कास्कीको एसइई : केही सहयोगीको भरमा, केही बालगृहबाट सहभागी

पोखरा । एसईई परीक्षाको पहिलो कास्कीमा जिल्लामा १० हजार १ सय १० जना सहभागी भए । ३६ परीक्षा केन्द्रमा ५ हजार २ सय ९० छात्र र ४ हजार ८२० छात्राको उपस्थिती रह्यो । पोखरा महानगरपालिकामा ३३, अन्नपूर्ण गाउँपालका २ र रुपा गाउँ पालिकामा एक परीक्षा केन्द्र तोकिएको छ । नियमित र ग्रेडवृद्धिका लागि एसईई दिने समूहमै केही अपांगता भएका विद्यार्थीहरु पनि छन् ।
शिक्षा विकास तथा समन्वय इकाई, कास्कीको तथ्यांक अनुसार कास्की जिल्ला भर ३३ जना अपांगता भएका विद्यार्थीहरुले यस वर्षको एसइइ परीक्षा दिदैछन् । तीमध्ये साधारण दुष्टिविहीन ९, सुस्त श्रवण २० शारीरिक अपांगता (मतिष्क पक्षघात/हात राम्रोसँग नचल्ने) ४ जना छन् । उनीहरुका लागि अमरसिंह, कालिका, राष्ट्रिय, कन्या र ब्रह्मरुपा माबिमा केन्द्र तोकिएको छ ।
अपांगता भएका व्याक्तिहरुका लागि छुट्टै कोठाको व्यवस्था गरिएको शिक्षा विकास तथा समन्वय इकाई, कास्की प्रमुख लोकनाथ आचार्यले जानकारी दिए । उनीहरुका लागि विद्यालयले सिफारिस गरेका व्याक्ति सहयोगीको व्यवस्था हुनेछ । ‘अपांंगता भएका विद्यार्थीहरुका लागि ९ कक्षा पास नभएका स्कुलले सिफारिस गरेकाहरु सहयोगी राख्न पाउनुहुन्छ,’ उनले भने, ‘उहाँहरुले भनेपछि सहयोगीले लेख्ने भएपछि अरुलागि डिस्टप नहोस भनेर छुट्टै कोठाको व्यवस्था गरिएको छ ।’
अपांगता भएका परीक्षार्थीहरुका लागि समय पछि बढि नै हुने प्रमुख आचार्यले सुनाए । ‘अपांगता भएकाहरुका लागि नियमित समयभन्दा डेढ घण्टा बढी समय दिइने गरिन्छ,’ उनले भने, ‘आवश्यकता हेरेर समय उपलब्ध गराउने चलन छ ।’
कास्कीमै बाल सुधार गृहका १७ जना परीक्षार्थीहरुले पनि एसइई दिएको प्रमुख आचार्यले जानकारी दिए । सराङकोटमा रहेको बाल सुधार गृहका १६ र बाहिरबाट आएका एक जनाले सुधार गृहबाटै एसइईमा सामेल भएका हुन् । ‘उनीहरुको परीक्षा केन्द्र विन्ध्यवासिनी माबि बरपाटनमा छ । सुरक्षाकर्मी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्षको रोहवरमा विद्यार्थी अनुसारको प्रश्नपत्र शिलबन्दी गरेर सहायक केन्द्राध्यक्षको रोहवरमा खटाउँछ,’ उनले भने, ‘सुधार गृहमा प्रहरी र सहायक केन्द्राध्यक्षकै रोहवरमा परीक्षा लिएपछि उत्तर कपी शिलबन्दी गरेर सिधैं परीक्षा नियन्त्रण कार्यालयमा लगेर चेक हुन्छ ।’
कास्कीबाट एसइईको पहिलो दिन ५३ जना परीक्षार्थी अनुपस्थित भएको प्रमुख आचार्यले जानकारी दिए । यस वर्षको एसइईमा कास्कीबाट ११ हजार ३७ विद्यार्थी सहभागी हुदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यका अनुसार १ सय २२ सामुदायिक विद्यालय र १ सय ६५ संस्गाथत विद्यालयका साधारणतर्फ नियमित ९ हजार ७ सय ९५ र ग्रेड वृद्धिमा १ हजार ३४ गरी १० हजार ८ सय २९ विद्यार्थी सहभागी हुनेछन् । प्राविधिकतर्फ नियमित १ सय ८४ र ग्रेड वृद्धिका २४ गरी २ सय ८ विद्यार्थीले परीक्षा दिने आचार्यले बताए ।
परीक्षा केन्द्रको निरीक्षणका लागि शिक्षा विकास तथा समन्वय इकाई, कास्कीको टिम समूह बनाएर विभिन्न स्थानमा पुगेको थियो । समग्रमा कास्की जिल्लाको परीक्षा शान्त वातावरण सकिएको उनले बताए । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनेतर्फ कार्यालय लागि परेको आचार्यको भनाइ छ । विद्यार्थीलाई निर्धक्क र भयरहित वातावरणमा परीक्षा दिने वातावरण मिलाउन कार्यालयले सम्बन्धित सरोकार राख्ने सबैसँग समन्वय र सहकार्य गरिरहेको उनले बताए । आचार्यका अनुसार परीक्षाको समयमा कुनै गुनासो वा समस्या भए तत्काल समाधान गर्न गरी प्रविधि मैत्री संंयन्त्र निर्माण गरिएको छ ।
परीक्षाको गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले पनि विभिन्न परीक्षा केन्द्रहरूको अनुगमन गरेका थिए । अनुगमन क्रममा मन्त्री थापा पोखरा–१७ स्थित छोरेपाटन मावि तथा महतगौडास्थित जानकी मावि पुगेर परीक्षाको व्यवस्थापन, विद्यार्थीहरूको उपस्थिति र परीक्षा वातावरणबारे जानकारी लिएका थिए ।
मन्त्री थापाले परीक्षा केन्द्रहरू सुव्यवस्थित, मर्यादित र शान्त वातावरणमा सञ्चालन भइरहेकोमा सन्तोष व्यक्त गर्दै परीक्षार्थीहरूको आत्मविश्वास, तयारी र अनुशासन प्रशंसनीय रहेको बताए । मन्त्री थापाले भने, ‘विद्यार्थीहरू उत्साहित र आत्मविश्वास देखिए, जसले उनीहरूको राम्रो तयारीको संकेत गर्छ। परीक्षा मर्यादित र व्यवस्थित रूपमा सञ्चालन भइरहेकाले सबै पक्षलाई धन्यवाद दिन्छु ।’
उनले सम्पूर्ण परीक्षार्थीहरूलाई सफल परीक्षाको शुभकामना दिँदै परीक्षाको निष्पक्षता, विश्वसनीयता र सुरक्षामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। साथै, उनले परीक्षाका क्रममा कुनै अव्यवस्था हुन नदिन सम्बन्धित निकायलाई सचेत रहन निर्देशन पनि दिएका छन् ।
तपाईको प्रतिक्रिया