घोडेपानी–पुनहिल घुम्ने बढे

म्याग्दी ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमणमा आउने पर्यटकको संख्या विसं २०८० को तुलनामा विसं २०८१ मा बढेको छ । पर्यटक प्रहरी चौकी घोडेपानीका अनुसार विसं २०८० मा ३१ हजार ४ सय ३९ जना पर्यटक आएकोमा विसं २०८१ मा ३२ हजार ३ सय ५० आएका छन् ।
चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक अरविन्द्र कँडेलले अघिल्लो वर्षको तुलनामा विसं २०८१ मा ९ सय ११ जना बढी पर्यटक आएको जानकारी दिए । सबैभन्दा बढी कात्तिक महिनामा ५ हजार ८ सय १८ र त्यसपछि चैतमा ५ हजार ६ सय ५८ जना पर्यटक आएका छन् । समुन्द्र सतहदेखि ३ हजार २ सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्दछन् ।
घोडेपानीमा बास बस्ने पर्यटक एकाबिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । घोडेपानीमा साना ठूलागरी २७ होटल छन् । ती होटलमा दिनमा हजार जना बास बस्नसक्ने क्षमता छ । पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि ४० लाख १ हजारमा ठेक्का सम्झौता गरेको छ ।
पुनहिल प्रवेश गर्न नेपालीले ५० र विदेशीले १ सय ५० प्रतिव्यक्तिका दरले शुल्क तिर्नुपर्छ । पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जंगल छ ।
अनुकूल मौसम र याम सुरु भएसँगै पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्वध्यक्ष डमबहादुर पुनले बताए । पोखरेबगर–चित्रे–घोडेपानी सडकको घोप्टेखर्कको पहिराका कारण यातायात अवरुद्ध हुँदा सार्वजनिक यातायातमार्फत घोडेपानी घुम्न आउने पर्यटकलाई समस्या भएको उनी सुनाउँछन् ।
अन्नपूर्ण चक्रीय पदमार्ग परिक्रमा गरी तातोपानी हुँदै कास्कीको वीरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरे हुँदै गरी ४ नाकाबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन ।
तपाईको प्रतिक्रिया