पृनामा स्ववियु निर्वाचन

शान्तिपूर्ण, व्यवस्थित तर सारै कम सहभागिता

धनबहादुर गुरुङ २०८१ चैत १० गते ४:३२

पोखरा । पृथ्वीनारायण क्याम्पस (पिएन क्याम्पस) प्राविधिक कारणले चैत ५ गते रोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आईतबार भयो । बिहान ८ बजेदेखि सुरु भएको चुनावमा साँझ ४ बजे सकिँदासम्म कुनै झमेला र विवाद नै भएन । यसको अर्थ, स्ववियु नेतृत्व चयनका १६ वर्षपछि भएको मतदान शान्तिपूर्ण रह्यो ।

Advertisement

आइतबार क्याम्पस गेटमा जम्मा भएका विद्यार्थी नेताहरुको व्यवहार शान्त, शालीन अनि भद्र देखिन्थ्यो । यो देखेर पीएनको स्ववियु निर्वाचनमा झमेला झेलेर नेतृत्वमा पुगेको नेताहरु नै दंग थिए । लामो समय हुन नसकेको पिएनको स्ववियु निर्वाचन हेर्न र पार्टी निकट विद्यार्थी संगठनका नेतालाई जिताउन जम्मा भएका नेताहरु शान्तिपूर्ण रुपमा मतदान प्रक्रिया भएकोमा खुसी पनि थिए ।

पिएनमा २०२७ र २०३६ सालमा अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित एमाले नेता सोमनाथ प्यासी आफ्नो पालामा स्ववियु निर्वाचनका बेला विवाद नहुने अवस्थै नरहेको सुनाउँछन् । अहिले कुनै विवाद नभएको उनको भनाइ छ । ‘हाम्रो पालामा पिटापिट, हात हालाहाल बाटो छेकाछेक हुने परिस्थिति थियो । तर, पनि ती परिस्थितिलाई चिरफार गरेर मतदान गर्ने कुरामा हामीले स्वस्थता कायम गरिन्थ्यो,’ उनले भने, ‘अहिले परिस्थिति धेरै फेरिएको छ । देश नै संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ । यसमा धेरै साथीहरुले एकले अर्कालाई चिनेका बुझेका छन् ।’


आफूहरुको पालामा राजनीतिक पहिचान दिनै गाह्रो अवस्था रहेको उनले सुनाए । ‘त्यो पञ्चायती व्यवस्था, निरंकुशता, राजतन्त्र, दमन सबै थियो । प्रहरीले हामी माथि नै लाठी प्रहार गथ्र्यो,’ उनले भने, ‘हामीलाई पुलिससँग अनि अरु विद्यार्थीसँग पनि लड्नुपर्ने परिस्थिति थियो । उस्तै परे गाउँघरका हाम्रा विरोधीहरुले हामीलाई नै ढुंगामुढा पनि गर्थे ।’ त्यो बेलाको निर्वाचन जित्नु भनेको अहिलेको माननीयले निर्वाचन जितेभन्दा बढि संघर्ष गर्नुपरेको उनले सम्झिए ।

राजनीतिक दल प्रतिबन्धमा हुँदा क्याम्पसमा पढ्ने विद्यार्थीहरू बहुदलीय प्रजातन्त्रको पक्षमा नारा लगाउँथे, विद्यार्थी संगठनहरू पञ्चायतविरुद्ध विद्यार्थीलाई संगठित गरेर आन्दोलन गर्थे । त्यो बेलामा स्ववियुमा निर्वाचन लड्न निकै गाह्रो रहेको नेपाली कांग्रेसका नेता पूर्वमन्त्री यज्ञबहादुर थापाले सम्झिए । ‘हामी चुनाव लड्दा हामी विद्यार्थी संगठन भित्र पनि तनावको अवस्था हुन्थ्यो तर मण्डले र पुलिसको आक्रमण हामीले सहनुपथ्र्यो । त्यो बेला चुनाव तनावपूर्ण नै हुन्थ्यो । भोट गर्ने अनि मतगणना हुने बेलामा कता के हुने हो भन्ने हुन्थ्यो कहिलेकाहिँ मुठभेड पनि भइहाल्थ्यो,’ उनले भने, ‘तर, अहिले तुलनात्मक रुपमा शान्तिपूर्ण मतदान चलेको छ । हारजीत भन्दा पनि प्रजान्त्रिक अभ्यासका रुपमा सबै पक्षले विना कुनै विवाद यो हुनु सुखद कुरा हो ।’ ०३१ सालमा नेविसंघको राजनीतिमा होमिएका उनी ०३६ सालमा विमलेन्द्र निधि नेविसंघको सभापति हुँदा थापा उपसभापति बनेका थिए ।

