गण्डकीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज, गृहमन्त्री लेखकसहित सुरक्षा अधिकारीहरु पोखरामा

पोखरा । गण्डकी प्रदेशस्तरीय सुरक्षा बैठक शुक्रबार पोखरामा हुने भएको छ । यसका लागि गृहमन्त्री रमेश लेखकसहित गृहसचिव, ३ वटै सुरक्षा निकायका प्रमुखहरू बिहीबार साँझ नै पोखरा आइपुगेका छन् ।
प्रदेशका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरू बैठकमा सहभागी हुनेछन् ।
यसअघि चैत २१ गतेका लागि तय गरिएको सुरक्षा गोष्ठी प्रधानमन्त्री केपी ओली देशबाहिर रहेका कारण स्थगित भएको थियो । प्रधानमन्त्री ओलीले आफू नभएका बेला राजधानी नछाड्न मन्त्रीहरूलाई निर्देशन दिएपछि गोष्ठी स्थगित गरिएको थियो ।
गण्डकी प्रदेश सरकारको समेत सहभागितामा हुने कार्यक्रममा प्रदेशको शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रस्तुति हुनेछन् । प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत प्रस्तुति गर्नेछन् ।
पोखराको पुरानो विमानस्थलमा सञ्चालनमा ल्याइएको प्रदेश गोदाम घर गृहमन्त्री लेखकले शुक्रबार बिहान गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको कास्कीका प्रजिअ भरतमणि पाण्डेले जानकारी दिए ।
गृहमन्त्री लेखक ३ दिन पोखरा रहनेछन् । शुक्रबार दिनभर सुरक्षा बैठकमै उनी रहनेछन् । शनिबार पोखरा ३२ मा तमु समाजको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुने तय भएको छ । यसबीचमा उनले राजनीतिक भेटघाट समेत गर्नेछन् ।
के हो आपतकालीन गोदाम घर ?
विपद्का बेला गण्डकी प्रदेशका जिल्लामा आवश्यक राहत पुर्याउन पोखराको पुरानो विमानस्थलमा विश्व खाद्य कार्यक्रमले आपत्कालीन गोदाम घर निर्माण गरिदिएको हो ।
आपत्कालीन राहत र उद्धारका सामग्रीको भण्डारण गर्न युरोपेली युनियनको सहयोगमा साहयतास्थल बनेको छ । १ लाख ६१ हजार अमेरिकी डलर लागतमा निर्माण भएको हो गोदामघर ७ सय टन भण्डारण क्षमताको छ ।
जसमा प्रिफ्याबका ४ वटा भवन बनाइएको छ । गत चैत पहिलो साता निर्माण सुरु भएको गोदाम घर असोज ९ गते बुधबारदेखि सञ्चालनमा आएको थियो ।
त्यतिबेला मौसमका कारण पोखरा आउन नपाएका गृहमन्त्री रमेश लेखकले भर्चुअल माध्यमबाट गोदाम घरको उद्घाटन गरेका थिए । सो गोदाम घरमा हाल ५ सय टन खाद्यान्न, ३ सय वटा कम्मल, ६ सय थान त्रिपाल, इन्धन लगायतका उद्धार सामग्री भण्डारण गरिएको छ । विश्व खाद्य कार्यक्रमले यसअगाडि काठमाडौं, भैरहवा, धनगढी, वीरगन्ज, बर्दिबास लगायत देशका ११ स्थानमा मानवीय सहायता स्थल बनाइसकेको छ । सबै गोदामघरहरु अब प्रदेश मातहत सञ्चालन हुनेछन् ।
तपाईको प्रतिक्रिया