साहित्यकार भण्डारीको निधनमा शोकसभा

समाधान संवाददाता २०८१ चैत २२ गते १६:२३

पोखरा । साहित्यकार मदन भण्डारीको निधनले सिर्जनशील पुस्तालाई अपुरणीय क्षती पुगेको स्मरण पोखरेली वाङ्मयिक वृत्तले गरेको छ ।

Advertisement

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा सातौं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभाका वक्ताले उनको योगदानको यसरी स्मरण गरेका हुन् ।

संस्थाका परिकल्पनाकार तथा संस्थापक महासचिवसमेत रहेका भण्डारीको ७१ वर्षको उमेरमा चैत्र १६ गते निधन भएको थियो ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले भण्डारीको व्यक्तित्वबारे प्रकाश पार्दै नेपाली साहित्य क्षेत्रमा उल्लेख्य योगदान दिएका प्रतिभाका रूपमा चित्रण गरे ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले भण्डारी सबैलाई सत्कर्ममा लाग्न हौस्याउने र राम्रा कामका लागि सबैसँग काँध मिलाएर हिँड्न सक्ने नयाँ–नयाँ विचारका खानी रहेको बताए ।

Advertisement

सिद्धी गौचन स्मृति कोषका संरक्षक विश्वमोहन गौचनले सबै आफ्ना लागि मान, सम्मान, पद र प्रतिष्ठाको दौडमा लाग्दा भण्डारी सर्जक र सेवकलाई अगाडि बढाएर पछाडिबाट प्रेरणा दिने प्रतिभा रहेको स्मरण गरे । उनले भण्डारीको योगदानलाई जीवन्त राख्न संस्थालाई आफ्नो मुखपत्र स्मृतिअंकका रूपमा प्रकाशन गर्नसमेत सुझाव दिए ।

स्वतन्त्र नागरिकको स्वतन्त्र अभियानका संयोजक सविन जिसीले भण्डारी आफ्नै विचारको खरो चिन्तक र जोखिम रूचाउने व्यक्तित्व भएकाले उनीसँग सानिध्यता बढेको धारणा राखे ।

निवृत्त प्राध्यापक मञ्चका अध्यक्ष कृष्णप्रसाद पौडेलले कुशल सर्जक र संगठकसमेत रहेका भण्डारी स्पष्टवक्ता भएकै कारणले गर्दा उनको योगदानको कदर जुनरूपमा हुनुपर्ने त्यो हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका च्याप्टर सदस्य दुर्गाबहादुर शाह बाबाले भण्डारी सदा राष्ट्र र राष्ट्रियताप्रति चिन्तनशील रहने जुझारु प्रतिभा रहेको धारणा राखे ।

निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष छविलाल आचार्यले झण्डै तीस वर्ष अगाडि आचार्य सेवा समाजको कार्यक्रममा वक्ताकारूपमा भण्डारीलाई बोलाएर निरन्तर सहयात्रामा अगाडि बढेको स्मरण गरे ।

मुक्तक मञ्च केन्द्रीय समितिका निवर्तमान अध्यक्ष रामजीप्रसाद आचार्यले भण्डारीसँगको सहयात्राको स्मरण गर्दै उनलाई बहुमुखी प्रतिभाका रूपमा चित्रित गरे ।

हेमजा साहित्य प्रतिष्ठानका निवर्तमान अध्यक्ष बलराम पौडेलले पछिल्लो समय वाङ्मयसेवालाई हतियार बनाउनेहरू माझ उनी कर्म गरेर फल नखोज्ने प्रतिभा रहेको धारणा व्यक्त गरे ।

लोकनृत्य कलाकार संघका संरक्षक ताराबहादुर गुरुङले धेरै प्रतिभासँग आफूले सङ्गत गरेतापनि भण्डारी विशेष क्षमता भएका साधक भएको आफूले पाएको बताए ।

मानवअधिकार पत्रकार संघ हुर्जाका अध्यक्ष असफल गौतमले भण्डारी कवि, उपन्यासकार, राजनीतिक विश्लेषक मात्र नभएर सदा राष्ट्रहित र वाङ्मयसेवामा उत्प्रेरित गरिरहने युवा पुस्ताका पायोनियर नै रहेको धारणा राखे ।
गीताञ्जली साहित्य परिवारका उपाध्यक्ष ढुण्डीराज ज्ञवालीले सदा अरूको चिन्ता गर्ने सरल र क्षमतावान प्रतिभाका रूपमा भण्डारीको स्मरण गरे ।

साहित्यकार विष्णुप्रसाद बास्तोलाले हरेक भेटमा तिमीमा केही क्षमता छ, निरन्तर अगाडि बढ्नुपर्छ भनेर आफूलाई प्रोत्साहन गरिरहेको आजै जस्तो लागेको बताए ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका कार्यवाहक अध्यक्ष प्राडा यमबहादुर पौडेल क्षत्रीले भण्डारीको भौतिक शरीर हामी माझ नभए तापनि उनको व्यक्तित्वकै कारणले यसरी मञ्च खडा भएको र भइरहने धारणा व्यक्त गरे ।
कार्यक्रममा पर्वत साहित्य संगमका सचिव एन पि. घायल, अनेसासका आजीवन सदस्य प्रविन पुन, केशव थापालगायतले भण्डारीको स्मरण गरेका थिए ।

इलाम जन्म थलो भई पोखरालाई कर्म थलो बनाएका भण्डारी निजामतिसेवाबाट निवृत्त जीवन बिताइरहेका थिए । उनका छातिको गाउँ र ललिताको लास उपन्यास, मुखिया दाइको दुखिया गीत व्यङ्व्य कवितासङ्ग्रहलगायत दर्जनौं रचना प्रकाशित छन् ।

तपाईको प्रतिक्रिया