गण्डकी विश्वविद्यालयको कुलपति छनोटका लागि प्रस्तुतीकरण र अन्तर्वार्ता तालिका सार्वजनिक

पोखरा । गण्डकी विश्वविद्यालयको कुलपति पदका लागि चयन प्रक्रियामा अगाडि बढ्दै, छनोट समितिले प्रस्तुतिकरण र अन्तर्वार्ताको मिति तथा समय तालिका सार्वजनिक गरेको छ। २ समूह बनाएर १९ र २० गते प्रस्तुतीकरण र अन्तर्वार्ता हुने सार्वजनिक गरिएको सूचनामा उल्लेख छ ।
विश्वविद्यालयको कुलपति सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को दफा ९ अनुसार, कुलपति पदका लागि आवेदन दिएका र स्वीकृति पाएका उम्मेदवारहरूले अब प्रस्तुतीकरण र अन्तर्वार्ताका चरणहरू पार गर्नुपर्नेछ।
स्वीकृत उम्मेदवारहरूमा प्राडा इन्द्रप्रसाद तिवारी (पोखरा ३१, कास्की), प्राडा कुसुमाकर न्यौपाने (पैयुँ ६, पर्वत), प्राडा नवराज देवकोटा ( सिरानचोक ४, गोरखा), प्राडा विश्वकल्याण पराजुली (पोखरा १, कास्की) र प्राडा सरोज कोइराला (पोखरा ५, कास्की) छन् ।
प्रस्तुतीकरण कार्यक्रम चैत १९ गते मङ्गलबार बिहान ७:०० बजेबाट सुरु हुनेछ, जसमा क्रमशः इन्द्रप्रसाद तिवारी, कुसुमाकर न्यौपाने र नवराज देवकोटा सहभागी हुनेछन्। उनीहरुको अन्तर्वार्ता त्यहि दिन ४ बजे हुनेछ ।
चैत २० गते बुधबार बिहान ७:०० बजे विश्वकल्याण पराजुली र सरोज कोइरालाले प्रस्तुतीकरण दिनेछन्।
छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र मापदण्डअनुसार सम्पन्न गर्न समितिले सबै तयारी पूरा गरिसकेको जनाएको छ। कुलपति पदका उम्मेदवारहरूले आफ्नो योग्यता, अनुभव र भविष्यको कार्ययोजनाबारे प्रस्तुतीकरण गर्ने अवसर पाउनेछन्। अन्तर्वार्ताको आधारमा समितिले योग्य ३ उम्मेदवार मुख्यमन्त्रीसमक्ष सिफारिस गर्नेछ। तीमध्ये १ जनालाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले १ जनालाई नियुक्तिको निर्णय गर्ने छ ।
गत फागुन ४ मा कुलपति प्राडा गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो । १५ दिनको अवधि राखेर सूचना प्रकासन गरिएकामा ७ जनाको आवेदन परेको थियो । २ जनाको आवेदन अस्वीकृत भएको थियो ।
विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष प्राडा कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा छनोट समिति गठन भएको छ । जसमा प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य यमुना घले सदस्य छन् ।
तपाईको प्रतिक्रिया