लमजुङमा गुञ्जियो ‘ब्याक टु नाइन्टिज’

पोखरा । सांगीतिक विरासत फर्काउन पोखराबाट सुरु भएको ‘ब्याक टु नाइन्टिज’ कार्यक्रम लमजुङको वेंसीसहरमा गुञ्जिएको छ । पोखराको सफलतापछि देशव्यापी अभियान सुरु गरेको ‘ब्याक टु नाइन्टिज’को तेस्रो कार्यक्रम वेंसीसहरमा सोमबार साँझ आयोजना गरेको हो ।
वेशीसहर युथ सोसाइटी सेरा लमजुङले रक्त अभावको समस्याको स्थायी समाधान खोज्नका लागि ब्लड डोनर्स एप्स निर्माणार्थ ‘हाम्रो संगीत हाम्रो अभियान, रत्तदाताको पहिचान’ भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा ६ राष्ट्रिय ब्यान्ड एउटै स्टेजमा गुञ्जिए । ९० को दशकमा उदाएर राष्ट्रिय÷अन्र्तराष्ट्रिय ख्याति कमाएका डि–मर्चा, लेकाली, देउराली, ब्रोसिस, मध्याह्न र भेगाबोन्ड ब्यान्ड यसमा सहभागी छन् ।
सांगीतिक उत्सवमा कार्यक्रम सञ्चालक मनकुमार श्रेष्ठले ब्यान्डहरुको नाम लिँदै नै समर्थनमा हुटिङ भएको थियो । डि–मर्चाले ‘शिवजीको बस्ती छ’ गाउँदा होस् वा ‘झ्याम्म झ्याम्म’ गाउँदा दर्शक कम्मर मर्काइमर्काइ नाचे । अन्तिममा प्रस्तुति दिएको डिमर्चालाई थप गीत गाउन हुटिङ आईरह्यो ।
त्यसअघि लेकाली ब्यान्डले ‘यो मुटुमा’, ‘पहिलो नजर ’लगायतका हिट हिट प्रस्तुत गरेको थियो । गायक कर्णदासको मध्याह्न ब्यान्डले सोँच्दासोंच्दै होस् वा ‘मनमनै मनपराई सकेछु’ ‘जिन्दगीको के भरोसा’ लगायतका चर्चित गीतहरु गाउँदा दर्शक नोस्टाल्जिक बने ।
ब्रोसिस ब्यान्डले ‘चाइना कम्पनी’, देउराली ब्यान्डले ‘ढुंगेसाँघुको मेलामा’ र भेगाबोन्ड ब्यान्डले ‘जीवन हो घामछायाँ’ लगायतका चर्चित गाउँदा लयमा लय र तालमा ताल नमिसाउने विरलै देखिन्थे । आफूहरुको उद्देश्य अनुसार नै युवा, अधवैंशे र बा पुस्तालाई सांगीतिक उत्सवमा समेट्ने प्रयाससफल भएको कार्यक्रम संयोजक मनकुमार श्रेष्ठले बताए ।
उनले भने, ‘जहाँ दर्शकले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्दै मनोरञ्जन लेओस् । नयाँ पुस्ताले बा पुस्ताको गीत सुनेर त्यो समय बुझोस् भन्ने हो, त्यसमा हामी सफल भएका छौं ।’
‘ब्याक टु नाइन्टिज’को आगामी अभियान विराटनगर, भक्तपुर र चितवनमा हुने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । कार्यक्रममार्फत संघले सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्यान्डहरुको पुर्नजागरण गर्ने र नयाँ पुस्तालाई संगीतमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिँदै पर्यटनको राजधानी पोखरालाई रिब्राण्डिङ गर्ने लक्ष्य लिएको छ । अभियानमा पोखरा महानगरपालिका प्रवद्र्धक छ ।
तपाईको प्रतिक्रिया