Advertisement

नेकपा एकीकृत समाजवादीका सचिव श्रीनाथ बराल आफ्नो पालामा प्रजातन्त्रको पक्ष लिदै पञ्चायको विरुद्धमा निर्वाचनमा होमिदा पञ्चायत समर्थक विद्यार्थीसँग झगडा र झडप हुने गरेको सम्झन्छन् । ‘हामी लोकतन्त्र अनि गणतन्त्रका लागि लडेका थियौं । त्यसकारण प्रहरीसँग नै हाम्रो झगडा हुन्थ्यो ।’ पञ्चायती व्यवस्थाको अन्त्यपछि भएका निर्वाचनमा पनि विद्यार्थी संगठन विच नै विवाद भएपनि अहिले निकै शान्तिपूर्ण ढंगबाट मतदान प्रक्रिया अघि बढेको उनले बताए । उनले २०४३ सालको स्ववियु निर्वाचनमा अनेरास्ववियुबाट सदस्य जितेका थिए ।

विवाद कम गर्न पिएनको निर्वाचन समितिले पूर्वतयारी राम्रो गरेको निर्वाचन समिति संयोजक प्राडा. रामचन्द्र पोखरेलले बताए । दोहोर्‍याएर मतदान गर्न जाने प्रवृत्तिको अन्त्यका लागि योपटक प्रविधिको प्रयोग गरिएको उनले सुनाए । ‘हामीले योपटक बारकोडको प्रयोग गरिएको थियो । यसले भर्ना भएको विद्यार्थीको परिचय पत्रका आधारमा सक्कली र नक्कली पत्ता लगाउँछ,’ उनले भने, ‘निर्वाचन प्रक्रियाका क्रममा मोबाइल फोन प्रयोग गर्न दिइएन् । अनि विद्यार्थी संगठनका नेताहरु पनि प्रतिनिधिहरु पनि प्रतिनिधि बाहेक अरु कोही आउनुभएन । विद्यार्थी नेताहरु पनि बडो संयमित हुनुभयो । समग्रमा निर्वाचन शान्तिपूर्ण अनि शिष्टतापूर्वक नै सम्पन्न भयो ।’ मतगणना पनि शान्तिपूर्ण हुनेमा उनी विश्वस्त छन् । मतदान सकिए लगत्तै विद्यार्थीहरु बिच सर्वदलीय बैठक बसेकाले सहमति मै गणना हुने उनले सुनाए ।

चुनाव शान्तिपूर्ण, व्यवस्थित भएपनि मतदान भने निकै कम भएको प्राडा. पोखरेलले बताए । आईतबार भएको मतदान प्रक्रियामा २ हजार ८९७ मत खसेको उनले जानकारी दिए । क्याम्पस प्रमुख हरिप्रसाद पाठकका अनुसार ७ हजार ४ सय ४ जना मतदाता रहेकोमा ३९ दशमलव १२ प्रतिशत मत मात्रै खसेको हो । क्याम्पसमा ९ हजार २ सय ७० जना विद्यार्थी रहेकोमा सबै विद्यार्थीले परिचय पत्र लगेका थिएनन् । सोही कारण पनि निकै कम मत खसेको उनको भनाइ थियो ।

लामो समय स्ववियुको निर्वाचन नहुँदा नयाँ विद्यार्थीहरुले यसको महत्व नुबझ्दा पनि मत कम खसेको प्राडा. पोखरेल सुनाउँछन् । ‘अहिलेको अवस्थामा पनि देशभरमै सबैभन्दा धेरै विद्यार्थीै भएको क्याम्पस पीएन नै हो । जहाँ १६ वर्षसम्म स्ववियु निर्वाचन नै भएन् । यसले विद्यार्थी हकहितमा क्षति त पु¥यायो नै यसले राष्ट्रिय राजनीतिमा पनि ठूलो क्षति ल्यायो,’ उनले भने, ‘अहिले विद्यार्थी नेताहरुलाई मतदाता शिक्षा दिने फुर्सद पनि भएन् । अहिले शान्तिपूर्ण रुपमा निर्वाचन भएको छ र अब २÷२ वर्षमा यसको निरन्तरता हुनुपर्छ ।’

पिएनको स्ववियुको नेतृत्व लिन ८ जना चुनावी मैदानमा छन् । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र रुपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् ।

एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् । समानुपातिकका लागि अध्यक्षको प्यानलका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी (वैद्य) का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् ।

धनबहादुर गुरुङ

डेढ दसकदेखि पत्रकारितामा क्रियाशील गुरुङ समाधान दैनिक र समाधानन्युज डटकमका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया