गुरुकुलका विद्यार्थीलाई सहयोग

पोखरा ।
निजी विद्यालयका विद्यार्थीले शनिबार गुरुकुलका विद्यार्थीलाई सहयोग गरेका छन् । बाल कल्याण हाइ स्कुल पोखरा १३ कुँडहरका कक्षा १० का विद्यार्थीले पोखरा ३२ स्थित राधाकृष्ण गुरुकुल विद्यालयका विद्यार्थीलाई खाद्यान्नसहित शैक्षिक सामग्री दिएका हुन् हुन् ।
स्कुलको ३८ औं वार्षिकोत्सवको सन्दर्भमा गुरुकुलका २८ विद्यार्थीलाई १ वर्षका लागि चाहिने कापी, कलम र खाद्यान्नतर्फ चना, केराउ, चिउरा र चामल प्रदान गरेको प्राचार्य षडानन्द गौतमले जानकारी दिए ।
आश्रम सञ्चालक समिति सदस्य माधवशरण उपाध्यायले करिब ६० रोपनी क्षेत्रफलमा राधाकृष्ण आश्रम, मन्दिर र गुरुकुल सञ्चालनमा रहेको बताए । सबै क्षेत्रको सहयोगमा आश्रम र गुरुकुल चलाएको जानकारी दिदै उनले आश्रमका ज्येष्ठ नागरिक कुटी बनाएर बसेको उल्लेख गरे ।
कार्यक्रममा बाल कल्याण स्कुलका व्यवस्थापन समिति अध्यक्ष शोभालक्ष्मी पौडेल, राधाकृष्ण आश्रम सञ्चालक समिति अध्यक्ष नगेन्द्रप्रसाद रेग्मी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया