
त्रिवेणी
मैले खाइखेलेको ठाउँ हो रुपाताल । खाइखेलेको यस अर्थमा कि मेरो मावल रुपा हो, दुइटी ठूलीआमाको घर त झन् रुपाताल नजिकै । हामी झौरी भन्छौँ त्यो ठाउँलाई । मैले बालसुलभ जीवन बिताएको त्यो परिवेशमा एउटा समान्य घटना घट्यो जसको सामाजीक असर भने असामान्य खालको देखियो । घटना हो रुखको ठुटोबाट पानी बग्नु, दुर्घटना हो त्यसलाई दैवीशक्ति मानेर पीठ खडा गर्नु । सरकारी स्वामित्वको समाचार संस्था ‘रासस’मा संप्रेषित समाचार अनुसार उक्त स्थानलाई पूर्णमोक्ष जलदेवी नामकरण गरिएको छ । त्यसलाई हरिद्वारसँग तुलना गर्दै धार्मिक क्षेत्र संरक्षण समितिसमेत गठन भएको छ । गाउँपालिका प्रमुखले समेत चासो दिएको उक्त कथित नवतीर्थको विज्ञान के हुनसक्छ ? आउनुस् चर्चा गरौँ ।
समाचारमा उक्त रुखको ठुटो जामुनको हुनसक्ने लेखिएको छ । जामुनको रुख हुनु यहाँनेर काइदाको कुरा हो । जामुनको वैज्ञानिक नाम सिजिएम क्युमिनी हो ।
वार्षिक १००० एम्एम्सम्म बढ्न सक्ने सिजिएम क्युमिनी एक सदावहार आलंकारिक वृक्ष हो भन्ने कुरा नेसनल पार्क बोर्ड नामक वेबसाइटमा उल्लेख छ । यहाँनेर ख्याल गर्नुपर्ने कुरा छ, आलंकारिक वृक्ष अर्थात् अर्नामेन्टल ट्री, किनभने यो समूहका बिरुवालाई लाग्ने एउटा रोग हुन्छ जसलाई ब्याक्टेरिअल वेटबुड डिजिज् भनिन्छ ।
आलंकारिक वृक्षलाई लाग्ने रोगमध्ये वेटवुड एउटा डरलाग्दो रोग हो, जुन संसारभर फैलिएको एक संक्रमण हो ( अलिजादे मेरदाद, ब्याक्टेरियल वेटवुड डिजिज् ) । यो कुराबाट के बुझ्न सकिन्छ भने, जामुनलाई उक्त रोग लाग्ने सम्भावना धेरै हुन्छ । सम्भवतः रुपातालको त्यो जामुनको रुखलाई पनि यही रोग लागेको हुनुपर्छ, जसकारण त्यो रुख मर्यो । अब चर्चा गरौँ वेटवुड रोग लागेको रुखलाई के हुन्छ भन्ने कोणबाट ।

