
लन्डन ।
अमेरिका प्रतिभाशाली आप्रवासीहरूका लागि अवसरको भूमिका रूपमा चिनिन्छ । तर राष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिभाको भूमि भन्ने अमेरिकी छवि कमजोर पार्ने अभियानमै लागेको देखिन्छन् । पछिल्ला केही साता अमेरिकी आप्रवासन एजेन्सीले वैध भिसा भएका विदेशी स्नातक विद्यार्थीहरू, प्राध्यापकहरू, इन्जिनियरहरू र डाक्टरहरूलाई पनि पक्रिएको छ । संघीय सरकारले शैक्षिक अनुसन्धानमा दिइने अनुदान घटाएको छ । अमेरिकी प्रविधि कम्पनीहरूले आफ्ना आप्रवासी कर्मचारीहरूलाई देश छाड्न नदिने चेतावनी दिएका छन् । नत्र फर्किन रोक लगाइन सक्छ । ट्रम्प प्रशासनले प्रतिभा धपाउने काम गरिरहेको छ । अनि अरू देशहरूले ती प्रतिभाहरूलाई तान्ने योजना बनाइरहेका छन् । हाम्रो विश्लेषणले देखाउँछ—अमेरिकाबाट हुने प्रतिभाको पलायनबाट सबैभन्दा बढी लाभ कुन देशहरूले उठाउनेछन् ।
यी तथ्यांकहरू हाम्रो ‘फुटलुज इन्डेक्स’बाट लिइएका हुन्, जसले १३५ देश र क्षेत्रहरूलाई विदेशी प्रतिभाका लागि कति आकर्षक छन् भनेर क्रमांकन गर्छ । यो इन्डेक्सको आधार प्रश्न होः ‘स्नातकहरूले आफूले चाहेअनुसार जुनसुकै देशमा बस्न सक्ने स्वतन्त्रता पाए, तिनको संख्यामा ती देशमा कति वृद्धि वा घटोत्तरी हुन्थ्यो?’ यसको उत्तर पत्ता लगाउन हामीले ग्यालप नामक सर्वेक्षण संस्थाको तथ्यांक विश्लेषण गरेका छौँ, जसले हरेक वर्ष १४० भन्दा बढी देश र क्षेत्रहरूमा १ लाख ५० हजार मानिसहरूसँग सोधपुछ गर्छ । सर्वेक्षणमा मानिसहरूलाई सोधिन्छः ‘के तिमी विदेश बस्न चाहन्छौ ? हो भने, कहाँ ?’ हामीले प्रतिभाको संकेतका रूपमा स्नातक पूरा गरेका व्यक्तिहरूलाई लिएका छौँ ।
सन् २०२२–२४ को समग्र क्रमांकनमा क्यानडा फेरि एक नम्बरमा आयो । यदि बसाइ सर्नमा कुनै अवरोध नहुने हो भने, क्यानडाले १ करोड ३० लाख प्रतिभाशाली मानिसहरू थप पाउनेछ, जसले त्यहाँको स्नातक जनसंख्यामा १५० प्रतिशत बृद्धि ल्याउनेछ । दोस्रो स्थानमा अस्ट्रेलिया र तेस्रो स्थानमा अमेरिका पर्न आए । हाम्रो अनुमान अनुसार, अमेरिका प्रवेश र प्रस्थान दुवैलाई समेटेर हेर्दा, मानिसहरू स्वतन्त्र रूपमा बसाइँ सर्न सक्ने भए अमेरिकी स्नातक जनसंख्या ५० लाखले—अर्थात् करिब ७ प्रतिशतले—बढ्ने थियो ।
यो तथ्यांक सन् २०२४ मा गरिएको सर्वेक्षणमा आधारित छ, जुन ट्रम्प दोस्रो कार्यकालमा फर्किनु अघि भएको थियो । त्यसैले उनको दोस्रो कार्यकालले अमेरिकाको आकर्षणमा कस्तो असर पार्छ भन्ने कुरा अझै मापन गर्न सकिएको छैन । तर, यदि अमेरिकीहरू विदेश जान थाले भने, उनीहरू कहाँ जान चाहन्छन् भन्ने अनुमान भने गर्न सकिन्छ ।
