विद्यार्थी राजनीतिमा दलहरूको छायाँ

मेरो विचारमा नेपालको अहिलेको विद्यार्थी राजनीति साँच्चै नै चिन्ताजनक अवस्थामा छ । स्वोवियु चुनावको यो समयमा युवा हरूले नयाँ सोच र नेतृत्व क्षमता देखाउलान् भन्ने आशा थियो तर वास्तविकता हेर्दा निराशा मात्रै हात लाग्छ । मलाई लाग्छ अहिलेको विद्यार्थी राजनीति पुरानै दलहरूको छायाँमा चलिरहेको छ । विद्यार्थी संगठनहरू आफ्नै विचार र योजना बनाउन सक्ने अवस्थामा छैनन् बरु दलका नेताहरूको इशारामा चल्न बाध्य छन् । यसले युवाहरूमा स्वतन्त्र रूपमा सोच्ने र नयाँ कुरा गर्ने क्षमतालाई कमजोर बनाएको छ ।
बौद्धिक बहसको ठाउँमा जताततै नाराबाजी, झगडा र एकअर्कालाई आरोप लगाउने प्रवृत्ति हावी भएको देख्दा दुःख लाग्छ । गम्भीर राष्ट्रिय मुद्दाहरूमा अर्थपूर्ण छलफल हुनुपर्नेमा व्यक्तिगत स्वार्थ र दलगत पक्षधरता मात्रै देखिन्छ । विद्यार्थीहरूले कुनै पनि विषयमा गहिरो अध्ययन र विश्लेषण गरेको पाइँदैन, केवल सतही कुराहरूलाई लिएर विवाद गरिरहेका हुन्छन् । यस्तो अवस्थाले विद्यार्थी राजनीतिलाई बौद्धिक र सिर्जनात्मक बनाउन सक्दैन भन्ने मलाई लाग्छ । विद्यार्थीहरूले समाजका जल्दाबल्दा समस्याहरूको पहिचान गरी त्यसको समाधानका लागि ठोस योजना र कार्यक्रम ल्याउनुपर्ने हो तर त्यो देखिँदैन ।
नेतृत्वको कुरा गर्दा त झनै खल्लो लाग्छ । युवाहरूमा नयाँ जोश र जाँगर भए पनि उनीहरूलाई नेतृत्व गर्ने मौका नै दिइएको छैन । पुरानै नेताहरूले विद्यार्थी संगठनहरूमा आफ्नो पकड जमाएर राखेका छन् । उनीहरू नयाँ पुस्तालाई अगाडि बढ्न दिन चाहँदैनन् । यसले युवाहरूमा एक किसिमको निराशा र वितृष्णा पैदा गरेको छ । परिवर्तनको आशा देखाउनुको सट्टा उनीहरू पनि पुरानै शैली र प्रवृत्तिलाई पछ्याइरहेका छन् जस्तो लाग्छ । विद्यार्थीहरूले रचनात्मक र गतिशील नेतृत्व प्रदान गर्नुपर्नेमा उनीहरू आफैं पुरानै सोच र शैलीमा अल्झिरहेका छन् ।
यो अवस्थाले युवाहरूमा रहेको परिवर्तनको क्षमतालाई खेर फालिरहेको छ । विद्यार्थी राजनीतिले समाजलाई नयाँ दिशा दिन सक्ने क्षमता राख्छ तर अहिलेको अवस्थामा त्यो सम्भावना कमजोर हुँदै गएको छ । विद्यार्थीहरूले आफ्नो भूमिकालाई गम्भीर रूपमा बुझेर नयाँ नेतृत्व र सुधारको बाटोमा लाग्नुपर्ने हो तर अहिलेको चुनावमा त्यस्तो कुनै संकेत देखिँदैन । मलाई त यो चुनावले युवा र विद्यार्थीहरूले यो राजनीतिक पाटोलाई सही तरिकाले नेतृत्व गर्न सक्छन् भन्ने देखाउन सकेन जस्तो लाग्छ । बरु यसले विद्यमान राजनीतिक प्रणालीका कमजोरीहरू र युवा नेतृत्वको अभावलाई थप उजागर गरेको छ । विद्यार्थी राजनीतिभित्रका अहिलेका गतिविधिहरूले कुनै पनि नयाँपन, सुधार वा आशाजनक नेतृत्वको संकेत दिँदैनन् । यो मेरो व्यक्तिगत विचार हो र मलाई लाग्छ धेरै युवाहरूको पनि यस्तै धारणा होला ।
राजनीतिक दलहरूको छायाँबाट मुक्त भई विद्यार्थी संगठनहरूले स्वतन्त्र र रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ
