सडकमै गणित सिकाइयो

समाधान संवाददाता २०८१ चैत ४ गते १०:५८

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ७, मासबारस्थित मदरल्यान्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितको ज्ञान दिएका छन् । नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका बटुवालाई गणितको सामान्य नियम र ज्ञान सिकाएको समाजका गण्डकी अध्यक्ष डा त्रिभुवन शर्मा बरालले जानकारी दिए ।

Advertisement


‘गणितको ज्ञान कक्षाकोठामा मात्र सीमित हुनु हुँदैन । घरको भान्सामा पनि गणितको महत्व छ । हामीले बाहिरबाट हेर्दा गणित पढाउन कक्षाकोठा नै चाहिन्छ भन्ने मान्यता छ । त्यही मान्यता चिर्नका लागि बाटोमा गणित पढाउने कार्यक्रम आयोजना गरिएको हो,’ अध्यक्ष बरालले भने ।


पोखराका विभिन्न निजी विद्यालयका विद्यार्थीलाई बाटोमा गणित सिकाउने गरी आव्हान गरिएको थियो । मदरल्यान्ड मावि लगायतका विद्यार्थीले बाटोमा उभिएर बटुवालाई गणितको ज्ञान सिकाएको उनले बताए । विद्यार्थीले बटुवालाई गणितको समान्य अवधारणा बाटोमा सिकाएका थिए । विभिन्न मनोरञ्जनात्मक तरिकाबाट खेल खेलाउँदै गणित सिकाउने र जित्नेलाई पुरस्कार पनि दिँदा कार्यक्रम प्रभावकारी बनेको उनले बताए ।


विश्वका विभिन्न देशमा बाटोमा गणित पढाउने अभ्यास छ । पोखरामा पछिल्लो ३ वर्षदेखि निरन्तर यो कार्यक्रम आयोजना गरिएको छ । ‘संसारका अरु देशमा पनि यो अभ्यास छ । गणित नपढेका बटुवाले पनि केही कुरा जानून् । ज्ञानलाई बढी महत्व दिएर सिकाउने अभ्यास हो,’ उनले भने, ‘घरायसी व्यवहारमा पनि गणित लागू हुुन्छ । त्यसैले बटुवालाई पनि सहभागि गराएका हौं ।’


अध्यक्ष बरालका अनुसार गणितका विविध विषय र क्षेत्रमध्ये ‘टावर अफ हनोइ’ मेजरमेन्ट अफ फोर लिटर’ ट्रयाङ्गल, फर्मेसन, पजल जस्ता क्षेत्रका विविध सामग्री निर्माण गरी आफूले जानेका ज्ञान, सिप र धारणा बाँड्ने विद्यार्थीलाई बटुवालाई सिकाएका थिए । मदरल्यान्ड माविका कक्षा ९ का विद्यार्थीले सडकमा उभिएर बाटो हिडेका बटुवालाई गणितबारे ज्ञान दिएका थिए ।

Advertisement
गणितको ज्ञान कक्षाकोठामा मात्र सीमित हुनु हुँदैन । घरको भान्सामा पनि गणितको महत्व छ


मदरल्याण्ड माविका प्राचार्य डा नारायण बरालका अनुसार यो अभ्यास धेरैका लागि नौलो थियो । किनकी गणित कक्षाकोठामा मात्र पढाउन सम्भव छ भन्ने उनीहरुले बुझेका थिए । ‘गणितको ज्ञानको महत्व बुझाउन पनि यस्ता कार्यक्रममा विद्यार्थीलाई सहभागि गराएका हौं,’ प्राचार्य बरालले भने, ‘नौलो अभ्यास भएकोले पनि धेरैले चासो दिएका थिए ।’ विद्यार्थीका क्रियाकलाप देख्दा सुरुमा छक्क परेका बटुवापछि यसको महत्व, उद्देश्य र मर्म बुझेपछि भने दंग बनेका थिए ।


श्रीकृष्ण माविलाई मादरल्यान्डको साथ
पोखरा महानगरपालिका वडा नम्बर ७ भित्रको एकमात्र सामुदायिक विद्यालय श्रीकृष्ण माध्यमिक विद्यालयलाई मादरल्यान्ड माविले फर्निचर प्रदान गरेको छ । मदरल्यान्डले श्रीकृष्णलाई ३ लाख ७५ हजारका २५ थान फर्निचर सहयोग हस्तान्तरण गरेको हो ।


कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा केन्द्र रहेको श्रीकृष्ण माविमा फर्निचरको अभावलाई दृष्टिगत गर्दै सहयोग गरेकोमा आभार प्रकट गरे । उलने निजी विद्यालयले नाफामात्र नकमाएर सामाजिक उत्तरदायित्व पनि पूरा गर्नुपर्ने यसबाट सन्देश प्रवाह हुने उल्लेख गरे ।


पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले सामुदायिक विद्यालयको गुणस्तर वृद्घिका गर्न निजी विद्यालयसँगको सहकार्य र सिकाइ आदानप्रदान हुनुपर्ने बताए । आफ्नो विद्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत नै गत वर्ष जस्तै यस वर्ष पनि आफ्नै वडाको सामुदायिक विद्यालयलाई सहयोग गरको मदरल्यान्डका प्राचार्य डा नारायणप्रसाद बरालले बताए ।


श्रीकृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष शोभाचन्द बरालले विद्यालयको शैक्षिक गुणस्तर वृद्घिका लागि भौतिक गुणस्तर पनि आवश्यक पर्ने उल्लेख गरे । विद्यालयको भौतिक विकासका लागि सहयोग गर्दै आएकोमा श्रीकृष्ण माविका प्रधानाध्यापक प्रेम चपाईले मदरल्यान्डलाई धन्यवाद दिए ।

तपाईको प्रतिक्रिया