
पोखरा ।
त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भयो । देशभर भएको स्ववियु निर्वाचनअन्तर्गत गण्डकी प्रदेशका जिल्लामा पनि क्याम्पसमा मतदान भयो ।
विवादका कारण चुनाव नभएका एकाध बाहेकका कलेजहरुले बुधबारसम्ममा स्ववियमा नयाँ नेतृत्व पाइसकेका छन् । मत परिणाम अनुसार प्रदेशमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ बलियो देखिएको छ । ११ जिल्ला रहेको गण्डकीमा मनाङ र पर्वतबाहेक ९ जिल्लाका त्रिवि अन्तर्गतका क्याम्पसहरुमा निर्वाचन भएको छ ।
पछिल्लो तथ्यांक अनुसार नेविसंघ १४, अनेरास्ववियु १०, अनेरास्ववियु क्रान्तिकारी ३, छैटौं र स्वतन्त्र १/१ क्याम्पसमा विजयी भएका छन् । प्रदेश राजधानी कास्कीको पोखरामा पृथ्वीनारायण क्याम्पस (पृना) सँगै इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, चिकित्सा शास्त्र अध्ययन संस्थान पोखरा नर्सिङ क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस र जनप्रिय बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन हुनुपर्ने थियो ।
यीमध्ये नर्सिङ, वन क्याम्पस र पश्चिमाञ्चल क्याम्पसमा स्ववियु निर्वाचन भएको छ । इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पसमा स्वतन्त्र उम्मेदवार विजयी बने । यहाँ अघिल्लो विरासत जोगाउन तल्लीन विद्यार्थी संगठनहरुलाई चक्मा दिँदै स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका प्रकाश धामी विजयी भएका हुन् ।
नेविसंघ १४, अनेरास्ववियु १०, अनेरास्ववियु क्रान्तिकारी ३, अखिल छैटौं १ क्याम्पसमा अध्यक्ष चुनिँदा इन्जिनियरिङमा स्वतन्त्र उम्मेदवार विजयी
धामीले अनेरास्ववियुका अनुप न्यौपाने, अखिल क्रान्तिक्रारीका आदर्श महत क्षेत्री र नेविसंघका सौगात पण्डितलाई पराजित गरे । सचिवमा क्रान्तिकारीका हरिकृष्ण खड्का विजयी बने । उनले अनेरास्ववियुका विनायक भुंवाजीलाई पछि पारे । नर्सिङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भयो । मंगलवार साँझ सकिएको मतगणनामा अनेरास्ववियुकी प्रतिभा भण्डारी अध्यक्षमा निर्वाचित भएकी हुन् । सचिवमा अखिलकै सलिना श्रेष्ठ र कोषाध्यक्षमा कुसुम गौतम चुनिए ।
वन विज्ञान अध्ययन संस्थानमामा अनेरास्ववियुका अभिषेक शर्मा विजयी भए । उनले नेविसंघका उत्तम हुमागाईंलाई पराजित गरे । सचिवमा अखिल क्रान्तिकारीका गौरव खड्का विजयी भए । कोषाध्यक्षमा अनेरास्ववियुकी प्रतिमा श्रेष्ठ विजयी भइन् । यहाँ दुई अखिलले गठबन्धन गरेका थिए ।
गण्डकी प्रदेशको सबैभन्दा धेरै विद्यार्थी रहेको पृथ्वीनारायण क्याम्पस र विन्ध्यवासिनी संस्कृत विद्यापीठमा चैतको १० गते निर्वाचन हुँद छ । भने जनप्रिय बहुमुखी क्याम्पसमा अर्को मिति तय गरिएको छैन । स्याङ्जामा स्ववियुको निर्वाचन भएका ६ क्याम्पसमध्ये ४ वटामा नेविसंघ र २ वटामा अनेरास्ववियु विजयी भएका छन् ।
जिल्ला सदरमुकाम स्याङ्जामा रहेको त्रिभुवन आदर्श बहुमुखी क्याम्पसमा नेविसंघका देवदत्त सुवेदीको प्यानल निर्वाचित भएको छ । जिल्लामा धेरै मतदाता रहेको वालिङ बहुमुखी क्याम्पसमा नेविसंघका निरज श्रेष्ठ अध्यक्ष चुनिए । सचिवमा अनेरास्ववियुकी बिना रेग्मीबाहेक सबै पदमा नेविसंघ विजयी भएको छ ।
गल्याङको मालुंगा सार्वजनिक बहुमुखी क्याम्पसमा नेविसंघका गोविन्द भण्डारी र चापाकोटमा रहेको राधादामोदर संस्कृत विद्यापीठमा नेविसंघका रविन भट्टराई सभापतिमा चयन भए । दुबै क्याम्पसमा सहमतिका आधारमा स्ववियु पदाधिकारी छानिएका हुन् ।
फेदीखोलामा रहेको सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसको सभापतिमा प्रतीक्षा गोदारको प्यानल विजयी भएको छ । कालीगण्डकीको मिर्मी बहुमुखी क्याम्पसमा मुना न्यौपाने दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएकी छिन् । गल्याङको गल्याङ बहुमुखी क्याम्पसमा विवादका कारण निर्वाचन प्रक्रिया अवरुद्ध छ ।
