नेतृत्वमा ज्ञानी, बिरुवामा पानी

विजयकुमार पौडेल २०८२ वैशाख ३ गते ११:२३

विद्यार्थीलाई अघि लगाएर आफू पछाडि हिँड्दा, एक शिक्षकले आफ्ना विद्यार्थीहरूलाई के नेतृत्व गर्न सक्छ र? विद्यार्थीलाई पछिल्लो पङ्क्तिमा राखेर आफू अगाडि हिँड्दा एक शिक्षकले आफूभन्दा पछाडि रहेका विद्यार्थीको साँच्चैको मनोभावना बुझ्न सक्छ र? विद्यार्थीसँगै हातेमालो गरेर, बालमनोभावना बुझेर जुन उस्तै उमेर पार गरेर अनुभवको सिँढी चढेका शिक्षकहरूको लागि नितान्त नौलो अभ्यास भने हैन, उनीहरूसँगै खेलेर, शिक्षण–सिकाइको प्रक्रियालाई बढाउँदा नै असल तथा सबल नेतृत्व हुँदैन र?

Advertisement


शिक्षक पत्रिकामा लेखिएको थियो, ‘शिक्षक त्यो हो, जसले हरेक बालबालिकालाई राम्ररी पढ्छ, बुझ्छ । अनि उसको प्रतिभा, क्षमता र सम्भावनाहरू उजागर गर्ने अवसरको निर्माण गर्न सतत प्रयत्नशील हुन्छ । सफल नभएसम्म प्रयत्न जारी राख्दछ ।’ बालबालिकामा अन्तर्निहित प्रतिभा, क्षमता र सम्भावनाहरू उजागर गर्न सक्ने महान शक्ति अवश्य नै एक शिक्षकमा रहन्छ ।

पक्कै पनि बालबालिकाहरूका यिनै गुण, उनीहरूलाई नै परिचित गराउनका लागि एक शिक्षकले आफ्ना विद्यार्थीलाई राम्ररी पढ्नै पर्ने रहेछ । राम्ररी बुझ्नै पर्ने रहेछ । जहिलेसम्म यो अवसरलाई प्राप्त गर्न सकिँदैन, प्रयत्न जारी नै गर्न पर्ने रहेछ । वास्तवमा यो नै शिक्षण–सिकाइको आत्मा रहेछ । कतै हामीले त केवल भौतिक शरीररूपी पुस्तक, तिनका पृष्ठहरू र तिनका अभ्यासहरू प्रतिस्पर्धात्मक रूपमा प्रस्तुत गरी, तिनका कुरा घोक्न मात्र लगाएका त छैनौँ? तिनको वास्तविक, मार्मिक र नैतिक अर्थको व्यावहारिक पक्षलाई उपेक्षा गरिरहेका त छैनौँ? पुस्तकलाई साधन मात्र मानिरहँदा वास्तविक साध्यलाई त बिर्सिरहेका त छैनौँ?
धेरै पहिले सुनेको थिएँ, कुनै एक पटक सन्त महात्माले एउटा ब्याधाले सुगाहरूलाई जालमा पारेको थाहा पाएछन् ।

अबोध पन्छीको मायाले द्रविभूत भएका सन्तले अरू सुगाहरुलाई राम्ररी पढाएछन्, ‘ब्याधा आउँछ, दाना फाल्छ, जाल विच्याउँछ, तिमीहरू त्यो जालमा नफस्नु है ।’ अर्को दिन ब्याधाको जालमा फसिसकेका सुगाहरू दाना टिप्दै भन्दै थिए, ‘ब्याधा आउँछ, दाना फाल्छ, जाल विच्याउँछ, तिमीहरू त्यो जालमा नफस्नु है ।’ कतै हाम्रो शिक्षण–सिकाइ यस्तै घोकन्ते विद्यामा मात्रै सीमित त भएको छैन?

त्यस्तो कुनै मानव पनि भेटिँदैन, जसको बुद्धि यति कमजोर होस् कि जसलाई सुधार्न सकिँदैन

Advertisement


हातैका औँलाहरू समान नभएझैँ अवश्य नै एउटा कक्षामा समान क्षमता भएका विद्यार्थीहरू त हुँदैहुँदैनन् । कोही चाँडै सिक्ने हुन्छन् त कोही ढिलो सिक्ने हुन्छन् । हामी शिक्षकहरू कतै पाठ्यक्रमले निर्दिष्ट गरेको पाठ्यभार पाठ्यपुस्तकका माध्यमबाट पढाउनका लागि र प्रत्येक त्रैमासिक परीक्षा लगायत वार्षिक परीक्षासम्म बाध्य भएर पाठ्यभार सिध्याउनका लागि यति प्रयत्नशील हुन्छौँ कि केही चाँडै सिक्ने विद्यार्थीहरू जसले हाम्रो रफ्तार लिन सके, उनीहरूको पढाइ देखेर, उनीहरूले प्राप्त गरेको अङ्क देखेर मख्ख पर्छौँ । ढिलो सिक्ने विद्यार्थीहरू पछि पर्दै जान्छन् किनकि उनीहरूले हाम्रो रफ्तारलाई लिन सक्दैनन् । अङ्कगणितीय मूल्याङ्कनमा केही विद्यार्थीहरू अब्बल देखिए, धेरै विद्यार्थीहरू कमजोर देखिए । यिनको केवल उमेर बढ्दै गयो, ठूलो कक्षाको पढाइ बुझ्ने क्षमता घट्दै गयो ।


विद्यार्थीहरूको कमजोर नतिजा आउँदा, अभिभावकहरूको विद्यालयप्रतिको निराशाको गुनासाहरू आउँदा बालविकास तह तथा प्राथमिक तहमा पढाउने शिक्षकहरू भन्नुहुन्छ, ‘सानोमा त राम्रो अंक लिएर आउँथे, राम्रा विद्यार्थी थिए तर ठूलो कक्षामा गएपछि किन हो कमजोर भएछन् ।’ अनि ठूलो कक्षामा पढाउने शिक्षकहरू भन्नुहुन्छ, ‘सानो कक्षामा राम्रो पढाइ भए पो माथिल्लो कक्षामा राम्रो नतिजा ल्याउन सक्छन्, जग नै कमजोर भएपछि घर कहाँ बलियो हुन्छ र?’


