पोखरा १७ मा एमालेको जरा अभियान

समाधान संवाददाता २०८१ चैत १ गते १७:०६

पोखरा । नेकपा एमाले वडा कमिटी पोखरा १७ ले शनिबारदेखि संगठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान सञ्चालन गरेको छ । एमालेका नेता तथा कार्यकर्ता एवं जनप्रतिनिधिसहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधानमा गर्दै पार्टीलाई जनतासँग जोड्ने अभियानमा जुटेका हुन् ।

Advertisement

पार्टी जनसंगठन तथा नयाँ पार्टी सदस्यता विस्तार र नवीकरण गर्दै वडा तहमा पार्टीको उपस्थितिलाई मजबुद बनाउने उदेश्यका साथ अभियानमा जुटेको एमाले १७ का वडा अध्यक्ष विक्रम गुरुङले बताए । कास्की जिल्ला कमिटीको सर्कुलर अनुसार काउसेघारी स्थित हरियाली टोल कमिटीबाट सुरु गरिएको अभियान चैतको ११ गते विरौटा केन्द्रटोल कमिटीमा पुगेर समापन हुनेछ ।

वडामा १६ वटा टोल कमिटी छन् । अभियानका क्रममा पार्टी नेता तथा कार्यकर्ताको एक टोलीले काउसेघारीस्थित पक्षघात भई लामो समयदेखि बिरामी रहेका अग्रज नेता चम्पासिंह गुरुङको घरमा पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो । सो अवसरमा गीता गुरुङको अध्यक्षतामा २९ सदस्यीय नेकपा एमाले हरियोली टोल कमिटी काउसेघारी गठन गरिएको छ ।

नेकपा एमाले कास्की उपाध्यक्ष भेषराज बरालले नवगठित टोल कमिटीका पदाधिकारी तथा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउँदै यस क्षेत्रको विकास निर्माणमा पार्टी जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गरे । पार्टी वडाअध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य एवं वडा इन्चार्ज सुभाष ढुंगाना, जनप्रतिनिधि विष्णुमाया भुजेल, स्थानीय सन्तोष गुरुङ, होमबहादुर कुँवर र वडा सचिव उत्तम सिग्देल, टोल कमिटी अध्यक्ष गीता गुरुङ लगायतले स्थानीय समस्या,पार्टीको विचार सिद्धान्त र अभियानको उद्देश्यबारे बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया