पोखरा विश्वविद्यालय शिक्षण अस्पतालमा २४ सै घन्टा सेवा

समाधान संवाददाता २०८१ फागुन १७ गते १४:४९

पोखरा ।
पोखरा ३० ढुंगेपाटनको पोखरा विश्वविद्यालय शिक्षण अस्पतालले बिरामीलाई शुक्रबारदेखि २४ सै घण्टा सेवा दिन थालेको छ । दक्ष चिकित्सक र स्वास्थ्यकर्मीबाट सेवा प्रदान गर्दै आएको अस्पतालले पूर्ण क्षमताका साथ २४ सै घण्टा सेवा दिन थालेको उपप्रशासक झलक शर्माले जानकारी दिए ।

Advertisement


पोखरा विश्वविद्यालयले स्थापनाको २७ वर्षपछि १ सय शैयाको अस्पताल सञ्चालन गरेको हो । पोखरामा सहज, सरल र उच्च स्तरीय एवं सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०७९ भदौ २२ गतेबाट बहिरंग सेवा सुरुआत गरिएको थियो ।


अस्पतालले बहिरंग, २४ सै घण्टा आपतकालीन सेवा, दन्त उपचार सेवा, प्रयोगशाला, एक्स–रे सेवा, विशेषज्ञ उपचार सेवा प्रदान गर्दै आएको छ । पोखरा विश्व विद्यालयलाई १९ चैत २०८० मा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले केही सर्त पालना गर्ने गरी ६ महिनाका लागि अस्पताल सञ्चालन अनुमति दिएको छ ।

अस्पतालमा विशेषज्ञसहित १२ चिकित्सक र कर्मचारीको व्यवस्था गरिएको छ । २ वर्षपछि ३ सय शैया पुर्‍याउने लक्ष्य लिइएको छ । । विश्वविद्यालयमा २० वर्षदेखि चिकित्सा शिक्षासँग सम्बन्धित शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । नर्सिङ, प्रयोगशाला विज्ञान, जनस्वास्थ्य, फार्मेसी लगायतका विषयमा यहाँ स्नातक एवं स्नातकोत्तर तहका कार्यक्रम छन् ।

Advertisement

तपाईको प्रतिक्रिया