प्रदेशसँग सहकार्य गर्न युनडिपीलाई प्रस्ताव

समाधान संवाददाता २०८१ चैत ४ गते ११:३०

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक क्रिस्टोफ बहुयेटबिच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार भएको भेटमा मुख्यमन्त्री पाण्डेले सशक्तीकरणको क्षेत्रमा प्रदेश र स्थानीय तहलाई युएनडिपीले गर्दै आएको सहयोग प्रभावकारी रहेको बताए ।

Advertisement


युएनडिपीले दिगो विकास, फोहोरमैला व्यवस्थापन, नवप्रवर्तन, उद्यमशीलताको क्षेत्रमा गण्डकी प्रदेशभित्र गर्दै आएको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पाण्डले भने, ‘पूर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि, जलवायु परिर्वतनको लगायत प्रदेशको प्राथमिकताका क्षेत्रमा युएनडिपीसँग सहकार्य गर्न हामी तयार छौँ ।’ यी क्षेत्रमा सहकार्य गर्दा प्रदेश सरकारले लिएको नीति अनुसार युवा पलायन रोक्न, रोजगारी सिर्जना गर्न, बाँझो जमिनमा खेती विस्तार गर्न र उद्यमशीलता प्रर्वद्धनमा सहयोग पुग्ने मुख्यमन्त्री पाण्डेले बताए ।


गण्डकी प्रदेश सरकारले दोस्रो पञ्च वर्षीय योजनामा आफ्ना प्राथमिकताको क्षेत्र पहिचान गरेकाले सो क्षेत्रमा सहकार्य हुँदा प्रदेशवासीले ठूलो उपलब्धी हाँसिल गर्न सक्ने उनले बताए । युएनडिपीका उपक्षेत्रीय निर्देशक बहुयेटले गण्डकी प्रदेश सरकारसँगको भेट नेपालको पहिलो औपचारिक कार्यक्रम भएको बताउँदै भने, ‘गण्डकी प्रदेश सरकारसँग भेटघाट र सहकार्य गर्न पाउँदा निकै खुसी लागेको छ ।’


पिएलजिएसपी कार्यक्रम अन्तर्गत कार्यान्वयन भएका कार्यक्रमहरुको प्रभावकारिताबारे पनि उनले चासो राखेका थिए । युएनडिपीको सहयोगमा गण्डकी प्रदेशमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (पिएलजीएसपी) सञ्चालनमा छ । यो कार्यक्रमले स्थानीय तह र प्रदेशको क्षमता विकास, सशक्तीकरणको क्षेत्रमा सहयोग पुगेको मुख्यमन्त्री पाण्डेले बताए ।


‘संघीयता कार्यन्वयनपछि प्रदेश संरचना हाम्रालागि नयाँ हो, कानुन निर्माण, आवधिक योजना, क्षमता विकास, लैंगिक सामाजिक समावेशिकरण, राजस्व सुधारका क्षेत्रमा यो परियोजनाको ठूलो सहयोग छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘सबैजसो स्थानीय तहमा यो परियोजना माग भएकाले कार्यक्षेत्र विस्तार गर्न सक्दा अझै प्रभावकारी हुन्छ ।’

Advertisement


नेपालको पर्यटकीय राजधानी पोखरा र आसपासका जिल्लालाई इको टुरिजम, खेल टुरिजम, धार्मिक टुरिजमको रुपमा विकास गर्ने सरकारको योजनामा सहकार्य गर्न सकिने उनले बताए । भेटमा युएनडिपीको सहकार्यमा सञ्चालन भइरहेको पिएलजिएसपी कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नयाँ सहकार्यको क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको छ ।


गण्डकी प्रदेश नीति योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले दोस्रो पञ्चवर्षिय योजनामा सरकारले लिएको रणनीतिबारे जानकारी गराएका थिए । गण्डकी प्रदेश प्रमुख सचिव रघुराम विष्ट, युएनडिपीका नेपाल स्थित आवासीय प्रतिनिधि क्योको योकोसुका लगायत प्रतिनिधि मण्डल र मुख्यमन्त्री कार्यालयका प्रतिनिधिहरु यसमा सहभागी थिए ।

तपाईको प्रतिक्रिया