केपी ओली कपको फाइनल भोली

पोखरा ।
केपी ओली कप राष्ट्रिय टि२० पुरुष क्रिकेटको फाइनल खेल भोली ५ गते (शुक्रबार) हुँदैछ । ‘‘सबैका लागि खेलकुद’ भन्ने मुल नाराका साथ मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सो प्रतियोगिता गत चैत्र २३ गतेबाट पोखरा रंगशालामा सुरु भएको हो ।
फाइनल खेल संगै समापन कार्यक्रमको प्रमुख आतिथ्यताका लागि प्रतिनिधि सभाका सम्माननिय सभामुख देवराज घिमिरे पोखरा आउने तय भएको एकेडेमीका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिएका छन् । ‘
भोली भब्य कार्यक्रमका बीच फाइनल खेल संगै समापन कार्यक्रम तय गरेका छौं । पोखरेली सम्पूर्णलाई फाइनल खेल अवलोकन गरी खेलाडीहरुको उत्साह भर्न सबैलाई निमन्त्रणा गर्दछौं”, उनले भने–“प्रतिनिधि सभाका सभामुखज्यू खेलाडीहरुको हौसला बढाउन पोखरा आउने कार्यक्रम तय भएको छ । उहाँको आगमनले यहाँको क्रिकेट र खेल विकासमा समेत कोशे ढुङ्गा सावित हुनेछ ।”
पोखरालाई क्रिकेटको हव बनाउन पनि यो प्रतियोगिताको महत्व रहेको जनाउँदै उनले यसका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको औंल्याए ।
वर्षिक रुपमा तय भएको उक्त प्रतियोगिता यो वर्ष दोस्रो संस्करण समेत हो । प्रतियोगितामा सातै प्रदेशका २–२ गरी १४ तथा २ क्लब गरी १६ टिमको सहभागिता रहेको थियो ।
बिहान १० बाज बाट सुरू हुने फाइनल खेलको बिजेता टोलीले नगद रु १० लाख र उपविजेताले नगद रु ५ लाखका साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने एकेडेमी गण्डकी प्रदेश अध्यक्ष गिरमान गुरूङले जानकारी दिएका छन् ।
त्यस्तै म्यान अफ दी सिरिजले नगद ३० हजार, बेष्ट बलर र बेष्ट ब्याटरले जनही नगद रु १०–१० हजारका साथमा ट्रफी प्राप्त गर्नेछन् । पोखरामै भएको पहिलो संस्करणको उपाधि मधेश प्रदेशले जितेको थियो ।
तपाईको प्रतिक्रिया