सन् २०२२–२४ मा अमेरिकामा बसोबास गरिरहेका १८ प्रतिशत स्नातकहरूले विदेश बस्न चाहेको बताएका छन्, जुन हाम्रो इन्डेक्सको शीर्ष पाँच देशहरूमध्ये सबैभन्दा धेरै हो । बेलायत र क्यानडा ती प्रतिभाहरूको लागि सबैभन्दा आकर्षक गन्तव्य हुन् । हाम्रो अनुमान अनुसार, १२ लाख अमेरिकी स्नातकहरू बेलायत जान चाहन्छन् भने ११ लाख क्यानडातिर लाग्न इच्छुक छन् । अन्य अंग्रेजीभाषी देशहरू जस्तै न्युजिल्यान्ड र अस्ट्रेलियाले पनि थुप्रै अमेरिकी प्रतिभा तान्न सक्छन् । यस्तै धनी युरोपेली देशहरू जस्तै जर्मनी, स्विजरल्यान्ड र नर्वेले पनि फाइदा उठाउने सम्भावना छ । अमेरिकाका थुप्रै स्नातकहरू इटाली, फ्रान्स र स्पेनजस्ता भूमध्यसागरीय देशहरूतर्फ पनि आकर्षित छन् ।
थप स्नातकहरू अमेरिकाबाट बाहिरिन चाहन्छन् भने, कम विदेशीहरू अमेरिकातर्फ आकर्षित हुन सक्छन् । सन् २०१० मा ग्यालपको सर्वेक्षण सुरु भएदेखि नै अमेरिका विदेशी प्रतिभाहरूका लागि सबैभन्दा प्रिय गन्तव्य रहँदै आएको छ । तर २०२२–२४ मा हाम्रो गणनाअनुसार २ करोड शिक्षित मानिसहरू अमेरिकामा बस्न चाहन्थे, जबकि १ करोड ४० लाखले क्यानडा रोजेका थिए । क्यानडाको जनसंख्या अमेरिका भन्दा धेरै कम भए पनि रोजाइ त्यस्तो थियो । तर ट्रम्पको विदेशीसँगको विरोधी नीति यिनै प्राथमिकतामा फेरबदल ल्याउन सक्छ ।
गत केही वर्षहरूमा अमेरिकामा बस्न चाहने अधिकांश सम्भावित आप्रवासीहरू चीन, भारत, मेक्सिको र ब्राजिलबाट थिए । तर अमेरिका अब आकर्षक रहन छाड्यो भने, ती मानिसहरू कहाँ जानेछन् ? हामीसँग प्रत्येक उत्तरदाताको दोस्रो रोजाइ के हो भन्ने जानकारी छैन । तर उनीहरूको देशका अन्य मानिसहरूले अमेरिका बाहेक कुन देश रोजे भन्ने थाहा छ र यही आधारमा अनुमान गर्न सकिन्छ ।
अमेरिका पहिलो रोजाइ नरहेका प्रतिभाशाली चिनियाँ र भारतीयहरूका लागि अस्ट्रेलिया र त्यसपछि क्यानडा सबैभन्दा मन पर्ने गन्तव्य हुन् । मेक्सिकनहरूको लागि क्यानडा र स्पेन; ब्राजिलीहरूको लागि पोर्चुगल र इटाली प्रमुख विकल्प हुन् । समग्रमा, यदि अमेरिकालाई पहिलो रोजाइमा राख्नेहरूले त्यसको सट्टा अन्य देश रोजे भने र उनीहरूले आफ्ना देशका अन्य सर्न चाहनेहरूको जस्तै प्राथमिकता राखे भने अस्ट्रेलिया, जर्मनी, स्विजरल्यान्ड र जापान शीर्ष पाँच वैकल्पिक गन्तव्यहरू हुनेछन् । सबैभन्दा धेरै लाभ भने क्यानडाले नै उठाउनेछ ।

द इकोनोमिस्ट
द इकोनोमिस्ट बेलायतबाट प्रकाशन हुने अर्थ राजनीतिक पत्रिका हो ।
तपाईको प्रतिक्रिया