लेखनाथ खानेपानी संस्थाको शुभकामना

समाधान संवाददाता २०८२ वैशाख ३ गते १९:३४

लेखनाथ । लेखनाथ खानेपानी संस्थाको नयाँ वर्षको भित्तेपात्रो विमोचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । भित्तेपात्रो विमोचन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका पूर्व ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री तथा प्रदेश सांसद वेदबहादुर गुरुङले संस्थाले शहरी विकासका साथै खानेपानी उपलब्ध गराउने कार्यको प्रशंसा गरे ।

Advertisement

आगामी दिनमा खानेपानीलाई दिगो रूपमा सञ्चालन गर्नका लागि स्थानीय स्तरबाट नै समन्वय गरी व्यवहारिक तथा नीतिगत समस्या बेलैमा समाधान गर्न गुरुयोजना बनाउनुपर्नेमा उनले जोड दिए । यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउँदै सांसद गुरुङले आफू मन्त्री हुँदा इदी खोलाको पानी तानेर थाक खानेपानी आयोजनालाई अगाडि बढाउन पोखरा महानगर र प्रदेश सरकारसँग समन्वय गरेको जानकारी दिए । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा गुरुयोजनाका साथ अघि बढ्न सके खानेपानी समस्या समाधान गर्न सकिने र यसका लागि आफूले सक्दो पहल गर्ने आश्वासन पनि उनले दिए ।

यसैगरी, संस्थाका अध्यक्ष मुराहरी शर्माले स्वागत मन्तव्य दिँदै हाल सडक निर्माणका कारण खानेपानी आपूर्ति गर्न कठिनाइ भएको जानकारी गराए । खानेपानीलाई दीर्घकालीन रूपमा आपूर्ति गर्न मादी खोलाबाट लिफ्टिङ गरी पानी ल्याउने पहल संस्थाले गरेको जनाउँदै, यसमा सहयोग गर्न सरोकारवालासमक्ष आग्रह गरे ।

संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद बरालले शुभकामना व्यक्त गर्दै आगामी दिनमा सरोकारवाला सबै एकजुट हुन नसके खानेपानीको समस्या गम्भीर हुने बताए । संस्थाका पूर्व अध्यक्ष बोधराज लामिछानेले आफ्नो कार्यकालमा व्यापक एकीकृत खानेपानी योजना ल्याउन प्रयास गरेको जानकारी दिँदै, खानेपानी समस्या समाधानका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

संस्थाका अध्यक्ष मुरारि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायणी भट्टराई ‘रक्षा’ले गरेकी थिइन् भने संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले धन्यवाद ज्ञापन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया