकलाप प्रमुख राजेश गौतमले सञ्चालन गरे। कक्षा ९ की छात्रा अवान्तिका आचार्यले स्वागत मन्तव्य राखिन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो।
तपाईको प्रतिक्रिया