एन्फाका पूर्व अध्यक्ष गणेश थापामाथिको फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा

समाधान संवाददाता २०८२ वैशाख ४ गते १२:५७

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापामाथि फिफाले लगाएको १० वर्षे प्रतिबन्ध समाप्त भएको छ।

Advertisement

थापाले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै सन् २०१५ मा विश्व फुटबल महासंघ (फिफा)ले लगाएको प्रतिबन्ध यही २०२५ अप्रिल १५ मा सकिएको जानकारी दिएका हुन्। उनका अनुसार प्रतिबन्ध वैशाख २ गते औपचारिक रूपमा समाप्त भएको हो।

‘माथि लगाइएको प्रतिबन्ध अब अन्त्य भएको जानकारी गराउन चाहन्छु,’ उनले भनेका छन्, ‘सन् २०१५ अप्रिल १६ मा फिफाले प्रतिबन्ध सुरु गरेको थियो, जुन सन् २०२५ अप्रिल १५ मा पुगेर अन्त्य भएको हो।’

थापामाथि कुनै पनि फुटबल सम्बन्धी गतिविधिमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो। यद्यपि उनले प्रतिबन्ध २०१५ अप्रिलदेखि लागेको दाबी गरे पनि फिफाले भने सो प्रतिबन्ध २०१५ नोभेम्बर (२०७२ कात्तिक)मा सुरु भएको जनाएको थियो।

फिफाको अनुशासन समितिले थापालाई भ्रष्टाचार, घुस लिने लगायतका अनुशासन उल्लंघनका कारण १० वर्षका लागि निलम्बन गर्नुका साथै २१ लाख रुपैयाँ जरिवाना समेत तोकेको थियो।

Advertisement

नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान समेत रहेका थापा एसियाली फुटबल महासंघ (एएफसी)का उपाध्यक्ष, दक्षिण एसियाली फुटबल महासंघ (साफ)का अध्यक्ष, एएफसी च्यालेन्ज कप तथा प्रेसिडेन्ट्स कपका अध्यक्ष, साथै फिफाका विभिन्न समितिमा समेत आबद्ध रहिसकेका छन्।

तपाईको प्रतिक्रिया