फिस्टेल एकेडेमीलाई आइबी वल्र्ड स्कुलको मान्यता

पोखरा ।
पोखराको फिस्टेल एकेडेमीले आइबी वल्र्ड स्कुलको मान्यता पाएको छ । ३ वर्षको लगातार मेहनतपछि आइबी वल्र्ड स्कुलको मान्यता पाउन सफल भएको एकेडेमीका संस्थापक प्रिन्सिपल चिनु रानाभाटले बताए ।
फिस्टेल एकेडेमी राजधानी काठमाडौंबाहिर आइबी वल्र्ड स्कुलको मान्यता पाउने पहिलो संस्था बनेको छ । पोखराको संस्थालाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रूपमा स्थापित गर्न पाउँदा गर्व महसुस भएको विद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘फिस्टेल एकेडेमीले अन्तर्राष्ट्रिय स्नातक संगठनबाट अनुमति प्राप्त गरेको छ र यसले आफूलाई आधिकारिक आइबी वल्र्ड स्कुलका रूपमा स्थापित गराउन पाउँदा गर्व महसुस गरेको छ ।’
यस उपलब्धिले विद्यालय र समग्र पोखरालाई नै विश्वव्यापी शैक्षिक केन्द्रका रूपमा परिचित गराएको प्रधानाध्यापक रानाभाट दाबी छ । यसले समुदायसँग सहकार्य गरी, स्थानीय मूल्य, मान्यता संरक्षण गर्दै अन्तर्राष्ट्रिय मापदण्डमा आधारित रहेर विश्वस्तरीय शिक्षा प्रदान उनले बताए ।
विद्यालयका निर्देशक एलिस रानाभाटका अनुसार, विश्वकै उत्कृष्ट मानिएको आइबी संस्थामा आवद्ध भएकाले यस विद्यालयका विद्यार्थीहरूले अब सानै उमेरदेखि नै खोजमा आधारित, विश्वव्यापी मान्यताप्राप्त सबल शिक्षा प्राप्त गर्न सक्ने छन् । उनले भने, ‘यो उपलब्धि हाम्रो विद्यालयका लागि मात्र होइन, समग्र पोखरा उपत्यकाकै लागि गर्वको विषय हो । यस विषय पोखरालाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्र बनाउन र नेपालमा शैक्षिक रूपान्तरणको नेतृत्व गर्न पाउनु हाम्रा लागि एक ऐतिहासिक र साहासिक उपलब्धि भएको छ ।’
आइबी पाठ्यक्रमले जिज्ञासा, सिर्जनात्मकता, आलोचनात्मक सोच र करुणालाई पक्षपोषण गर्दछ भने विद्यार्थीलाई सक्रिय रूपमा जीवनभर सिकिरहने र आफूलाई जिम्मेवार विश्वव्यापी नागरिकका रूपमा स्थापित गर्न सक्ने बनाउँछ । यस उपलब्धिसँगै फिस्टेल एकेडेमी आइबी वल्र्ड स्कुल विश्वका १ सय ६० भन्दा बढी देशमा रहेका ५ हजार ७ सयभन्दा बढी आइबी वल्र्ड स्कुलको सशक्त सञ्जालमा समाहित भएको छ ।
यस अवसरले पोखरा र समग्र गण्डकी प्रदेशमै विद्यार्थीहरूका लागि नयाँ सम्भावनाको ढोका खोलेको विद्यालयले जनाएको छ । उनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा अग्रगामी फड्को मार्न र विश्वसमुदायमा घुलमिल हुन सक्षम बनाउने प्रधानाध्यापक चिनुले बताए ।
पोखरा पर्यटन र संस्कृतिका क्षेत्रमा गतिशील केन्द्रका रूपमा विकसित हुँदै गर्दा यस फिस्टेल एकेडेमी आइबी वल्र्ड स्कुलले नेपालको शैक्षिक अवस्थामै समावेशी, विश्वव्यापी र सुनौलो भविष्यका लागि सकारात्मक परिवर्तन ल्याउने काममा नेतृत्वसमेत गर्न पाएकामा उत्साहित भएको रानाभाटको भनाइ छ ।
अन्तर्राष्ट्रिय स्नातक (आइबी) एक अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था हो । जसले विद्यार्थीको बौद्धिक, सामाजिक, भावनात्मक र नैतिक विकासमा सन्तुलन ल्याउने उद्देश्यले तयार पारिएको पाठ्यक्रम सञ्चालन गर्छ । यसको मुख्यालय स्वीट्जरल्यान्डको जेनेभामा भने कार्यान्वयन कार्यालयहरू विश्वका विभिन्न क्षेत्रहरूमा फैलिएका छन् । आइबीले ४ वटा फरक उमेर समूहका लागि पाठ्यक्रमहसञ्चालन गर्छ ।
कुनै पनि विद्यालयले आइबी वल्र्ड स्कुल बन्नका लागि लामो प्रक्रिया पूरा गर्नुपर्छ । जसमा आवेदन, शिक्षक प्रशिक्षण, पाठ्यक्रमको तयारी, मूल्यांकन भ्रमणपछि मात्र स्वीकृति प्राप्त हुन्छ । एकपटक स्वीकृत भएपछि, विद्यालयले अन्तर्राष्ट्रिय मापदण्डक अनुसार शिक्षा प्रदान गर्न पाउने अधिकार पाउँछ । यसको समय समयमा पुनर्मूल्यांकन गरिन्छ ।
तपाईको प्रतिक्रिया