लमजुङका ४ क्याम्पसमा नेविसंघ र एउटामा अनेरास्ववियु विजयी भएका छन् । सुन्दरबजार नगरपालिका ९ भोटेओडार स्थित भक्ति आदर्श बहुमुखी क्याम्पस, वडा नम्बर ७ सुन्दरबजार स्थित मातृभूमि बहुमुखी क्याम्पस र मध्यनेपाल नगरपालिका ३ सोतीपसलस्थित मंगला क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको हो ।
भक्ति आदर्श क्याम्पसमा नेविसंघका उम्मेदवार सुशील अधिकारी सभापतिमा निर्वाचित भए । मातृभूमि बहुमुखी क्याम्पसमा नेविसंघका विशाल थापाले जित हासिल गरे । लमजुङको सुन्दरबजार स्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस) को स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी भएको छ । यहाँ नेविसंघका असिम वस्ती विजयी भएका हुन् ।
मंगला क्याम्पसमा नेविसंघका रामचन्द्र खनालको सभापतित्वमा प्यानलै सर्वसम्मत भएको थियो । लमजुङ सदरमुकाम बेंसीसहरमा रहेको मस्र्याङ्दी बहुमुखी क्याम्पसमा अनेरास्ववियुको जित भएको छ । नेविसंघका पूर्णबहादुर गुरुङलाई हराउँदै अनेरास्ववियुका मदनकुमार विक निर्वाचित भएका हुन् ।
तनहुँका २ क्याम्पसमा अनेरास्ववियु विजयी हुँदा नेविसंघ र अनेरास्ववियु (क्रन्तिकारी) ले एक/एक वटा अध्यक्ष जितेका छन् । खैरैनीटारको भानुभक्त बहुमुखी क्याम्पस र भीमादको जनज्योति क्याम्पसमा अनेरास्ववियुले जित्दा दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा नेविसंघ र आँबुखैरेनी क्याम्पसमा क्रान्तिकारीले जित हात पारे ।
भानुभक्तमा अनेरास्ववियुको मीनबहादुर थापा र जनज्योतिमा अनेरास्ववियुकै विप्लप भण्डारीले जितेका हुन् । आदिकवि भानुभक्तमा नेविसंघका अनुप आले र आँबुखैरेनीमा अनेरास्ववियु क्रान्तिकारीका निशान मगर चुनिएका छन् ।
बागलुङमा ४ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेविसंघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल छैठौंले एक÷एक स्थानमा अध्यक्ष जितेका छन् । जिल्लाको शान्तिदीप बहुमुखी क्याम्पसमा नेविसंघकी विपना परियार निर्वाचित भइन् ।
धवलागिरि बहुमुखी क्याम्पसको सभापतिमा अखिल संयुक्त प्यानलबाट आस्मीन शेख विजयी भइन् । शेखले नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यलाई परजित गर्दै विजयी भएकी हुन् । गलकोट हटियास्थित गलकोट बहुमुखी क्याम्पसमा माओवादी केन्द्र निकट क्रान्तिकारीका प्रभात साहनी निर्वाचित भएका हुन् । साहनीले नेविसंघ, अनेरास्ववियु र अखिल छैठौंको संयुक्त प्यानलकी रेनुका परियारलाई पराजित गरेका हुन् ।
बागलुङको बरेङ बजार स्थित सर्वोदय क्याम्पसमा छैटौँका मोहराज पौडेल नेतृत्वको प्यानल निर्विरोध निर्वाचित भएको हो । म्याग्दीको २ क्याम्पसमध्ये नेविसंघ र अनेरास्ववियुले एक/एकमा जितेका छन् । म्याग्दी सदरमुकामको म्याग्दी बहुमुखी क्याम्पसमा नेविसंघका संगम चोखाल विजयी बन्दा मंगल शिक्षा क्याम्पसमा अनेरास्ववियुका एल्डिन पुन अध्यक्ष बनेका हुन् ।
गोरखाको गोरखा क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका सुलभ अम्गाईं सभापतिमा विजयी बन्दा द्रव्य शाह क्याम्पसमा नेविसंघका अविन श्रेष्ठको नेतृत्वमा स्ववियु समिति निर्वाचित भएको हो । नवलपुरका २ क्याम्पसमा नेविसंघले सभापति जितेको छ । सूर्यभक्त पतनादेवी मेमोरियल कलेजमा श्यामकुमार बाचे र कालिका संस्कृत विद्यापीठमा अनुप भण्डारी सभापतिमा निर्वाचित भए । मुस्ताङको तेजनिरला क्याम्पसमा अनेरास्ववियुकी अन्जु परियार अध्यक्ष चुनिएकी छन् ।

धनबहादुर गुरुङ
डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।
तपाईको प्रतिक्रिया