पृथ्वीनारायण क्याम्पसमा भाेली ८ देखि मतदान

पोखरा ।
चैत ५ मा देशभर स्ववियु निर्वाचन हुँदै छ । विद्यार्थी संगठनहरू त्यही अनुसार तयारीमा छन् । तर, कास्कीमा यसको रौनक निकै कम छ । यहाँ देशभरमै बढी विद्यार्थी संख्या भएको पृथ्वीनारायण क्याम्पससँगै पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, विन्दवासिनी संस्कृत विद्यापिठ र जनप्रिय क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ ।
यीमध्ये देशभरमै चर्चा रहेको र रहने क्याम्पस हो, पृथ्वीनारायण क्याम्पस । राष्ट्रिय स्तरका नेता उत्पादन गरेको पृथ्वीनरायण क्याम्पसको स्ववियु निर्वाचनलाई धेरैले चासो र चिन्ता लिएका छन् । यहाँको स्ववियु चुनावलाई विद्यार्थी राजनीतिमात्र नभई राष्ट्रिय राजनीति निर्माणको आधारशीलाका रुपमा समेत हेरिएको छ । मंगलबार उम्मेदवारी दर्ता समयमा पार्टीका जिल्ला तहका नेताहरु पृथ्वीनारायण क्याम्पसमा देखिएका थिए ।
अझ १६ वर्षसम्म हुन नसकेको चुनाव हुने माहोल बन्दा विद्यार्थीहरु उत्साहित देखिन्छन् । यसअघि २०६५ सालमा नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट रश्मि आचार्य स्ववियु सभापति चुनिएका थिए । त्यसयता पृथ्वी नारायण क्याम्पसमा चुनाव हुन सकेको छैन ।
पृना क्याम्पसको स्ववियु कमान्डर बन्नका लागि ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लपी न्यौपाने २ जना स्वतन्त्र रुपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् ।
९२७० मतदाता रहेको पृथ्वीनारायण क्याम्पसको १६ वर्षपछि हुन लागेको निर्वाचनमा स्ववियु सभापतिमा २ स्वतन्त्रसहित ८ उम्मेदवार मैदानमा छन् ।
एमालेको अनेरास्ववियुबाट विष्णु पौडेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।
समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् । क्याम्पस प्रशासनले चैत ५ गते हुने निर्वाचनका लागि तयारी तीव्र बनाएको छ । पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले तयारी अन्तिम चरणमा पुगेको बताए ।
‘आवश्यक तयारी पूरा भइसकेको छ । कुनै बाधा, अवरोध छैन । सबै मतदान केन्द्र तयार भइसक्यो,’ उनले भने । क्याम्पसमा ९ हजार २ सय ७० मतदाता रहेको उनले बताए । उनीहरुले मतदान हुने दिन बिहान ८ देखि ५ बजेसम्म मतदान गर्ने छन् । क्याम्पसले निर्वाचन दिन पोखरा १ र ११ जोड्ने झोलुंगे पुल पनि बन्द गर्ने सूचना प्रकाशित गरेको छ । ५ चैतको चुनावको लागि मौन अवधि सुरु भएको छ । यसबीचमा प्रचारप्रसारका कार्यक्रम गर्न पाइने छैन ।
निर्वाचन अधिकृतले माफी मागे
उम्मेदवारहरुको सँगको संयुक्त बैठकका क्रममा दलित समुदायप्रति लक्षित शब्दप्रति निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले माफी मागेका छन् । चैत १ गते विज्ञप्ति प्रकाशित गरी अधिकृत पोखरेलले माफी मागेका हुन् ।
उनले सोही दिन स्ववियु निर्वाचन समिति पृथ्वीनारायण क्याम्पस पोखरा र स्ववियु निर्वचान २०८१ को प्रयोजनका लागि उम्मेदवारी दर्ता गरेका संघ, संघठन, संयुक्त प्यानल र स्वतन्त्र उम्मेदवारहरुसँगको संयुक्त बैठकमा अभिव्यक्ति राख्ने क्रममा दलित समुदायप्रति ठेस पुग्ने शब्द उच्चारण गरेका थिए । त्यस शब्दप्रति आलोचना र विरोध पनि गरिएको थियो ।
अन्जानमा उच्चारण भएको शब्दले दलित समुदायप्रति ठेस पुगेको भन्दै उनले माफी मागेका हुन् । अबका दिनमा यस प्रकारको अभिव्यक्ति नआउने प्रतिवद्धतासमेत उनले व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया