नैतिक शिक्षा कमजोर भएको अर्थमन्त्रीको चिन्ता

पोखरा ।
सिटीवान टेलिभिजनले नयाँवर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेको छ । पोखराको नयाँबजार स्थित कार्यालय परिसरमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान समारोहमा क्यालेन्डर सार्वजनिक गरिएको हो । क्यालेन्डर गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले सार्वजनिक गरेका थिए ।
क्यालेन्डर सार्वजनिक कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका गुरुङले देशमा नैतिक शिक्षा, धार्मिक भावना विस्तारै कमजोर बन्दै गएकोमा चिन्ता व्यक्त गरे । पछिल्लो समयमा देशको राजनीतिमा समेत केही कमजोरी भएको उनले औँल्याए । केही वर्ष अगाडिसम्म जन्मभूमि प्रतिको माया, गाउँ प्रतिको माया अगाध हुने गरेको भएपनि अहिले त्यसमा परिवर्तन आएको उनले उल्लेख गरे । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले राज्य भनेको सरकार मात्र नभएर आम नागरिक हो भन्ने भाव सबैले बुझ्नुपर्ने बताए ।
नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति तथा पूर्वमन्त्री मेखलाल श्रेष्ठले किसानहरू हतोत्साही नहुने गरेर सरकारले काम गर्नुपर्ने बताए । सिटीवान टेलिभिजनका अध्यक्ष पवनकुमार प्रजापतिले गण्डकी प्रदेशमा भएका गतिविधि, विचार, संस्कृती, खेलकुद, स्वास्थ्य लगायतका विषयलाई मिडिया मार्फत उजागर गर्ने उद्देश्यले टेलिभिजनको स्थापना गरिएको बताए ।
कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङ, पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष बलराम आचार्य, होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष उमराज बाँस्तोला, टेलिभिजनका कोषाध्यक्ष विनोद भुजेल लगायतले कार्यक्रममा बोलेका थिए । कार्यक्रम सञ्चालन सिटी वान टेलिभिजनका प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया