कांग्रेस सभापति देउवाले मन्त्रीहरू र पदाधिकारीहरूको बैठक बोलाए

समाधान संवाददाता २०८२ वैशाख ४ गते १२:३८

पोखरा । सरकार सञ्चालनसम्बन्धी विषयमा पार्टीभित्र बढ्दै गएको असन्तुष्टिले सत्ता गठबन्धनको संयन्त्र बैठक प्रभावित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आह्वान गरेका छन्।

Advertisement

बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसिरहेको उक्त बैठकमा सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूलाई पनि सहभागी हुन बोलाइएको छ।

देउवाको सचिवालयका अनुसार पार्टी र सरकार सञ्चालनसम्बन्धी विषयमा गहन छलफल गर्न बैठक डाकिएको हो। सो अवसरमा सरकारका तर्फबाट गरिएका काम र निर्णयहरूबारे जानकारी लिन मन्त्रीहरूलाई पनि बोलाइएको बताइएको छ।

सरकारको कामकारबाही र निर्णय प्रक्रिया प्रति कांग्रेसभित्र असन्तुष्टि बढ्दै गएको सन्दर्भमा बुधबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमै कांग्रेसका दुई प्रमुख नेता अनुपस्थित रहे। यसले कांग्रेस–एमाले गठबन्धन सरकारको स्थायित्वमाथि नै प्रश्न उठाएको छ।

बुधबारको बैठकमा संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र संयन्त्र सदस्य तथा महामन्त्री गगन थापा अनुपस्थित रहे। उनीहरूको अनुपस्थितिले संयन्त्रको बैठक नै प्रभावित बनेपछि देउवाले बिहीबार पार्टी पदाधिकारीहरूको बैठक राखेका हुन्।

Advertisement

तपाईको प्रतिक्रिया