नेपालको विद्यार्थी राजनीतिले सम्बोधन गर्नुपर्ने दुईवटा आधारभूत कारकहरूमध्ये पहिलो हो शैक्षिक गुणस्तर र विद्यार्थी अधिकारको संरक्षण । विद्यार्थी राजनीतिले विश्वविद्यालय र कलेजहरूमा स्तरीय शिक्षाको सुनिश्चितता, पाठ्यक्रमको समयसापेक्ष सुधार, पर्याप्त भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको उपलब्धता तथा योग्य प्राध्यापकहरूको व्यवस्थापन जस्ता विषयमा निरन्तर आवाज उठाउनुपर्छ ।
त्यस्तै, विद्यार्थीहरूका शैक्षिक, सामाजिक र आर्थिक अधिकारहरूको रक्षा गर्नु, छात्रवृत्ति तथा अन्य सहयोगको व्यवस्थापनमा पारदर्शिता कायम गराउनु र विद्यार्थीहरू माथि हुने अन्याय र विभेदको विरुद्धमा सशक्त रूपमा उभिनु पनि विद्यार्थी राजनीतिको अहम् दायित्व हो । यी विषयहरूलाई प्राथमिकतामा राखेर काम गरेमा विद्यार्थी राजनीतिले समग्र शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्छ ।
दोस्रो महत्वपूर्ण कारक हो राष्ट्रिय मुद्दाहरूमा विद्यार्थीहरूको सक्रिय र रचनात्मक सहभागिता । विद्यार्थीहरू समाजको चेतनाशील र ऊर्जावान हिस्सा भएकोले देशमा विद्यमान राजनीतिक, सामाजिक, आर्थिक र वातावरणीय मुद्दाहरूमा उनीहरूको सशक्त उपस्थिति र रचनात्मक योगदान अपरिहार्य छ । विद्यार्थी राजनीतिले युवाहरूलाई राष्ट्रिय महत्वका विषयहरूमा बहस गर्न, आफ्ना विचारहरूलाई संगठित रूपमा प्रस्तुत गर्न र नीति निर्माण प्रक्रियामा सकारात्मक दबाब सिर्जना गर्न प्रेरित गर्नुपर्छ । भ्रष्टाचार, बेरोजगारी, असमानता र वातावरणीय विनाश जस्ता गम्भीर मुद्दाहरूमा विद्यार्थीहरूले रचनात्मक समाधानहरू खोज्न र सामाजिक परिवर्तनका लागि अग्रसर हुन सक्नुपर्छ । यसो गर्दा विद्यार्थी राजनीतिले युवाहरूलाई जिम्मेवार नागरिकको रूपमा विकास गर्न र देशको भविष्य निर्माणमा सक्रिय भूमिका खेल्न मद्दत गर्छ ।
यद्यपि विद्यार्थी राजनीतिले यी महत्वपूर्ण भूमिकाहरू निर्वाह गर्नुपर्ने भएता पनि राजनीतिक दलहरूको छायाँमा रहँदा यसको प्रभावकारिता कमजोर बन्दै गएको छ । दलगत स्वार्थलाई प्राथमिकता दिँदा विद्यार्थी संगठनहरूले स्वतन्त्र रूपमा विद्यार्थी हकहित र शैक्षिक गुणस्तरका मुद्दाहरू उठाउन सकिरहेका छैनन् । यसले विद्यार्थीहरूको वास्तविक आवश्यकतालाई ओझेलमा पार्ने खतरा बढाएको छ र विद्यार्थी राजनीति रचनात्मक परिवर्तनको संवाहक बन्न असफल भइरहेको छ । मेरो विचारमा विद्यार्थी संगठनहरूले दलगत हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त भई विद्यार्थीमुखी एजेन्डालाई केन्द्रमा राख्नुपर्छ र नेतृत्व चयनमा योग्यता, क्षमता र विद्यार्थीहरूको विश्वासलाई प्रमुख आधार बनाउनुपर्छ ।
अतः नेपालको विद्यार्थी राजनीतिले शैक्षिक गुणस्तर र विद्यार्थी अधिकारको संरक्षण तथा राष्ट्रिय मुद्दाहरूमा सक्रिय सहभागिता जस्ता दुई आधारभूत कारकहरूलाई केन्द्रमा राख्नुपर्छ । राजनीतिक दलहरूको छायाँबाट मुक्त भई विद्यार्थी संगठनहरूले स्वतन्त्र र रचनात्मक भूमिका निर्वाह गर्न सकेमा मात्र शैक्षिक क्षेत्रको विकास र राष्ट्रिय मुद्दाहरूमा युवाहरूको सार्थक योगदान सुनिश्चित हुन सक्छ ।
तपाईको प्रतिक्रिया