महानगरमा करार कर्मचारी विवाद ‘चर्कियो’

समाधान संवाददाता २०८२ वैशाख २ गते २१:५६

पोखरा । पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद चर्किएको छ । नगरसभाले करारमुक्त गर्ने निर्णयसँगै स्वास्थ्य महाशाखाका ६१ जनालाई हटाइएको थियो । तीमध्ये ५८ जना आफूहरु माथि अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेका थिए । तीन जनाले रिट निवेदन फिर्ता लिएका थिए । अहिले ती ३ जनालाई महानगरले पुन करारमा नियुक्त गरेपछि आन्दोलन चर्किएको हो ।

Advertisement

मंगलबार उनीहरुले पुन आफूहरुलाई हाजिर गराउन र नियुक्त भएका ती ३ को नियुक्त बदर माग गर्दै स्वास्थ्य महाशाखामा तालाबन्दी नै गरे । तर, तालाबन्दी २ घन्टामा ताल्चा खुलेको थियो । मेयर धनराज आचार्यले आफू माग सम्बोधन गर्न तयार भएको पत्र पठाएपछि ताला खोलिएको संघर्ष समितिकी संयोजक अनिता गिरीले बताइन् । यद्यपि उनले मेयर आचार्यले पठाएको पत्रको व्यहोराबारे खुलाइनन् । आन्दोलित उनीहरुले अदालतको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनसहित ९ माग राखेका छन् ।

सेवा करारका स्वास्थ्यकर्मी कर्मचारीको कानुनी हक ग्यारेन्टी गर्न, स्वास्थ्य महाशाखालाई स्वास्थ्यकर्मीविहीन नबनाउन, अदालतको आदेश कार्यान्वयन गर्न, स्वास्थ्यका मौलिक हक कार्यान्वयन गर्न, ‘शुभलाभ’ को आधारमा बिना प्रतिस्पर्धा नियुक्त गरिएका ३ कर्मचारीको नियुक्ति बदर गर्न, निष्कासित स्वास्थ्यकर्मीलाई पुनः बहाली गर्न, महानगरपालिकामा संस्थागत सुशासन र विधिको शासन कायम गर्न, संगठन तथा व्यवस्थापन कार्यान्वयन गर्न, करारको विकल्पमा नयाँ करार भर्नाको काम नगर्न आन्दोलनरत कर्मचारीले माग गरेका छन् ।

महानगरपालिकाले स्वास्थ्य सेवा अन्तर्गत करारमाका कर्मचारीलाई गत पुसदेखि हटाउने निर्णय गरेको थियो । त्यसपछि पुस महिनादेखि ती कर्मचारीको सेवाबाट हटाउने निर्णय लिइएको थियो । निर्णय विरुद्ध कर्मचारीले माघ १ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो निवेदनमाथि सुनुवाइ गर्दै अदालतले माघ १ गते नै ‘कर्मचारीलाई यथास्थितिमा राख्न’ भन्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले मंसिर २८ गते विशेष नगरसभाले गरेको निर्णयलाई यथास्थितिमा राख्न भनेको थियो । त्यसका बाबजुद, महानगरले ती आदेशको पालना नगरेको उनीहरुको आरोप छ ।

तर अदालतको आदेश अनुरुप महानगरले कर्मचारीलाई कार्यालयमा हाजिर हुन दिएन । सोही कारण उनीहरुले आन्दोलनलाई अझ चर्काउँदै धर्नाबाट तालाबन्दीसम्मको बाटो रोजेका हुन् । संयोजक गिरीले आफूहरुको शान्तिपूर्ण आन्दोलन गर्न खोज्दा महानगरले बेवास्था गरेको आरोप लगाइन् । माघ २६ गतेदेखि निरन्तर धर्नामा रहेका करार कर्मचारीले नियमित रूपमा महानगरपालिका परिसरमा उपस्थित हुँदै आन्दोलन गर्दै आएका थिए ।
यद्यपि, मंगलबारको महाशाखामै तालाबन्दीमा गरेका हुन् । उनले अदालतको आदेश कार्यान्वयन नभएको भन्दै अपहेलनासमेत मुद्दा दर्ता गरेका छन् । आन्दोलनरत पक्षले अदालतको आदेश अनुसार आफूहरुलाई पुनः कार्यालयमा हाजिर हुन दिनुपर्ने माग गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया