प्रतिभा पलायन र समाधान

नयाँ नयाँ कुराको कल्पना गर्न सक्ने, जुझारु, प्रगतिशील, कलात्मक, मौलिक, शिक्षित, प्रतिभाशाली तथा रचनात्मक खुबी भएका व्यक्तिहरू आफ्नो मातृभूमी छाडेर रोजगारी र अवसरको खोजीमा विदेश पलायन हुने प्रक्रियालाई प्रतिभा पलायन भनिन्छ । वर्तमान समयमा दैनिक रुपमा विदेशिनेको संख्या लगभग २ हजारको हाराहारीमा रहेको पाइन्छ । हाल आएर
नेपालमा प्रतिभा पलायन एउटा गम्भीर समस्याका रुपमा देखा परेको छ ।
प्रतिभा पलायनका मुख्य कारणमा आर्थिक, राजनीतिक र सामाजिक छन् । नेपालमा रोजगारीका अवसरको कमीका साथसाथै सरकारी कर्मचारीको पनि ज्यादै न्युन तलब जसले गर्दा परिवार पाल्न नसक्ने अवस्था रहेको छ । आर्थिक अस्थिरताका कारण धेरै युवा विदेशिन बाध्य छन् । अर्कोतर्फ अस्थिरता, भ्रष्टाचार र सुशासनको कमीले गर्दा मानिसहरू देश छोड्न चाहेको कुरा प्रष्टसँग बुझिन्छ । यसका साथसाथै समाजमा जातीय भेदभाव, लैँगिक असमानता तथा सामाजिक असुरक्षा, हत्या, हिंसा, बलत्कार जस्ता घटना बढ्दै गएका कारण पनि मानिसहरू विदेश पलायन भएको पाइन्छ ।
नेपालमा गुणस्तरीय शिक्षा र आवश्यक अनुसन्धानका लागि पर्याप्त अवसरहरू नभएकाले धेरै विधार्थी विदेशिन बाध्य भएका छन् । देशमा नयाँ उद्मोग व्यवसायको विकास हुन सकेको छैन । भएका उद्मोगहरू पनि भटाभट बन्द हुँदै गएका छन् । यहाँ उद्मोग तथा व्यावसायमा लगानीको कमी देखिन्छ । जसले गर्दा बेरोजगारी समस्या बढिरहेको पाइन्छ । शिक्षा र रोजगारीकै खोजीमा नेपालबाट युवा विदेशिने क्रम बढिरहेको छ । नेपालमा प्रतिभा पलायनको अवस्था गम्भीर बन्दै गएको पाइन्छ । प्रत्यक वर्ष हजारौँ युवा रोजगारी, उच्च शिक्षा र राम्रो जीवनको खोजीमा विदेश गइरहेका छन् । यसले देशको विकास र देशको भविष्यमाथि नकरात्मक असर पार्ने संकेत प्रष्ट देखिन्छ ।
प्रतिभा पलायन जस्तोसमस्या समाधानका लागि सरकारले विभिन्न उपाय अपनाउनु आवश्यक छ । यसबारे सरकार, नागरिक समाज, निजी क्षेत्र, बुद्धिजीवी, सरोकारवाला पक्ष तथा युवा स्वयम् सचेत हुनुपर्ने देखिन्छ । सरकारले युवा लक्षित कार्यक्रम सिर्जना गर्नु पर्छ । देशमा राजनीतिक स्थिरता कायम गरी लगनी मैत्री वातावरण बनाउन सक्नु पर्छ । शिक्षा प्रणालीलाई समयसापेक्ष बनाई भूगोल अनुसारको गुणस्तरीय तथा व्यवसायिक शिक्षा प्रदान गर्न सक्नु पर्छ । भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु पर्छ । कर्मचारीको तलव, सेवा तथा सुविधामा वृद्धि गर्नु पर्छ ।
प्रतिभावान युवालाई नेपालमै सम्भावना देखाउन सकियो भने मात्र प्रतिभा पलायन रोक्न सकिन्छ
सरकारले स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने खालको नीति ल्याउन आवश्यक छ । प्रतिभालाई प्रोत्साहान गर्न युवालाई शैक्षिक ऋणको व्यवस्था, छात्रवृत्ति, पुरस्कार र अनुदानतर्फ सरकारको ध्यान जानुपर्ने देखिन्छ । श्रमिकलाई उचित पारिश्रमिक, सामाजिक सुरक्षा कोषको व्यवस्था, तलवमा वृद्धि तथा समान अवसर प्रदान गर्ने नीति नियम बनाउनु आवश्यक छ । युवा शक्तिलाई आआफ्नो विषय क्षेत्रसँग सम्बन्धित अनुसन्धानमा लगाउन सक्नु पर्दछ । अनुसन्धानबाट नै सत्य, तथ्य बाहिर निस्कन्छ र सम्बन्धित क्षेत्रमा भएका कमी कमजोरी पहिचान भई समाधानका उपाय पत्ता लगाउन सजिलो हुन्छ ।
विकसित देशहरूले हाम्रा प्रतिभालाई छात्रवृत्ति दिएर लैजाने र आफ्नो देशमा अनुसन्धानमा लगाएको पइन्छ । नेपाल सरकारले यसतर्फ ध्यान केन्द्रित गरी कृषिमा आधुनिकिकरण, प्राविधिक तथा व्यावसाकि शिक्षामा जोड, आफूले ल्याएका योजना तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन र त्यसबारे अनुगमन तथा मूल्याङ्कनमा जोड दिनु अत्यन्तै आवश्यक देखिन्छ । यसरी प्रतिभावान युवालाई नेपालमै सम्भावना देखाउन सकियो भने मात्र बर्सेनी भइरहेको प्रतिभा पलायनलाई रोक्न सकिन्छ ।
यदि देशमा आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक, साँस्कृतिक, समृद्धि चाहने हो भने जुझारु युवा देशमै बस्नु पर्छ र रोजगारीका अवसर नभए पनि सिर्जना गर्ने क्षमता बोकेका युवा अघि बढ्नु पर्छ । किन नेपालमा भएका शिक्षित र दक्ष व्यक्ति नै विदेश गइरहेका छन् ? यो तीव्र रुपमा बढिरहेको प्रतिभा पलायनलाई रोकी नेपालमै अवसर देखाउन के गर्नु पर्छ ।
यसको दीर्धकालिन असर कस्तो पर्छ भन्नेबारे राष्ट्रिय स्तरबाट अनुसन्धान हुनु आवश्यक छ । युवाले सिकेका सीप तथा दक्षतालाई जीवनका समस्यासँग जुध्न प्रयोग गर्नु पर्छ । यहाँ भइरहेको अन्धकारप्रति आँखा चिम्लेर बाहिरी उज्यालोको खोजीमा लाग्नु हुँदैन ।
नेपालको सञ्जीवनी विश्वका अस्पतालहरुमा पुर्याउनु छ । कलकल बग्ने झरनाको पानीले संसारका मानिसको घाँटी भिजाउनु छ । याहाँका नदीनालाबाट बिजुली निकाली संसार उज्यालो बनाउनु छ । विश्वभरका मानिसलाई मुस्ताङ र जुम्लाको स्याउ चखाउनु छ । यहाँको मौलिक कला, सँस्कृति उत्थान गर्दै विश्वमाझ चिनाउनु छ ।
तपाईको प्रतिक्रिया