धेरैजसो विद्यालयहरूमा कमजोर बाबुनानीहरूको बारेमा यस्तै मिश्रित प्रतिक्रिया सुनिन्छ । भनिन्छ नि, कोही विद्यार्थी सुनेर मात्र पनि सिक्न सक्छन् । कुनै विद्यार्थी सुनेर र देखेर सिक्न सक्ने हुन्छन् भने कुनै विद्यार्थी सुनेर, देखेर तथा साथीहरूसँग सामूहिक सहकार्य गरेर सिक्न सक्ने हुन्छन् । कक्षा एउटै भए पनि विद्यार्थीको हरेक पृष्ठभूमि अलग–अलग हुन्छ । उनीहरूको सिक्ने क्षमता पनि अलग–अलग हुन्छ ।


जोन कमिनियस, जसलाई आधुनिक शिक्षाका पिता भनेर पनि चिनिन्छ, उनले सत्रौँ शताब्दीमा लेखेका थिए – जुन मानव जति ढिलो तथा कमजोर देखिन्छ, उसलाई उति नै विशेष सहायताको आवश्यकता पर्दछ र त्यस्तो कुनै मानव पनि भेटिँदैन, जसको बुद्धि यति कमजोर होस् कि जसलाई सुधार्न सकिँदैन ।


एउटा सन्दर्भको पनि कुरा गरौँ न, एक पटक एक जना गुरु आफ्ना केही शिष्यहरू लिएर परियोजना कार्यका लागि भ्रमणमा गएछन् । दिनभरिको थकाइ र प्रचण्ड घामले तिर्खाएका गुरुले चौतारीमा थचक्क बसेर आराम गरेछन् र एक जना शिष्यलाई पिउने पानी खोज्नका लागि पठाएछन् । शिष्य पानी खोज्दै जाँदा एउटा सुन्दर नदीमा पुगेछन् । नदीमा जलक्रीडा गरेका हात्तीले पानी धमिलो बनाएका रैछन् । गुरुलाई धमिलो पानी पिलाउनु हुँदैन भनेर शिष्य रित्तो हात फर्किएछन्, गुरु निराश भएछन् ।

अर्को शिष्यलाई पानी लिन पठाएछन् । दोस्रो शिष्य पनि पानी धमिलो देखेर फर्किएछन् । अझै निराश बनेका गुरुले तेस्रो शिष्य तथा अन्तिम शिष्यलाई पठाएछन् । ती शिष्य पनि नदीमा पुगे, धमिलो पानी गुरुलाई पिलाउनु हुँदैन भन्ने कुरा उनलाई पनि थाहा थियो तर हात्तीहरू पानीबाट बाहिर ननिस्कुन्जेल धैर्य गरी प्रतीक्षा गरेछन् । हात्ती बाहिर निस्केपछि बगिरहेको पानी सङ्लिन कत्ति पनि बेर लागेन । सफा र शुद्ध पानी लिएर गुरु छेउ पुगेर गुरु तथा मित्रहरूको तिर्खा मेटाए । अन्तिम शिष्य ज्ञान, विज्ञान तथा धैर्यताको व्यावहारिक परीक्षामा पास भए ।


के गुरुको असल शिक्षण–सिकाइको नेतृत्वले पूर्ण रुपमा सफलता पायो त?
एउटा विद्यार्थीले अवश्य नै आफ्नो शिक्षकलाई अरूलाई भन्दा बढी विश्वास एवम् सम्मान प्रकट गरेको हुन्छ । उसलाई डोर्‍याउन सक्ने असल नेतृत्वको आँट केवल एक शिक्षकले गर्न सक्छ । माटोबाट प्राप्त हुने सूक्ष्म पोषण पाएमा, उपयुक्त वातावरण मिलेमा, एउटा बीउ विरुवा बन्न सक्दछ, त्यही विरुवाले बेलाबेलामा पानी पाएमा समयको अन्तरालमा विशाल वृक्ष बन्न सक्दछ, अनगिन्ती चराहरूलाई आफ्नो बीउ बाँड्न सक्दछ, कयौँ बटुवाहरूलाई शीतल छहारी दिन सक्दछ ।


साँच्चै शिक्षकहरू आफ्नो नेतृत्वमा ज्ञानी भएमा एउटा विद्यार्थीलाई मात्रै हैन, आफ्ना सबै विद्यार्थीहरूलाई ज्ञान, विज्ञान तथा हरेक व्यावहारिक परीक्षामा उत्रन सक्ने अब्बल नागरिक बनाउन सक्दछन् । साँच्चै शिक्षकहरू आफ्नो नेतृत्वमा ज्ञानी भएमा तिनै बालरुपी विरुवाहरूमा पानी बन्न सक्दछन् ।


(लेखक पोखरा पब्लिक स्कुल, पोखरा–१४, चाउथेमा कार्यरत छन् ।)

तपाईको प्रतिक्रिया