नारायणहिटीबाट निस्किएका ज्ञानेन्द्र शाह निर्मल निवासमा समेत बस्न नपाउने दिन आउन सक्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नारायणहिटी दरबार छाडेर निस्किएका पूर्व राजा ज्ञानेन्द्र शाह निर्मल निवासमा पनि बस्न पाउने कि नपाउने भनेर सोच्ने बेला आएको बताएका छन् ।
ठूलो त्याग र मेहनतले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि धावा नबोल्न उनले चेतावनी दिएका हुन् । प्रदेश सभामा मुख्यमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा उठेका सवालको जवाफ दिने क्रममा उनले यो व्यवस्था ल्याउनका लागि लडेका व्यक्तिहरु जिवित रहेसम्म गणतन्त्रको विकल्पका बारेमा सोच्न पनि नसकिने बताए ।
उनले भने, ‘यो व्यवस्था ल्याउनका लागि जुत्ता खियाएकाहरु, पसिना बगाएकाहरु, रगत बगाएकाहरु हामी जिवित तै छौं, हामी जिउँदै रहँदासम्म कसैले राजतन्त्रका बारेमा सोच्छ भने त्यो दिवास्प्न हो, यसको विकल्पका बारेमा सोच्न पनि सकिँदैन ।’ संघीय लोकतान्त्रिक व्यवस्था ल्याउनका लागि लडेकाहरु कहिले काहीँ बाटो बिराउँदा दुख लागे पनि यो व्यवस्था जोगाउने सवालमा सबै एकै ठाउँमा रहेको पनि उनको भनाइ थियो ।
संघीयताको सवलीकरणका लागि हुनेपर्ने थुप्रै कामहरु बाँकी रहेको भन्दै उनले यसका लागि संघ सरकार र राजनीतिक दल र कर्मचारीतन्त्र इमान्दार हुनेपर्ने बताए । केही कमीकमजोरी र असन्तुष्टिका स्वरलाई लिएर संघीयता खारेज गरेर राजतन्त्र ल्याउँछु भनेर २/४ वटा घर जलाएर, गाडी जलाएर भीड जम्मा गरेर मात्र सम्भव नहुने उनको भनाइ थियो ।
तपाईको प्रतिक्रिया