अमरसिंह माविको वार्षिकोत्सव, मेजर वीरसिंह गुरुङ र जग्गादाता देवराज घिमिरेको प्रतिमा अनावरण

समाधान संवाददाता २०८१ चैत १३ गते ६:१२

पोखरा ।

Advertisement

अमरसिंह माध्यमिक विद्यालयको वार्षिकोत्सव भएको छ । बुधबार विद्यालयले विभिन्न कार्यक्रम गरी अभिभावक दिवस तथा वार्षिकोत्सव मनाएको हो ।

त्यस अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विद्यालयको जग्गा नाप्न लागिएको बताए । अरूले प्रयोग गरिरहेको तथा अतिक्रमण भएको जग्गा फिर्ता ल्याउने तयारी रहेको उनको भनाइ थियो ।


‘२ जना जग्गादाताको नाममा बाटोको नामकरण गरिने प्रक्रिया छ । विद्यालयको जग्गामा ६६ वटा सटर निर्माण गरिनेछ,’ उनले भने, ‘भवन जीर्ण भएकाले पुनः निर्माण आवश्यक छ । दीर्घकालीन योजना सहित अघि बढ्नुपर्छ ।’

शिक्षा विकास समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको शैक्षिक गुणस्तर बढाउन शिक्षक र अभिभावक विशेष ध्यान दिनुपर्ने बताए ।

Advertisement

विद्यालय पठाएर मात्र हुँदैन अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ । ‘अध्यापन तरिकामा परिवर्तन ल्याउनुपर्छ । विद्यालयमा समावेशी शिक्षा लाई महत्वपूर्ण दिएको छ जुन राम्रो काम हो । कोही पनि शिक्षाबाट वञ्चित हुनुहुँदैन,’ आचार्यले भने ।

विद्यालयमा सुस्त श्रवण शक्ति भएका र दृष्टिविहीन ६० जना विद्यार्थी छन् । भवन निर्माणका लागि पोखरा महानगरपालिकाले ३० लाख रुपैयाँ र गण्डकी प्रदेशले १० रूपैयाँ सहयोग गरेको जानकारी दिए ।

पोखरा १२ का वडाध्यक्ष सन्तोष बास्तोलाले व्यावहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याए । ‘विद्यार्थीले किताबी ज्ञान लिएर निस्कनु हुँदैन, सिप पनि सिक्नुपर्छ,’ उनले भने । विद्यार्थी र शिक्षक विचको दूरी घटाउन सकेमा शैक्षिक गुणस्तर उत्कृष्ट राम्रो हुने उनले बताए ।

मौलिक संस्कृतिलाई जोगाउन १२ का विद्यालयहरूमा संस्कार शिक्षाको सुरुआत गरिएको उनले जानकारी दिए । विद्यालयका प्रअ बलराम पोखरेलले शैक्षिक गुणस्तर अझै वृद्धि गर्दै लैजाने विचार व्यक्त गरे ।

यसैबीच मेजर वीरसिंह गुरुङ र जग्गादाता देवराज घिमिरेको प्रतिमा विद्यालय परिसरमा स्थापना गरिएको छ । अमरसिंह माध्यमिक विद्यालयको स्थापना २०१२ मा मेजर वीरसिंह गुरुङको पहलमा भएको थियो । विद्यालय स्थापनाका लागि देवराज घिमिरेले जग्गा प्रदान गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट शिक्षक माधवराज घिमिरे, भीष्म सुवेदी, रामप्रसाद सुवेदी, हरिनाथ पौडेलले, शान्ता सुवेदी, उत्कृष्ट कर्मचारी शरीरमा भुर्तेल, दृष्टिविहीन शाखाबाट बिताउन चौधरीलाई सम्मान गरिएको थियो । दीर्घकालीन सेवा सम्मान गिरीधारी सुवेदी, दुर्गामाया सुवेदी र दीपेन्द्र कार्की प्रदान गरिएको थियो । वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक बलराम पोखरेलले विद्यालयको वार्षिक शैक्षिक प्रतिवेदन, आयव्यय र योजनाका बारेमा जानकारी गराएका थिए । उनले अमरसिंह माध्यमिक विद्यालय समावेशी शैक्षिक संस्थाको उत्कृष्ट नमुनाका रुपमा स्थापित हुन सफल भएको बताए ।

विद्यालयमा दृष्टिविहिन, श्रवण दृष्टिविहिन, प्राविधिक, शिक्षा, मानविकि, विज्ञान, व्यवस्थापन लगायतका शाखाहरुमा ५५ भन्दा बढि जिल्लाका विद्यार्थीहरु अध्ययन गरिरहेको बताउँदै समावेशी शैक्षिक संस्थाको उत्कृष्ट नमुना बनेको प्रष्ट्याए ।

प्रधानाध्यापक पोखरेलका अनुसार हाल विद्यालयमा श्रवण दृष्टिविहिन शाखा समेत सञ्चालनमा रहेको छ । करिब २ सय सात रोपनी जग्गामा फैलिएको यस विद्यालयमा ४ वटा फुटबल मैदान, एउटा बास्केटबल कोर्ट, १५ वटा भवन र एक सय २४ कोठाहरु रहेका छन् । यस विद्यालयमा हाल एक सय ३४ जना शिक्षक कर्मचारीहरु कार्यरत छन् ।

तपाईको प्रतिक्रिया