फ्याकल्टेटिभ एनोरोभ नामक ब्याकटेरियल जमिनमा हुन्छन् र तिनलाई रुखको जराले सोस्छ । यसरी ती जीवाणु रुखमा हुने जाइलम भेसल (पानी ओसार्ने तन्तु) हुँदै प्रवेश गर्छन् र मूलतः फेद र हाँगालाई असर गर्न थाल्छन् । फलस्वरुप रुख सुक्दै जान्छ र त्यसमा छिद्र पर्न थाल्छ । र अनौठो तथ्य के छ भने यस्ता जीवाणु खासगरी जलाधार तथा सिमसार क्षेत्रमा पाइन्छन् ।
यी तथ्यलाई हेर्दा रुपातालमा ती जीवाणु भएकाले र जामुनको रुखलाई त्यो रोग लाग्ने प्रवल सम्भावना भएकाले त्यो देवता कहलिएको ठूलो एक रोगी रुखको अवशेष हो भन्ने अनुमान गर्न सकिन्छ । सम्भवतः त्यो रुखलाई यही रोगले लडायो र त्यसको फेद एक सोही रोगका कारण भित्रबाट बाँस झैँ खोक्रो भए । जमिनमुनि निकै लामो समयसम्म रहेका कारण अरु हाँगाबिँगा कुहिए र फेदको मोटोभाग भने रहरिह्यो । तालको ड्याम निर्माण गर्ने क्रममा खन्दा त्यो आन्तरिक रुपमा खोक्रो ठुटो बाहिर निस्क्यो जबबाट जलधारा बग्यो र त्यसले देउता बन्ने सौभाग्य प्राप्त गर्यो ।
उसोभए जलधारा चाहिँ कि बगिरहेछ त त्यो रुखमा ? अब यतातिर मेलो सारौँ है त ?
टिप्पणीकर्ताको अनुमान अनुसार त्यो रुखलाई वेटवुड रोगलागेकाले त्यसको ठुटोको भित्री भागमा छिद्र वा खोक्रोपना बनेको छ । त्यस कारण पनि जलधारा बग्न सम्भव भएको छ । त्यो छिद्रलाई हामीले घरयासी काम गर्दा मोटरमा जोडेर पानी तान्ने पाइपजस्तै भनी बुझ्न सक्छौँ । घरमा बिजुलीबाट मोटर चल्छ र पानी तानिन्छ तर त्यो रुखको ठुटोभित्रको छिद्रमा पानी चढाउन कुनै बिजुली प्रयोग भएको छैन । तर पानी तानिरहेकै छ । देख्दा अनौठो लाग्ने यो कुरा एक सामान्य विज्ञान हो, जसलाई वैज्ञानिक भाषामा क्यापिलरी एक्सन भनिन्छ ।
सर्फेस टेन्सन, कोहेसिभ र एडेसिभजस्ता फोर्स अर्थात् बलका कारण तरल एउटा साँघुरो ट्युब अर्थात् पाइपबाट तल पृथ्वीको केन्द्रतर्फ नभई उल्टो दिशामा बग्नुलाई क्यापिलरी एक्सन भनिन्छ । तसर्थ क्यापिलरी एक्सनका कारण पिँधमा रहेको तरल माथिमाथि आउँछ भन्ने बुझ्नुपर्छ । यसको समान्य उदाहरण हामीले गाउँघरमा बाल्ने गरेको टुकी र हामीले लेख्न प्रयोग गर्ने फुल्टिन हुन् । हामीले मट्टितेल त टुकीको फेदको जारमा खनाउँथ्यौँ तर बत्ती भने दारको टुप्पोमा बल्थ्यो । फेदमा रहेको मट्टितेल टुकी बलेसँगै सकिँदै जान्थ्यो र हामी पुनः मट्टितेल थपेर प्रयोग गर्थ्यौं । यहाँनेर त्यस्तै घटनाक्रम भएको हुनपर्छ । रुपातालको सिमसारलाई टुकी मान्ने हो भने सिमसारको पानी टुकीको पिँधमा भएको मट्टितेल हो र त्यो कथित जलदेवता टुकीको दार । बस् चलराहाहे भन्ने हिन्दी शब्दावली झैँ त्यो जलदेउता नामक दारले इन्धन अर्थात् पानी माथि खिचिरहेको छ, किनकि त्यो ठुटोको भित्र छिद्र छ ।
जलधारा ठूलो देखिएको छ । त्यस कारण क्यापिलरी एक्सनसँगै विज्ञानको अर्को सिद्धान्त पनि त्यहाँ लागु भएको हुनपर्छ, जसलाई बर्नाउलीको सिद्धान्त भनिन्छ । यही सिद्धान्तका आधारमा हामीले देख्ने जहाज उड्न सम्भव भएको हो । जहाजको पखेँटामाथिको हावाको प्रेसर अर्थात् चाप पखेँटामुनिको हावाको चापभन्दा कम हुन्छ । जहाजको पखेँटामुनि बढी चापको हावा र पखेँटामाथि कम चापको हावा हुँदा त्यहाँ चापमा भिन्नता अर्थात् प्रेसर डिफ्रेन्स हुन्छ, जसले लिफ्ट दिन्छ । लिफ्ट अर्थात् माथि उठाउनु । यहाँ हावाको उदाहरण दिएजस्तै तरलमा पनि उस्तै नियम लागु हुन्छ । त्यो जलदेवता सिमसार क्षेत्रमा छ जहाँ जलवाष्पका कारण बतास चलिरहन्छ । बतासका कारण उक्त रुखको ठुटोको टुप्पमा बग्ने हावाको गति बढी छ तर चाप भने कम छ । जबकि रुखभित्रको छिद्रको हावाको गति कम हुन्छ र स्वाभावैले चाप बढी । सोही प्रेसर डिफ्रेन्सका कारण लिफ्टको वातावरण तयार हुन्छ र सिमसारको जमिनमुनिको पानीले लिफ्ट पाउँदा त्यो रुखको ठुटोको टुप्पोसम्म आइपुग्छ र गुरुत्वबलका कारण पुनः जमिनमा खस्छ ।
हामीले घरको ड्रमको पानी बिना मोटर र बिजुली खेतबारीमा लैजाँदा ड्रमभित्र पाइप डुबाएर राख्छौं र पाइपको अर्काे मुखलाई केहीबेरसम्म थुन्छौं । त्यसपछि थुनेको मुख खोल्दा पानी बग्न सुरु हुन्छ । यहाँनेर हामीले पाइपको मुख थुनेका कारण माथि उल्लेख गरेजस्तो प्रेसर डिफ्रेन्सको वातावरण सिर्जना भएको हो, र पानी बिना बिजुली ड्रमबाट पाइपमा उक्लिएर बाहिर बारीसम्म पुगेको हो । रुपातालको घटनामा पनि यही सामान्य विज्ञान लागु भएको हुनुपर्छ । र यही नियमले र हाम्रो आम चेतनाले रुखको ठुटोलाई पूर्णमोक्ष जलदेवीमा रुपान्तरण गर्न सहयोग गरेको हुनुपर्छ ।

रुपातालको सिमसारमा पानी निस्किएको रुखको ठुटोसँगै भक्तालु ।

त्रिवेणी
त्रिवेणी साहित्यकार हुन् । समाधान दैनिकमा शनिबार प्रकाशन हुने बालबालिका लक्षित स्तम्भ तातेतातेका लागि त्रिवेणीले नियमित लेखिरहेका छन् ।
तपाईको प्रतिक्रिया