पोखरा-बुटवल सडक : १९ अर्ब ७५ करोडमा विस्तार गरिने

प्रमिला कुँवर २०८१ चैत ६ गते १३:५१

पोखरा ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको पोखरा–बुटवल सडक स्तरोन्नति हुने भएको छ । वन तथा वातावरण मन्त्रालयले बुधबार परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन सार्वजनिक गर्दै सुझावका लागि सूचना जारी गरेको छ ।
पोखरा—बुटवल सडक स्तरोन्नति परियोजनाले यातायात सहज बनाउनुका साथै व्यापार, पर्यटन र स्थानीय रोजगारी प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । ४ वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

Advertisement


सडक स्तरोन्नतिका लागि १९ अर्ब ७५ करोड ९० लाख रुपैयाँ लाग्ने प्रतिवेदनमा उल्लेख छ । दीर्घकालीन समस्या समाधानका लागि ९ अर्ब ३७ करोड २० लाख रुपैयाँमा पुल संरचना (भायाडक्ट) र सुरुङ निर्माण प्रस्ताव गरिएको छ ।


सडक पोखराको पृथ्वीचोकबाट सुरु भई स्याङ्जा, पाल्पा हुँदै बुटवलको गोलपार्कमा टुंगिन्छ । सडकको लम्बाइ १ सय ५७ किलोमिटर छ । स्तरोन्नतिपछि सडकको चौडाइ ५० मिटर हुनेछ । सडकको दुवैतर्फ १.५ मिटरको सोल्डर र १ मिटरको नाली रहने प्रतिवेदनमा छ । सडकमा ३ सय २५ वटा पाइप कल्भर्ट, १६ वटा आर्क कल्भर्ट, ४० मिमी बिटुमिनस वेयरिङ कोर्स निर्माण गरिने भएको छ ।


प्रतिवेदनका अनुसार सडक विस्तारका लागि ५४.१२ हेक्टर जग्गा आवश्यक छ । त्यसमा ९१.४२ हेक्टर खेतीयोग्य भूमि र १५.१८ हेक्टर वन क्षेत्र पर्छ । यो आयोजनाले २ हजा। ९ सय ८२ वटा रुख तथा पोलहरू कटानी गर्नुपर्ने देखिएको छ ।


सडक विस्तारका क्रममा ३ सय ५५ घरधुरी, २१ संस्थागत भवन, ४५ वटा बस बिसौनी, २३ वटा सार्वजनिक धारा, १५ वटा सार्वजनिक शौचालय, १६ वटा चौतारा, ४६ वटा बिजुलीका पोल, ७ वटा ट्रान्सफर्मर, १३ वटा मठ–मन्दिर प्रत्यक्ष प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Advertisement

भालु पहाडमा ५ सय मिटर भन्दा कम लम्बाइका ३ वटा टनेल बनाउने गरी सडकको डिजाइन


जैविक वातावरणः सडकको १० मि चौडाइ र १ मिटर ड्रेनसहित स्तरोन्नति र धेरै घुमाउरा मोड र स्लोप कटान गर्नुपर्ने स्थानको वन सर्वेक्षण गर्दा त्यस भित्र ७५ प्रजातीका जम्मा १,४४२ वटा पोल तथा १,५४० वटा रुखहरू गरी, जम्मा २ हजार ९ सय ८२ रुख तथा पोलहरू कटान गर्नु पर्ने हुन्छ ।


ती रुखहरुमा साल प्रजातिका १३१ वटा, खयर प्रजातिका २४० र सिमल प्रजातिका २१ र चाँप प्रजातिका ६ वटा रुख पनि पर्ने देखिन्छ । वनजन्य प्राकृतिक वासस्थानमा पर्ने प्रभाव, मानव र वन्यजन्तु बीचको द्वन्द्व, जलीय वासस्थानमा क्षति, वनजन्य स्रोतको तस्करी बढ्ने, वन्यजन्तुलाई प्रभाव पर्ने देखिन्छ ।


सडक–खण्डमा नयाँ पुल तथा मोड सुधार र सुरुङ मार्ग पनि बन्नेछन् । स्याङ्जाको भालु पहाडमा ५ सय मिटर भन्दा कम लम्बाइका ३ वटा टनेल बनाउने गरी सडकको डिजाइन गरिएको छ । सडकमा केही टनेल तथा मोडमा सुधार गर्दा बाटो केही छोटो हुन जानेछ ।


डिजाइनको विकल्पः विस्तृत इन्जिनियरिङ अध्ययन अनुसार सडकको स्लोप, मोडको अर्धव्यास, क्रस सेक्सन डिजाइन, नालीको डिजाइन, पेभमेन्ट डिजाइन, रिटेनिङ संरचना, नेपाल सरकारको मापदण्ड अनुरुप हुनेछ ।

अल्पकालीन सुधार कार्यको विकल्पः सडक खण्डलाई सबै मौसममा सुचारू रहने डबल बिटुमिनस सर्फेस ट्रिटमेन्ट मापदण्ड अनुसार स्तरोन्नति र पुलहरूको मर्मत सम्भार गर्ने छ ।


दीर्घकालीन सुधार कार्यको विकल्पः सडकमा अवस्थित घुम्तीहरूलाई घटाउन र सडकको कूल लम्बाइ घटाउन ३८ ठाउँमा भायाडक्ट, ५ ठाउँमा सुरुङमार्ग र बाइपास प्रस्ताव गरिएको छ । तर यस विकल्पमा आयोजनाको लागत झन्डै दोब्बर हुने कारणले यो विकल्पलाई यस अध्ययनमा समावेश गरिएको छैन ।


प्रविधि र सञ्चालन विधिको विकल्पः प्रस्तावित आयोजना निर्माणको क्रममा प्रयोग गरिने मेशिनरी, इन्जिनियरिङ डिजाइनहरू, प्रविधिहरू वातावारणीय दृष्टिले उपयुक्त देखिन्छ, यदि कुनै प्रविधि कार्यान्वयन गर्दा धेरै नकारात्मक असर पर्ने देखिएमा त्यस्तो डिजाइन वा प्रविधिको विकल्प अपनाइने छ ।


सिद्धार्थ राजमार्ग २०२२ सालमा निर्माण सुरु भएको थियो र २०२८ सालतिर पोखरासम्म जोडिएको थियो । आयोजना सम्बन्धी राय–सुझाव दिन चाहनेले २०८१ चैत १३ भित्र सुझाव वन तथा वातावरण मन्त्रालयमा पठाउन सक्नेछन् । प्रतिवेदन मन्त्रालयको वेबसाइट https://www.mofe.gov.np/ मा उपलब्ध छ ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया